• ८ बैशाख २०८१, शनिबार
  • १७:३४:४८

Now: आफ्नै पाखा आफ्नै भाका

Next: नेपाल खवर

बडिगाडकाे चमेरे गुफामा पर्यटक देखिन थाले

बागलुङ । कोरोना महामारीमा थला प¥यो पर्यटन क्षेत्र । पर्यटक नै घरमा थन्किएपछि पर्यटकीय क्षेत्रमा झारपातको राज थियो । दुबो पलाउन थालेको थियो, स–साना बिरुवाले मुना हाल्दै थिए । बागलुङको वडिगाड गाउँपालिका–५ मा रहेको चमेरे गुफाले पनि कोरोना महामारीको मार व्यहोर्यो । लामो समय पर्यटक नदेखिएको गुफामा झण्डै एक वर्षको अन्तरालपछि अहिले भने केही पर्यटकहरु देखिन थालेका छन् ।

बडिगाड गाउँपालिकाले वडा नं.–५ ग्वालीचौरस्थित यो गुफाको नाम ‘करुण चमेरे गुफा’ राखेर यसलाई पर्यटकीय गन्तव्य बनाउने गरि अभियान थालेको थियो । गाउँपालिकाले समुद्री सतहदेखि एक हजार पाँच सय ३१ मिटरको उचाइमा रहेको गुफा वरपर भौतिक पूर्वाधार विकास गरिरहेको छ । गुफा परिसरमा पूर्वाधार निर्माणसँगै घुम्न आउने आन्तरिक पर्यटक बढेका छन् ।

गुफाभित्र विभिन्न प्रजातिका चमेरा रहेकाले गुफाको नाम चमेरे गुफा राखिएको वडाअध्यक्ष अर्जुन खरेलले बताए । उनले गुफामा चार प्रजातिका चमेरा पाइने बताए । उनले भने, ‘यहाँ गुफा र चमेरा हेर्न तथा अध्ययन अवलोकनका लागि पनि बागलुङसँगै छिमेकी जिल्ला गुल्मीलगायतका मानिस आउने गरेका छन् ।’

प्रकृतिले दिएको उपहार हो चमेरे गुफा । १ सय ५० मिटरभन्दा लामो यो गुफा पछिल्लो पटक भएका केही प्रचार र प्रयासहरुले चर्चामा आउन थालेको छ । कोरोना महामारीपछि यो गुफामा बिस्तारै आन्तरिक पर्यटकहरु देखिन थालेका छन् । लामो प्राकृतिक गुफा र त्यहाँभित्र रहेका मनोरम दृष्यहरुले पर्यटकको मन लोभ्याउने गरेको छ ।

मध्यपहाडी लोकमार्ग नजिकै रहेकाले यो गुफा गाउँपालिकाको पर्यटनको मुख्य आधार हो । चमेरे गुफाका लागि गाउँ पालिकाले ४० लाख रुपैयाँ खर्चेको थियो । त्यसको उपलव्धी विस्तारै देखिन थालेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजा बताए । ‘पर्यटन वर्षमा केही होला भनेको कोरोनाले असर ग¥यो’ पाईजाले भने ‘अब बिस्तारै यहाँको पर्यटन उकासिने बाटोमा छ ।’

पछिल्लो पटक चमेरे गुफामा गण्डकी प्रदेश सरकारको समेत आँखा पुगेको छ । गण्डकी प्रदेश उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले पूर्वाधार बनाउने भनेर २० लाख रुपैयाँ लगानी गरेको छ । गुफाको प्रचार प्रसारमा स्थानीय सरकारले बढी ध्यान दिनुपर्ने पर्यटकहरु बताउँछन् ।

गुफा घुम्नको लागि आन्तरिक पर्यटकको ठुलो जमात त्यहाँ पुग्ने गरेको छ । पछिल्लो समय भारतीय पर्यटकको समेत रोजाईमा गुफा पर्ने गरेको स्थानीय बताउँछन् । गुफाको प्रचार र प्रबद्र्धन गर्ने हो भने पर्यटनसँग जोडेर स्थानीयको आर्थिक उन्नतीमा टेवा पुग्ने आशा छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै