समचार

पिल्स खानुपर्छ भन्दा महिला लाजले भुतुक्क हुन्थे !

हेम बिश्वकर्मा

हामीले स्वास्थ्य स्वयंसेविका भएर काम गर्दा सजिलो थिएन। २०४५ सालमा मैले स्वास्थ्य स्वयंसेविकाका रुपमा काम सुरु गरेकी थिएँ। त्यो बेला म ४५ वर्षकै थिएँ। मेरा चार जना छोराछोरीको जन्म भइसकेको थियो। 

मेरो घर गोरखाको अति विकट गाउँ भच्चेक सिमजोङ ३, हालको अजिरकोट गाउँपालिकामा थियो। अहिले जस्तो सजिलै पुग्न सकिने ठाउँमा स्वास्थ्यचौकी, अस्पताल थिएन। गाउँमा झाडापखालाले धेरै मानिसको ज्यान जान्थ्यो। धेरै गर्भवतीले बच्चा जन्माउन नसकेर समस्या आएर ज्यान गुमाउथे। सामान्य औषधि पनि नपाएर धेरैले दुःख पाउने गर्थे। 

पहिलो गर्भ राम्ररी जाँच गराउन नसक्दा उल्टो जन्मिएर मेरो आफ्नै शिशु मृत जन्मेको थियो। 

परिवार नियोजनका साधनबारे न कसैलाई थाहा थियो न कसैले प्रयोग गर्थे। स्थायी परिवार नियोजन गनुपर्छ भन्ने ज्ञानको विकास भइसकेको थिएन।

गाउँमा अलि टाठो र पाको महिला भनेर मलाई गाउँ पञ्चायतले स्वयंसेविका चुनेको थियो। मेरो वडाका सबै छिमेकी प्रायः गुरुङ, सार्की थरका थिए।

महिलालाई जन्मान्तर गराउन पिल्स खानुपर्छ भन्दा त लाजले भुतुक्क हुन्थे। अझ कन्डम प्रयोग गर्नुपर्छ भनेर त्यसबेला पुरुषलाई सम्झाउनु ठूलो कुरा हुन्थ्यो। पुरुषलाई अलग्लै लगेर कन्डम प्रयोग गनुपर्छ भनेर सम्झाउनुपर्थ्यो।

कतिसम्म थियो भने, अर्को वडाका स्वयंसेविकाले पुरुषलाई कन्डम प्रयोगबारे भन्न नसक्दा मलाई भन्न लगाउँथे। म गएर उनीहरुलाई कन्डमबारे जानकारी दिन्थें। उमेर पाको भएर पनि धेरैले मलाई आमा भन्थे। हत्तपत्त कुरा टार्न सक्दैन्थे। 

म बिहान ३ बजे उठेर घरधन्दा भ्याएर सबेरै गाउँगाउँमा स्वास्थ्यका कुरा बताउन जान्थें। गाउँमा कति गर्भवती छन्, कति सुत्केरी छन् सबै थाहा हुन्थ्यो। आइरन चक्की खान, सरसफाइ गर्न, शिशुको स्याहार गर्न, स्वस्थ र पोषणयुक्त खानेकुरा खानुपर्छ भनेर सिकाउन म सबै दिदीबहिनीका कहाँ पुग्थें।

बच्चालाई ९ महिनासम्म विभिन्न खोप लगाउनुपर्छ भनेर सबै बच्चा भएका आमाकहाँ पुग्थें। 

‘सुई लगाउँदा बच्चा रुन्छ हामी जान्नौं’ भन्ने आमाहरुलाई बाहिर राखेर म उनीहरुका बच्चा बोकेर खोप लगाएर ल्याइदिने गर्थे।

हामीलाई सरकारले स्वास्थ्यका विषयमा तालिम दिएको थियो। मैले जिल्लामा राम्रो काम गरेर त्यो बेला धेरै पल्ट पुरस्कार पाएकी छु। 

घरमा सासु हुनुहुन्थ्यो। उहाँले बच्चा हेर्ने, उनीहरुलाई खाजा दिने अन्य काममा सहयोग गर्ने भएकाले नै म दिनभरि गाउँघरमा पुग्न पाउँथे। श्रीमानले भने दुःख भयो, छोड्दे भन्नुभएको थियो। मैले छोडिनँ।

गाउँमै २०४९÷०५० तिर प्रौढ शिक्षा पढेर नाम लेख्न सिकेकी थिएँ। स्वयंसेविकाले कति पिल्स, कन्डम, जीवनजल वितरण भएको छ भन्ने सबै रेर्कड राख्नुपर्थ्यो।

२०५२ सालमा सशस्त्र द्वन्द्व सुरु भएपछि काम गर्न झन् गाह्रो भयो। मेरो परिवार लोकतान्त्रिक विचारधाराको भएकाले माओवादीले यो बुढीले गाउँ बिगार्न लागि भनेर दुःख दिए।

आधारातमा २०औं जनाको समूह आएर खाना बनाउन भन्थे। कहिले धानचामल उठाइदिन भन्थे। तर, मैले काम गर्न छोडिनँ। दिदीबहिनीका कहाँ उनीहरुको स्वास्थ्य समस्या बुझ्न गइरहन्थें। कतिलाई धेरै समस्या भएमा सदरमुकामको जिल्ला अस्पतालमा समेत लिएर जाने गर्थें।

पछि छोरो माओवादीमा लागेछ। अनि त माओवादीले सताउन छोडेका थिए।

हामीले तालिमको समयमा २ सय रुपैयाँ भत्ता पाउँथियौं। अरु केही सुविधा थिएन। पछि गाविसले हरियो साडी, रातो चोलो, छाता, चच्पल दिएको थियो। डे«स भनेर। अहिले त स्वास्थ्य स्वयंसेविकाले पनि अलेलि पैसा पाउँछन् भन्ने सुनेकी छु। ड्रेस पनि फेरिएछ। 

स्वयंसेविकालाई अलिअलि सुविधा त दिनुपर्छ। किनकि राज्यको स्वास्थ्यका कार्यक्रम जनतासम्म पुर्‍याउने पहिलो संवाहक त उनीहरु नै हुन् नि। 

स्थायी परिवार नियोजनको सुविधा हुन थालेपछि बन्ध्याकरण, मिनिल्याब, भ्यासेक्टोमी गर्न पनि मैले गाउँलेलाई सम्झाएँ। गाउँमा धेरैका कम्तिमा ४ छोरोछोरी हुन्थे। कतिका १०–१२ जनासम्म हुन्थे।

धेरै महिलाले परिवार नियोजनको अप्रेसन गराउँथे। पुरुषले चाहिँ अप्रेसन गर्नै नमान्ने, एकदम कम पुरुषले मात्र अप्रेसन गर्थे।

देशमा गणतन्त्र आएपछि हो क्यार, म बिरामी भएँ। मेरो दुवै मिर्गौलामा समस्या देखियो। म काठमाडौं आएँ। १५–२० दिन टिचिङमा उपचार गराएपछि निको भयो।

मैले डा गोविन्द केसीलाई त्यही बेला चिनेकी थिएँ। उहाँले मेरा खुट्टाको उपचार गर्नुभएको थियो। मिर्गौलाको उपचार गराउन जाँदा पनि भेट भएको थियो। निकै राम्रो मानिस हुनुहुन्छ। अहिले पनि उहाँ जनताका लागि लडिरहेको समाचारमा सुन्छु। 

छोराछोरी काठमाडौंमै बसोबास गर्ने भएकाले बुढाबुढी मात्र गाउँमा थियौं। म बिरामी भएपछि छोरोले गाउँ जान दिएन। करिब २०–२२ वर्षदेखिको स्वयंसेविका काम मैले श्रीमानले दोस्री श्रीमती ल्याएर दुःख पाएकी गाउँकै एक महिलालाई हस्तान्तरण गरेर काठमाडौं आए। २०६४÷६५ सालतिर हो क्यार। 

काठमाडौंको तारकेश्वर नगरपालिकामा अहिले परिवारसँगै बस्छु। यहाँ आफू स्वयंसेविकाको भूमिकामा नभए पनि आफूले सिकेका कुरा सिकाउन छोडेकी छैन। त्यसबेला सिकेका कुरा अहिले पनि उत्तिकै काम लागिरहेका छन्।

Top