• ८ बैशाख २०८१, शनिबार
  • ०१:३१:४०

Now:

Next: शुभारम्भ धुन

कराँते खेलको हब बनाउन पूर्वाधार निर्माणमा जोड दिदै बडिगाड गाँउपालिका

तस्विर : राजन पाइजा

बागलुङ । जिल्लामा स्थानीय तहको निर्वाचन पछि धेरै जनप्रतिनिधिले पूर्वाधार निर्माणमा जोड दिएका छन् । तर, धेरै स्थानीय सरकारले ओझेलमा राख्दै गरेको खेलकुद क्षेत्रलाई बडिगाड गाउँपालिकाले भने प्राथमिकताका साथ अगाडि बढाएको छ ।

खेलकुद क्षेत्रको विकासका लागि बडिगाड गाउँपालिकाले गौरवको योजनाका रुपमा खेलकुद पूर्वाधार निर्माणलाई बिशेष जोड दिएको छ । गाउँपालिकाले खेल अभ्यासका लागि कवर्ड हल निर्माण तथा खेलाडी आवास निर्माणमा झण्डै ५० लाख रुपैयाँ लगानी गरेको छ । गाउँपालिकालाई खेलकुदको हबको रुपमा विकास गर्न गत वर्ष गाउँपालिकाको तर्फबाट २० लाख रुपैयाँको लागतमा कवर्ड हल निर्माण गरिएको छ ।

गत वर्षनै खेलाडी र अतिथिका लागि गाउँपालिकाले १० लाख रुपैयाँ बिनियोजन गरेर आवास निर्माण शुरु गरेको थियो । गाउँपालिकाले यसवर्ष १० लाख रुपैयाँ र संघीय सांसद देवेन्द्र पौडेलले विनियोजन गरेको १४ लाख रुपैयाँको लागतमा अहिले आवास निर्माणको कार्य समेत अन्तिम चरणमा पुगेको बडिगाड गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकालाई खेलकुदको हब बनाउनका लागि खेलकुद क्षेत्रको पूर्वाधार निर्माणमा जोड दिएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी बताउनुभयो । “गाउँपालिकाले अन्य क्षेत्र जस्तै खेलकुद क्षेत्रलाई समेत प्राथमिकतामा राखेर पूर्वाधार र खेलाडी उत्पादनमा जोड दिइएको छ” अध्यक्ष पाइजाले भन्नुभयो “खेलकुदको पूर्वाधारसँगै खेलाडी उत्पादन गरिरहेका छौं, राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा सहभागी समेत भइरहेका छन् ।”

बडिगाड गाउँपालिकामा कराँते खेलमा निकै आकर्षण र उर्वर देखिएको छ । गाउँपालिकाले दुई वर्ष अघि बडिगाड महोत्सवको अवसरमा राष्ट्रिय स्तरको कराँते प्रतियोगिता समेत सम्पन्न गरेको छ । गाउँपालिकामा अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त कराँते प्रशिक्षक समेत भएकाले गाउँपालिकामा खेलकुद क्षेत्रको गतिविधि र प्रवद्र्धनका लागि सहज भएको छ ।

बडिगाड कराँते डोजो अन्तर्गत अहिले गाउँपालिकाले निर्माण गरेको कवर्ड हलमा दैनिक ७० जना खेलाडीले कराँते खेलको प्रशिक्षण लिइरहेको बडिगाड कराँते डोजोका प्रमुख तथा अन्तर्राष्ट्रिय प्रशिक्षक राजन पाइजाले जानकारी दिनुभयो । पाइजाका अनुसार, गाउँपालिकाको सहयोगमा बडिगाड कराँते डोजोले उत्पादन गरेको खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई गोल्ड मेडल समेत जित्दै आएका छन् ।

हालै पञ्जावमा सम्पन्न भएको इन्डोर नेपाल प्रतियोगितामा बडिगाड डोजोको तर्फबाट सहभागी भएका ६ जना खेलाडीले नै गोल्ड मेडल प्राप्त गर्न सफल भएका थिए । “कराँते खेलमा बडिगाड गाउँपालिकाले धरै सहयोग गर्दै आएको छ, कराँते खेलका लागि लक्षित गरी कर्वड हल तथा आवास समेत निर्माण गरेको छ” कराँतेका एशियन प्रशिक्षक पाइजाले भन्नुभयो “कवर्ड हल नहुँदा यसअघि प्रशिक्षणका क्रममा पानी पर्दा समस्या हुने हावा हुरीले समस्या पार्ने गरेको थियो तर अहिले कवर्ड हल निर्माण पछि निकै सहज भएको छ ।’ बडिगाड डोजोले चार वर्षदेखि खेलाडीलाई कराँते प्रशिक्षण गर्दै आएको छ । कराँते मात्र नभई अन्य खेल प्रशिक्षण र कार्यका लागि पनि खेलकुद पूर्वाधारले सहज हुने पाइजा बताउनुहुन्छ ।

निःशुल्क प्रशिक्षण दिँदै पाइजा

अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त एशियन प्रशिक्षक राजन पाइजाले चार वर्षदेखि बडिगाड डोजोमा निःशुल्क प्रशिक्षण गर्दै आउनुभएको छ । प्रशिक्षक पाइजाले बडिगाडमा कराँते खेलकुदको विकासमा गाउँपालिकाले ठूलो योगदान गरेको बताउनुभयो । खेलाडीलाई आफूले पनि हाल सम्म निःशुल्क प्रशिक्षण गर्दै आएको पाइजाको भनाई छ । प्रशिक्षण मात्र हैन, खेलाडीलाई समेत विदेशमा खेलकुदका लागि पठाउँदा आफ्नै तर्फबाट खर्च समेत गर्दै आएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले निर्माण गरेको कवर्ड हलमा कराँते सिक्न पाउँदा निकै सहज भएको बडिगाड कराँते डोजोका खेलाडी लक्ष्मण पुनले बताउनुभयो । ‘पहिले खुल्ला मैदान खोज्दै हिँड्थ्यौ, स्थान अभावले अभ्यासमा धेरै समस्या भोगिरहेका थियौ,’ उहाँले भन्नुभयो,‘कवर्ड हल बने पछि धेरै सहजता छ, गर्मी होस् वर्षा, बाह्रैमास प्रशिक्षण लिन सकिने बातावरण बनेको छ ।

गाउँपालिकाले ६ कोठे दुई तले पक्की आवास निर्माण गरेको छ । अहिले आवास निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । आवास निर्माणमा टाढाका खेलाडीलाई राख्ने र खेलकुद प्रतियोगिताको आयोजना गर्दा अतिथी, खेलाडी तथा प्रशिक्षक राख्न सहज हुने पाइजाको भनाई छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै