• १२ बैशाख २०८१, बुधबार
  • ००:००:०५

Now:

Next: शुभारम्भ धुन

आगोले ध्वस्त भएको गुल्मी वडागाउँको दजाकोट, चिटिक्क बन्यो अहिले

तस्विर : dharatalonline.com

गुल्मी । आगोले ध्वस्त गुल्मी वडागाउँको दजाकोट । ०७३ साल वैशाख १८ गते जंगलको आगो एक्कासी बस्ती पस्यो । एकछिनमै एक व्यक्तिसहित ५७ घरगोठ र झण्डै पाँच दर्जन पशु चौपाय खरानी भए । 

१७ घरमा आंशिक क्षति पुग्यो । आगोमा ज्यान मात्रै बचाएका दजाकोटबासी लामो समय बिक्षिप्त बने । त्यो मध्येकी एक हुन्, दजाकोटकी काली कुमारी गाहा । उनको घरगोठसहित १५ बाख्रा, एक हल गरु, दुई भैसीसहित सवै सम्पति आँखा अगाडीनै ध्वस्त भए । 

सोहि ठाउँकै सावित्रा गाहाको पनि ६ कोठे घरसंगै सवै सम्पति केहि बेरमा खरानी बन्यो । झण्डै तिन बर्षको पुर्निमाणपछि आगलागीले सखाप दजाकोट चिटिक्क बनेको छ । तर, स्थानीयले झट्ट त्यो दिन बिर्सिदैनन् । 

‘बाध्यताले नबिर्सनुको बिकल्प छैन । तर, अझै त्यो दिनको सम्झना आउँछ’ दजाकोटकी काली कुमारी गाहाले भनिन्, ‘आफ्नै पौरखले जोडेका श्रीसम्पती ध्वस्त बन्यो ।’ उनले सवै कुरा बिस्तारै जोड्दै गएपछि भुल्दै गएको बताइन् । 

गाउँमा पहिले होचा, कच्ची र खरे घर धेरै थिए । गाउँमा धेरै घर खर र कच्ची भएर पनि आगोले धेरै क्षति ग¥यो । पहिलेदेखिनै दजाकोटमा खानेपानीको संकट भएकाले आगोलागीपछि केहि परिवार बिस्थापित हुने अवस्थामा पुगे । बिस्तारै पुर्निमाणले गति लियो । 

अहिले पुर्ण क्षती भएका ४२ र आशिंक क्षति भएका ९ भुकम्परहित पक्की घर तीन किसिममा निर्माण भएका छन् । आगलागीमा नष्ट भएका घरलाई ‘क’, ‘ख’ र ‘ग’ श्रेणीमा विभाजन गरी घर निर्माण कार्य अगाडि बढाइएको थियो ।

तीमध्ये आर्थिक अवस्था अत्यन्तै कमजोर भएकालाई ‘क’, मध्यमस्तर भएकालाई ‘ख’ र उच्च आर्थिकस्तर भएकालाई ‘ग’ श्रेणीमा राखी घर निर्माण गरिएको स्थानीयवासी बताउँछन् ।

घर पुनःनिर्माण्का लागि ‘क’ श्रेणीमा पर्नेले राहतस्वरुप रु तीन लाख ३५ हजार, ‘ख’ श्रेणीमा पर्नेले रु दुई लाख ७० हजार र ‘ग’ श्रेणीमा पर्नेले रु दुई लाख २० हजार प्राप्त गरेका थिए । पीडितले सो रकम तीन पटकमा भुक्तानी लिएका थिए । 

पहिलो पटक डीपीसी गरेपछि ४० प्रतिशत, दोस्रो पटक झ्याल, ढोका राखेर लिङ्टेल गरेपछि ३० प्रतिशत र सबै काम सकेपछि ३० प्रतिशत गरी भुक्तानी लिएको बडागाउँ अग्निपीडित राहत सक्कलन तथा वितरण समितिले जनाएको छ । 

जिल्ला प्राविधिक कार्यालयले बनाएको भूकम्प प्रतिरोधी घरको नक्साको आधारमा पीडितले घर बनाएका छन् । प्रत्येक घरको नक्सा इन्जिनीयरद्वारा पास गराइसकेपछि साना किसान कृषि सहकारी संस्थामा रहेको पीडितको खातामा रकम जम्मा गरिएको थियो ।

यसरी पीडितलाई प्रदान गरिने रकम भने विदेशमा बस्ने नेपालीहरु, विभिन्न संघसंस्था, आमा समूहद्वारा संकलन गरिएको राहत समितिले जनाएको छ । 

आगलागी भएलगत्तै जिल्ला प्रशासन कार्यालयले रु पाँच हजार, जिल्ला विकास समितिले चर्पी निर्माणका लागि रु पाँच हजार र पशु सेवा कार्यालयले गोठ निर्माणका लागि रु १० हजार आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

आगलागी पीडितका लागि विभिन्न सङ्घसंस्थाले तुरुन्तै सामान्य बसोवास गर्ने गरी टहरा निर्माण गरिदिएका थिए । आगलागीबाट घर जलेसँगै ३ सय ३१ परिवार प्रभावित भएका थिए ।

दजाकोटमा क्षति भएका घरको पुर्निमाणसंगै झण्डै दुई करोडको लागतमा लिफ्ट सिस्टमबाट घरघरमा खानेपानी पु¥याइएको छ । आगोले गाउँनै ध्वस्त भएपछि नागरिक बिक्षिप्त थिए । 

सम्पतीसहित गाउँमा पिउने पानी समेत नहुँदा बिस्थापित हुने मानसिकतामा पुगेका परिवारलाई पनि पुनःर्निमाण र खानेपानी घरघरमा आएपछि खुसी मिलेको मुसिकोट नगरपालिकाका कार्यपालिका सदस्य हरि छन्तेलले बताए । 

गुल्मी जिल्लाकै इतिहासमा आगलागीबाट सवैभन्दा ठुलो क्षति दजाकोटमा भएको थियोे । त्यसैले तत्कालिन समयमा स्वदेश तथा बिदेशबाट राम्रै सहयोग संकलन भयो । जुन सहयोगबाट पुनःर्निमाणको काम सकिएको हो । भने अग्नी स्मृती स्मारक र अकलादेविको मन्दिर निर्माणको काम बाँकी रहेको छन्तेलले जानकारी दिए । 

मुसिकोट नगरपालिकाले वडागाउँ दजाकोटलाई होमस्टेका रुपमा अगाडी बनाउने योजना बनाएको मेयर सोमनाथ सापकोटाले बताए । उनले आफुहरु पुनःर्निमाणमा प्रति घर एक लाख सहयोग गरेको बताउँदै खानेपानीको पहुँच पनि स्थापित गरेकाले होमस्टे, पशुपालन र कृषि मार्फत दजाकोटबासीलाई आर्थिक रुपमा पनि अगाडी लैजाने बताए । 

दाजकोटमा पहिले अस्थायी मुलबाट ६ महिना मात्रै पानी पुग्थ्यो । दजाकोटबासीलाई हिउँदभर पानीका लागि खोल्सा र पँधेरा पुग्नुपर्ने बाध्यता थियो । स्थानीयले खानेपानीको चरम संकट हुँदा प्रति लिटर २ रुपैयाँमा टयाक्टरमा पानी बोकेर पनि खाए । 

पर्याप्त खानेपानी नभएकै कारण आगलागीको ठुलो क्षति व्यर्होनुप¥यो । तर, अहिले सवैको घरघरमा पानीका धारा छन् । डेढ बर्ष पहिलेसम्म उज्यालो नहुँदै पानी बोक्न पधेँरा जानुपर्ने बाध्यताले जीन्दगी निकै कष्टपूर्ण रहेको स्थानीय ७३ बर्षीया राजमााया पुनले स्मरण गरिन् ।

अहिले घरघरमै पानी आउँदा सपना जस्तै लागेको पुनको भनाई छ । भग्लामगैरा–दजाकोट लिफ्ट खानेपानी तथा सरसफाइ योजना मार्फत एक सय १८ घरमा एक घर एक धारा संचालन भएका छन् । 

६५ हजारका दुई र १ लाख लिटरका एक ट्यांकी निर्माण गरेर खानेपानीको व्यावस्थापन गरिएको निर्माण समिति अध्यक्ष देब बहादुर दर्लामीले जानकारी दिए । पहिले स्थानीयले अस्थायी पधेरा व्लाङ्दी, खोलाङ्दी र धारापानी लगायतका ठाउँबाट खानेपानी ल्याउने गर्थे । 

प्रति घर ७० दिन श्रमदान र १० हजार, ६५ लाख पुर्व सांसद गोकर्ण बिष्टको स्थानीय पुर्वाधार अन्तरगत र ९० लाख प्रदेश सरकारबाट गरेर झण्डै २ करोडको लागतमा खानेपानी योजना निर्माण भएको दर्लामीले बताए । 

पानी आएपछि स्थानीयको दैनिकै फेरिएको छ । पहिले काकाकुल जस्तै बनेका स्थानीयले अहिले घर नजिक तरकारी गर्ने, सरसरफाईमा ध्यान दिने र पानी बोक्ने समय अन्यत्रै लगाउन थालेको स्थानीय ज्योति घर्ति गाहाले बताइन् । - धरातलबाट

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै