ताजा अपडेट

समचार

बागलुङमा मतदान शान्तिपूर्ण, ६० प्रतिशत भन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान !

ताराखोला गाउँपालिकामा ७७०८ मध्य ५६५४ जना मतदाताले (७३ प्रतिशत) मत खसाले !

कृष्ण पोखरेल

 
 
बागलुङ २०७४ मंसिर १० ।
आज मंसिर १० गते पहिलो चरणको प्रतिनिधी तथा प्रदेशसभा सदस्य पदको लागी भएको मतदान बागलुङमा शान्तिपूर्ण सम्पन्न भएको छ । जिल्लाका सबै मतदान केन्द्रहरुमा मतदान शान्तिपूर्ण रहेको सहकर्मीहरुले जानकारी दिएका छन् । जिल्लामा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।
 
सहकर्मी पूर्णभद्र निउरेका अनुसार ताराखोला गाउँपालिकामा ७३ प्रतिशत मत खसेको जानकारी प्राप्त भएको छ । कुल मतदाता ७७०८ मध्य ५६५४जना मतदाताले मत खसालेका छन् ।
 
यो बामगठबन्धनबाट प्रदेश सभा सदस्य पदका लागि क्षेत्र नं २ को (क) बाट उमेदवार बनेका माओवादी केन्द्रका चन्द्रबहादर बुढा ‘सागर’को गृह गाउपालिका हो ।
 
सहकर्मी दिनेश खत्रीका अनुसार उता गल्कोट नगरपालिकाको हरिचौर केन्द्रमा १९४० मतदाता मध्य ५५५ पुरुष र ७०७ जना महिला मतदाताले मतदान गरेका छन । मतदान कार्यको शुभारम्भ क्षेत्र नं २ को (क) बाट प्रदेशसभा सदस्यका लागि काँग्रेसबाट उमेदरवार बनेका मन्जेश वम मल्लले गरेका थिए । यो उनको गृह नगर हो ।
 
सहकर्मी बिमल खडकाका अनुसार प्रदेश र प्रतिनिधि सभाका लागि भएकाे चुनावमा भीमगिठे केन्द्रमा ५८.८४ प्रतिशत मत खसेकाे छ । जम्मा २ हजार ५३ मतदाता संख्यामा ६ सय ६७ जना महिला र ५ सय ४१ जना पुरुष गरि १२ सय ८ जनाले मतदान गरेका निर्वाचन अधिकृत ईन्द्र बहादुर थापाले जनाकारी दिए ।
 
दुई अाेटा केन्द्र भएकाे भिमगिठेमा पुरुष भन्दा महिलाले बढि मतदान गरेका छन । मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएकाे निर्वाचन कार्यलयले जनाएकाे छ ।
 
बडिगाडकै वडा न ६ काे बुद्ध मावि खालमा ६४ प्रतिशत मत खसेकाे छ । जस्मा पुरुष ३ सय २८ र महिला ३९६ गरि ७ सय २४ मत खसेकाे निर्वाचन अधिकृत हरिनारायण रेग्मीले जानकारी दिए । जम्मा मतदाता संख्या ११ सय ३१ भए पनि सबै मतदाता मतदान गर्ने नअाएकाे बताएको छ ।
 
यसैगरी बडीगाड गाउपालिकाको खर्वाङ केन्द्रमा १ हजार ६६ मतदाताले मतदान गरेका छन् । यो खसेको मत ६३.८३ प्रतिशत हो ।
 
ढोरपाटन नगरपालिकामा ६९ प्रतिशत मतदाताले मताधिकारको प्रयोग गरेको सहकर्मी राम सुवेदीले जानकारी दिए । जम्मा १३ हजार ६ सय ७६ मतदाताहरुमा ९ हजार ४ सय ५४ जना मतदाताले मतदान गरेका थिए ।
जिल्लाको पश्चिम निसी, भूजी, तमान, गल्कोट, दक्षिण जैमिनी तथा सदरमुकाम क्षत्रमा मतदाताहरुले शान्तिपूर्ण तवरले आफनो मताधिकारको प्रयोग गरेका छन । कुनै पनि मतादान केन्द्रमा कुनै अप्रिय घटना भएको जानकारी छैन ।
Top