• १६ चैत २०८०, शुक्रबार
  • १९:१४:१५

Now: सारथी हालचाल

Next: सारथी क्वीज

जन्मेको चार दिनमा आफ्नै बाबुले गराए छोरी बेपता

झापा-‘आमाको काख अरुको लाख’ भन्ने नेपाली उखान छ । तर, एउटा शिशुले जन्मेको चौथो दिनमा आमाको काखबाट बञ्चित हुनुप-यो । बञ्चित हुनुको कारण पनि आफ्नै बाबु र आफन्त । यो घटनाले समाज कति सम्वेदनाहिन भएको छ भन्ने प्रष्ट पार्छ ।

इलाका प्रहरी कार्यालय दमक झापामा जेठ १० गते एक किशोरीले आफ्नो ४ महिने शिशु खोजतलास गरिदिनको लागि निवेदन दर्ता गराइन् । निवेदनमा आफ्नो ४ महिनाको शिशु (छोरी) जन्मेको ४ दिनमा आफ्नै श्रीमान्ले कान छेड्ने बहानामा लिएर गएको र बेपता बनाएको उल्लेख गरिएको प्रहरीले जनाएको छ । बेपता बनाएको कुरा कसैलाई भनेमा मार्ने धम्की दिएको किशोरीले निवेदनमा उल्लेख गरेकी थिइन् ।

बच्चा खोजतलास गर्ने क्रममा निवेदन बमोजिम प्रहरीले किशोरीका श्रीमान्लाई ज्येष्ठ १२ गते नियन्त्रणमा लियो ।प्रहरी बयानका क्रममा श्रीमान्ले बच्चा कहिले पोखराको मानिसलाई पाल्न दिएको त कहिले मारेर रतुवा खोलाको किनारमा गाडेको भन्दै फरक– फरक कुरा बताउने हुँदा अनुसन्धानमा संलग्न प्रहरीसमेत रनभुल्लमा परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।

अनुसन्धानको क्रममा सोलुखुम्बु सोताङ नगरपालिका घर भइ हाल काठमाडौँ गोकर्णेश्वर बस्ने एक महिलाले बच्चा लगेको खुल्न आएको प्रहरीको भनाइ छ । शुरुमा प्रहरी सम्पर्कमा आएकी महिला पछि सम्पर्क विहीन भइन् । जसले अनुसन्धानमा केही जटिलता थपेपनि दमक प्रहरीले महानगरीय प्रहरी परिसर काठमाण्डौँ, प्रहरी प्रभाग बौद्ध र बालबालिका खोजतलास केन्द्र भृकुटीमण्डपसँग समन्वय ग-यो । बौद्ध प्रहरी र बालबालिका खोजतलास केन्द्रको सहयोगले शिशुलाई उद्धार गरी दमकसम्म ल्याउन प्रहरी सफल भयो । अहिले निवेदक आमा, चार महिनासम्म बच्चालाई संरक्षण गर्ने महिला र बच्चा दमक नगरपालिका मातहतमा रहेको अल्पकालिन संरक्षण गृह (सेफ हाउस)मा रहेका छन् ।

चार दिनको शिशुलाई हुर्काएर ४ महिनासम्म मातृवात्सल्य दिने महिला आफू निसन्तान भएको र बच्चाको इच्छा धेरै भएकोले बच्चा पाउँदा निकै खुशी भएको प्रहरीसामु बताउँछिन ।“धरानमा रहेकी आफ्नी भदैनीले एउटा बच्चा दिने मानिस फेला परेको छ, पाल्ने हो भनेपछी हुन्छ भनेकी हुँ” महिला भन्छिन् । “बच्चा लानु भन्दा एक महिना अघि म सोलुखुम्बु गएको थिँए, श्रीमान्लाई समेत आफू गर्भवती भएको भनेर भनेकी थिएँ” उनले भनिन् “भदैनीले बच्चा लिन आउनु भनेपछि धरानमा आफैँले बच्चा जन्माएको हुँ भनेर श्रीमान्लाई ढाँटे ।” भदैनीले भने अनुसार फागुन ३ गते सोलुखुम्बुदेखि इटहरी आएर होटलमा बसे ४ गते दमकमा भदैनि र एक अपरिचित महिलाले बच्चा दिएका हुन्” महिलाले भनिन् “म सोही दिन काठमाडौँ फर्के ।” आफू र श्रीमान सामान्य ज्याला मजदुरी गरेर जीवनयापन गर्ने गरेको उनी बताउँछिन् ।

चार दिनको शिशुलाई छुट्याएर लगे पश्चात करिब ४ महिना पछाडि मात्र किन उजुरी भन्ने विषयमा पारिवारिक श्रोत केही बताउन नचाहेको प्रहरीको भनाई छ । मार्ने धम्की, डर र त्रासाको कारणले कतै उजुरी नगरेको किशोरी बताउँछिन् । “श्रीमान्ले सुत्केरी हुँदा बच्चा मरेको भन्नु नत्र तलाई मार्छु भनेको कारण डरले लामो समयसम्म उजुर नगरेकी हुँ” किशोरीले सुनाइन् ।

दमकस्थित ऊँ मेचि अस्पतालमा बच्चालाई जन्म दिएकी किशोरीले सुत्केरी गराउँदा बुबा, आमा दुबैले वास्तविक नाम नलेखाइ फरक नाम उल्लेख गरी सुत्केरी गराएको प्रहरीले जनाएको छ । घटनाको शुक्ष्मरुपले अनुसन्धान भइरहेको र अबोध शिशुको जीवनसँग खेलवाड गर्नेलाई कानुन बमोजिम कारवाही हुने इलाका प्रहरी कार्यालय दमकका डिएसपी पण्डितले बताए । “घटनाको वास्तविकता के हो ? कस–कसको संलग्नता रहेको छ ? अबोध शिशुको जीवनसँग आर्थिक लेनदेन जोडिएको छ, छैन ? भन्ने विषयमा अनुसन्धान गरिरहेका छौँ” पण्डितले भने ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै