ताजा अपडेट

समचार

मुस्ताङमा काँग्रेसका संस्थापक सभापति र सांसद उम्मेदवारसहित १६ सय एमालेमा, ओलीले गराए प्रवेश

Krishna Pokharel

मुस्ताङ, २९ साउन । 

मुस्ताङमा नेपाली काँग्रेसका संस्थापक सभापतिसहित १६ सय भन्दा बढी एमालेमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस मुस्ताङका संस्थापक सभापति आनन्द शेचरन, गएको संविधानसभा चुनावका उम्मेदवार प्रेमप्रसाद तुलाचन, मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन, मुस्ताङ जिप तथा बस व्यवसायी समितिका अध्यक्ष मिनप्रसाद थकाली लगायत १६ सय ४७ जना नेता एवं कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाले चार नम्बर प्रदेशका सहसंयोजक एवं पोलिटव्युरो सदस्य गणेश तिमिल्सिना, सभासद् श्रीमाया थकाली, महेन्द्र थकाली र एमाले जिल्ला अध्यक्ष चन्द्रमोहन गौचनले संयुक्त रुपमा पार्टी प्रबेश गराएका थिए । बाह्रगाउँमुक्तिक्षेत्र गाउँपालिकाको छुसाङदेखि मुस्ताङको तल्लो क्षेत्रको थासाङ गाउँपालिकाका कार्यकर्ताको ठूलो समूह एमालेमा आएको हो ।

काँग्रेसका पूर्वमन्त्री रोमी गौचनको गृह गाउँपालिका थासाङ क्षेत्रबाट ठूलो संख्यामा काँग्रेस कार्यकर्ता एमालेमा समाहित भएका छन् । नेकपा एमाले जिल्ला कमिटी मुस्ताङले शनिबार जोमसोममा आयोजना गरेको बिशाल जनसभामा उनीहरु एमालेमा समाहित भएका हुन् । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गर्दै नवप्रवेशीहरुलाई उपयुक्त जिम्मेवारी दिने बताए ।

मुस्ताङ खनिजहरुको प्रचुर सम्भावना भएको जिल्ला भएको बताउँदै ओलीले कोरला नाका, लोमान्थाङ दरबार, यूरिनियम र नुन खानी, दामोदरकुण्ड, मुक्तिनाथ मन्दिर र कागबेनीधाम जस्ता धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा भएकाले यसको प्रयोग गर्न सकिए देशको विकासमा ठूलो टेवा पुग्ने बताए । ओलीले एमाले सरकार गए ५ वर्षभित्र मुस्ताङमा कायापलट हुने विश्वास समेत दिलाए । उनले भने – ‘जोमसोम कोरला सडक एमालेकै अग्रसरता भएको हो, यसलाई कथा बनाएर अरुले जस लिने प्रयास गर्नु हास्यापद हो, जनताले सत्य कुरा बुझिसकेका छन्।’

जोमसोम कोरला सडक बिस्तार भए प्रदेश नम्बर ४ कै मुहार फेरिने ओलीको भनाइ छ । देशमा बाढी पहिरोको बिपतमा परेको अवस्थामा सरकार कानमा तेल हालेर बसेको बताउँदै ओलीले डाक्टर गोविन्द केसीको मागमा एमालेप्रति अफवा फैलाईएको बताए ।

ठूलो संख्यामा काँग्रेस कार्यकर्ताको प्रवेश भएकाले अबको प्रदेश र संघीय चुनावमा एमालेले मुस्ताङका सबै सिट जित्ने एमाले प्रदेश नम्बर ४ का सहसंयोजक तिमिल्सिनाले बताए ।

  • ON-AIR

    Time:: am

  • UP-NEXT

    नेपाल खबर

    Time:6:00 pm

Top