ताजा अपडेट

समचार

अनशनमा पुरानो रेकर्ड तोड्दै डा.गोविन्द केसी आज सहमति हुन नसके दशौं अनशनको रेकर्ड तोडिने

Krishna Pokharel

३० साउन, काठमाडौ । 

चिकित्सा शिक्षा सुधारको माग राख्दै ११ औं पटक अनसनमा बसेका डा. केसीले नयाँ रेकर्ड बनाउन लागेका छन् । डा. केसी अनसन बस्न थालेको आज २२ दिन पुगेको छ । र, उनको स्वास्थ्य अवस्था एकदमै नाजुक बनेको छ ।

 

 

डा. केसीको श्वास प्रश्वासमा समस्या देखिन थालेको छ । उनी कसैसँग बोल्न सक्ने अवस्थामा छैनन् । मुटुको चालमा समेत उतार-चढाव आइरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । उनको मुटुको गति प्रतिमिनेट २०० भन्दा बढी पुगेको छ । उनलाई २४ सै घण्टा अक्सिजन दिएर राखिएको छ । भेण्डिलेटरसमेत तयारी अवस्थामा राखिएको छ ।

 

डा. केसी अहिलेसम्मकै सबैभन्दा लामो अनसनमा बसेका छन् । सरकारी पक्ष र डा. केसी पक्षबीच सोमबार पनि वार्ता सफल हुन सकेन भने भोलिबाट उनले अनसनको नयाँ रेकर्ड बनाउँदैछन् ।

 

कुन अनशन कति दिन ?

 

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसी पहिलोपटक ०६९ साल असार २१ गते अनशनमा बसेका थिए । त्यतिबेला उनको अनसन चार दिनमात्रै चलेको थियो ।

 

लगत्तै ०६९ साउन २७ गते केसीले दोस्रो अनसन सुरु गरे । त्यो अनशन भदौ १ गतेसम्म अर्थात ७ दिनमा तोडियो ।

 

डा. केसीले तेस्रो अनशन ०७० साल पुस २९ गते सुरु गरे । त्यो अनशन माघ १० गतेसम्म अर्थात १३ दिनसम्म कायम रह्यो ।

 

सोही वर्ष डा. केसीले चौथो अनसन सुरु गरेका थिए । त्यसबेला उनी माघ २५ गतेदेखि फागुन ३ गतेसम्म ८ दिन आमरण अनशन बसे ।

यस्तै, ०७१ साल फाल्गुन ८ डा. केसी पाचौं पटक अनसन बसे, जुन माघ १९ गतेसम्म अर्थात १२ दिनपछि तोडियो ।

 

छैटाैं अनसनमा भने डा. केसीले जम्मा १३ दिन बिताए । उनी त्यसबेला ०७२ भदौ ७ देखि भदौ १९ सम्म अनसन बसेका थिए ।

 

त्यस्तै, ०७२ साल असोज २ गते साताैं अनसन बसेका डा. केसीले ११ दिनपछि अनशन तोडेका थिए ।

 

त्यसपछि, ०७३ साल असार २६ देखि साउन १० गतेसम्म (१६ दिन) अनसन बसेका डा. केसीले नवांै अनसनमा १३ दिन र दशौं अनसनमा २२ दिन बिताए । उनको दशौं अनशन कार्तिक २८ गते सुरु भएर मंसिर १९ गतेसम्म रहेको थियो ।

 

डा. केसीले दशौं अनसनका क्रममा अहिलेसम्मकै लामो अनसन बसिसकेका छन् । यदि सरकार पक्षले उनको माग सम्बोधन नगर्ने हो भने डा. केसीको यो एघारौं अनशनले विगतका १० वटै अनसनको रेकर्ड तोड्नेछ ।

 

डा. केसीले ११ औ अनसनका क्रममा चिकित्सा शिक्षा सुधारका मागहरु अघि सारेका छन् । दशौं अनसनका क्रममा सरकारले आफूसित गरेका सबै सम्झौता कार्यान्वयन गरिनुपर्ने, माथेमा प्रतिवेदन अनुसार नै चिकित्सा शिक्षा विधयेक पारित हुनु पर्ने तथा काठमाडौ उपत्यकामा १० वर्षसम्म कुनै पनि मेडिकल कलेज खोलिन नहुने लगायतका माग केसीले राख्दै आएका छन् ।

 

हालै बसेको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिको वैठकले पारित गरेको चिकित्सा शिक्षा विधयेकमा डा. केसीले असहमति जनाएपछि उनको माग सम्बोधन हुन सकेको छैन र अनशन लम्बिएको छ ।

 

केसीले आफ्नो माग पूरा नभएसम्म अनशन नतोड्ने बताएपछि सरकार अहिले उनको माग पूरा गर्न लागिपरेको छ । तैपनि सहमति जुट्न नसक्दा डा. केसीको स्वास्थ्य गम्भीर मोडमा पुगेको छ ।

 

डा. केसीको जीवन रक्षाका लागि सर्वत्र आवाज उठिरहे पनि सहमति जुट्न सकेको छैन । उनको स्वास्थ्यप्रति सरकार गम्भीर नदेखिएको डा. केसीका शुभचिन्तकहरुको आरोप छ ।

Top