समचार

तीन व्यक्तिको डिएनएसहित एक बच्चाको जन्म

माघ ५ – युक्रेनमा ‘तीन व्यक्ति–आइभिएफ’ पद्धतिबाट एक शिशुको जन्म भएको छ । बच्चा जन्माउन नसक्ने दम्पतीले ‘तीन व्यक्ति–आइभिएफ’ सन्तान पाएका हुन् । युक्रेनको राजधानी किएभको अस्पतालका डाक्टरले ‘प्रोनुक्लियर ट्रान्सफर’ विधिबाट बच्चा जन्माएका हुन् । यो विधिबाट बच्चाको जन्म भएको यो पहिलो रहेको टाइम्सले जनाएको छ । गएको पुस २१ गते अस्पतालमा बच्चा जन्मिएको हो ।

तर तीन व्यक्तिको डिएनएसहित जन्मिएको पहिलो बच्चा भने होइन । गएको वर्ष मेक्सिकोमा केही फरक विधि तर तीन व्यक्तिको डिएनएसहितको बच्चा जन्माइएको थियो । डाक्टरले गम्भीर खालको आनुवंशीक असन्तुलन अर्थात मिटोचोन्ड्रिअल डिजिज रहेका महिलालाई स्वस्थ बच्चा जन्माउन सहयोग गर्ने उद्देश्यले ‘तीन–व्यक्ति आइभिएफ’ प्रविधि विकास गरेका हुन् । यो प्रविधिमा आनुवंशीक असन्तुलन रहेकी महिला र अर्की एक स्वस्थ महिलाको डिम्ब संकलन गरिन्छ । त्यसमा पुरुष शुक्राणुको संयोग गराई भ्रुण तयार गरिन्छ । यसमा तीन व्यक्तिको डिएनए हुन्छ । जसमा आमा र बुवा तथा डिम्ब दान गर्ने महिलाको केही डिएनए अंश हुन्छ ।

किएभको अस्पतालले भने आनुवंशीक असन्तुलन भएकी महिलाका लागि नभइ बाँझोपन भएकी महिलाका लागि यो प्रविधि प्रयोग गरेको हो । यो प्रक्रिया उच्चस्तरको प्रयोग रहेको डा. भालेर्य जुकिनले बताउनुभयो ।

Top