लघुकथा: फूर्ति
बाग्लुङ । बाबुआमा पालेरै बस्ने हो 'देवता समान जन्म दिने बाबु आमालाई पटक्कै दुःख दिनुहुन्न भन्दै फुर्ति लगाउने छोरो, बुहारी भित्राएको दुई दिन नबित्दै च्याँठियो ।'
यत्तिछिट्टै निमोठियर मुखामुख लाग्छ जस्तो त सत्ते भा , बाउआमालाई विश्वासै थिएन । धनी बाउकी एक्ली छोरीसँग आफ्नो छोराकाे बिहे गराईदिनु नै बाउआमालाई दुर्भाग्य जस्तै भयो । एकदिन छोरोले घरमा किचलो झिक्यो । जन्मदिने बाबुआमासँग पाखुरा सुर्कायो र बौलाहाझैँ गरी उफ्रियो ।
यसको पुरै नाटक मञ्चन र निर्देशन नव–दुलहीले रचेकी थिई । "मलाई तिमीहरुको एक टुक्रा जमिन पनि चाहिदैँन म अब फर्केर पनि यो घरमा पाइला टेक्दिन । दरवार जस्तो घर छोडेर आइकी हुँ ,यो झुपडीमा कसरी बस्न सकिन्छ ? हिँड बूढा जाँउ ।" नव बेहुली गम्की । दुवै जना घर छाडेर माइत तिर टाप कसे।
साँझ घरमा पुगे , वातावरण सुनसान थियो । घरको आधा खुलेको गेटबाट गर्वका साथ दुवैजना घरभित्र के छिरेका थिए गल्लीमा एकअपरिचित व्याक्तिसँग भेट भयो " को हो तपाँइहरु ? नसोधीकन सरासर भित्र आउने अनुमती कसले दियो ?
यो घर भ्रष्टाचार अभियोगमा लिलाम भएको छ , केहि दिनमै विक्रीको लागि सुचना टाँस हुदैँछ । अहिल्यै यहाँबाट निक्लिहाल्नुस् ।" दुवैजना घाेसाे मुन्टाे लगाएर गेट घर्काउदै बाहिरिन्छन् ।
प्रतिकृया दिनुहोस