• १२ बैशाख २०८१, बुधबार
  • १३:५८:१५

Now: Music Express

Next: थाहा अपडेट

गुल्मीका हुमनाथकाे गुड र खुदो बेचेरै वार्षिक १० लाख आम्दानी

गुल्मी : छत्रकोट गाउँपालिका–४ दिगामका हुमनाथ पन्थले करिब आठ रोपनी जग्गामा उखु खेती गर्दै आएका छन् । उनले आठ वर्षदेखि हरि ओम केशर मिल सञ्चालन गरी हुँगा, थानापति, धरमपानी र दिगाम क्षेत्रमा उत्पादित उखु खरिद गर्दै आएका छन् ।

पन्थले वार्षिक करिब ५० लाख बराबरको उखु, खुदो र गुडको कारोबार गर्दै आएका छन् । जसबाट खर्च कटाएर सात देखि १० लाख रुपैयाँसम्म आम्दानी हुने उनले बताए । उनले उखु, खुदो र गुड बुटवल, नारायणगढ र पोखरासम्म बिक्री गर्दछन् ।

खुदो प्रतिलिटर ११० देखि १२० रुपैयाँ, सादा गुड प्रतिलिटर १७० र मसलावाला गुडको २२० रुपैयाँमा बिक्री हुने गरेको हरिकला पन्थले जानकारी दिइन् । उनको उखु मिलमा तीनजना नियमित कामदार र आवश्यक पर्दा दैनिक ज्यालादारी कामदार समेत राख्ने गर्छन् ।

सोही वडामा न्यौपाने कृषि तथा पशु फर्म दर्ता गरी नीलाकण्ठ नयौपानेले  व्यावसायिकरुपमा खुदो, गुड उत्पादन गर्छन् । गुड र खुदोमा गुणस्तरता कायम गर्न तालिम आवश्यक भएको उनले बताए ।

वडा नम्बर ४ का अध्यक्ष डिलाराम न्यौपानेले उखु किसान र फर्म तथा मिलहरुलाई आवश्यक सहयोग गर्ने बताए। केही समयअघि गाउँपालिकाले ड्रमलगायत केही उपकरणहरु ५० प्रतिशत अनुदानमा दिएको उनले बताए ।

ढुवानीमा अनलाइन बिलको समस्या

पन्थले उखु, खुदो र गुड पोखरा, नारायणगढसम्म ढुवानी गर्दा अनलाइन बिल नभएको भन्दै चेकिङमा समस्या आउने गरेको बताए । उनले भने, ‘गाउँका हामी सोझा किसानलाई अनलाइन बिलको बारेमा केही थाहा नभएको र आफूहरुलाई दुःख दिनकै लागि यस्तो भएको होला ।’

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै