• १४ बैशाख २०८१, शुक्रबार
  • ०५:२६:४७

Now: धार्मीक कार्यक्रम

Next: धौलागिरी हालचाल

गुल्मीका प्रहरी कार्यालय कतै भाडाको घरमा, कतै टिनको टहरामा

जनताको जनधनको सुरक्षा गर्ने दायित्व बोकेका यहाँका प्रहरी वर्षौंदेखि भौतिक संरचनाको असुविधा खेप्दै छन्

फाेटाे : नयाँ पत्रिकाबाट

गुल्मी । चौकीकै डिल चर्किएकाले पानी परे बगाउने डर । सानो बतासे पानी आए भित्रसम्म जलमग्न हुने अवस्था । हुरी आए थेग्ने कुरै छैन । सडकछेउको चौकीमा राम्रो घेराबार छैन । धुलो उडेर भित्रसम्म पुग्छ । सडकनजिकै र राम्रो संरचना नभएकाले अज्ञात पक्षसँगै सानो हुलहुज्जत भए पनि चौकी असुरिक्षत छ । 

हस्तिचौर प्रहरी चौकीले ०७२ सालबाट इस्मा गाउँपालिका–१ हस्तिचौर स्वावलम्बन बचत तथा क्रृण सहकारी संस्थाको जीर्ण भवनबाट कार्यसम्पादन गरिरहेको छ । नजिकै चौकीको नाममा जग्गा प्राप्त भएको छ । तर, भवन निर्माणको अत्तोपत्तो छैन । अहिलेसम्म आफूहरूले भाडा भने तिर्नुनपरेको चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक विष्णुबहादुर गाहाले जानकारी दिए । 

कालिगण्डकी गाउँपालिका–७ को भुर्तुङ प्रहरी चौकी हिराध्वज शाहको कच्ची घरमा भाडा तिरेर बसेको वर्षौं भयो । भूकम्पले चर्किएको भवन छ । पुरानो टिनको छानाले थेग्न छोड्यो । पानी परे चुहिएर बस्न र सुत्न मिल्दैन । पहिले तीनतले घर हो । भूकम्पपछि दुई तलाको बनाइएको छ । चौकीलाई गाविस हुँदै प्राप्त भएको जग्गा छ । तर, त्यहाँ पनि भवन निर्माणको कुनै पहल नभएको चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक दुहुना थारूले बताए । 

चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा ‘ख’ श्रेणीको इलाका प्रहरी कार्यालय छ । जुन द्वन्द्वपछि स्थानीय टेकबहादुर पौडेलको पुरानो घरमा बस्दै आएको छ । पुरानो घर भएकाले आफैँमा जीर्ण छ । पुरानो घरमा जोखिम नहुने कुरै भएन । लामो समय अहिलेकै अवस्थामा कार्यसम्पादन गरेको तर अहिले भवन निर्माणका लागि ठेक्का भएकाले नयाँ आशा थपिएको चन्द्रकोट इलाका प्रहरी चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक पदम शाहीले बताए । 

अर्खाबाङ प्रहरी चौकी मालिका गाउँपालिका–४ का हिमाल केसीको कच्ची घरमा ०७५ सालदेखि बस्दै आएको छ । सुरक्षा निकायअन्तर्गत इलाका प्रहरी कार्यालय र प्रहरी चौकीको मात्र भवन नभएको होइन । जिल्लाकै ट्राफिक प्रहरी कार्र्यालयको पनि आफ्नै भवन छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालयको आफ्नै जग्गा र भवन केही पनि छैन । अहिलेसम्म चार स्थानमा कार्यालय सारेर अस्थायी रूपमा बसिरहेको ट्राफिक प्रहरी कार्यलय गुल्मीका निमित्त इन्चार्ज प्रहरी सहायक निरीक्षक जगन्नाथ पाण्डेयले बताए ।

सातवटा प्रहरी चौकीको आफ्नै भवन छैन

शान्ति सुरक्षा दिने प्रहरी नै भौतिक संरचनाका दृष्टिले असुरक्षित छ । जिल्लाको गाउँगाउँका प्रहरी चौकीको आफ्नै भवन नहुँदा कार्यसम्पादनमा असर परेको छ । गुल्मीमा अहिले जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाहेक चार इलाका र १४ स्थायी र एक अस्थायी प्रहरी चौकी रहेका छन् ।

जसमध्ये सातवटा प्रहरी चौकीको आफ्नै भवन छैन । पौदी अमराई, मजुवा र खज्र्याङलगायतका चार प्रहरी चौकी अरू सरकारी कार्यालयका भवनमा बस्दै आएका छन् । इलाका प्रहरी कार्यालय चन्द्रकोटको भवन निर्माणाधीन छ । जिल्ला प्रहरी कार्यालयमा पनि केही नयाँ संरचान थप गर्ने क्रम चलिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले मानवीय स्वभावअनुसार संरचनाले स्वाभाविक रूपमा कार्यसम्पादनमा असर गर्ने बताए । उनले जनताको शान्ति सुरक्षाको काम प्रहरीले पालमुनि बसेर पनि गर्नुपर्ने बाध्यता भएका कारण जीर्ण वा असुरक्षित संरचनामै बसेर पनि कर्तव्य पूरा गरिरहेको बताए । उनले बिस्तारै संरचनाहरू विस्तार भएकाले केही समयमै सबै प्रहरी चौकीका आफ्नै भवन  हुने बताए । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै