ताजा अपडेट

समचार

बडिगाड गाउँपालिकामा मह सिकार पर्यटनको विकास गर्न सकिने,

गाउँपालिका अध्यक्ष नै मह सिकारमा ।।

Radio Sarathi 107.4 Mhz

कमल पौडेल
२८ मंसिर २०७५/बडिगाड बागलुङ
बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा केहि दिन यता मह सिकार (हनी हन्टिङ) मा व्यस्त हुनुभएको छ। बडिगाड भित्रका पर्यटकिय क्षेत्रको प्रचार प्रसार गर्ने तथा भिर मौरीको प्रवद्र्धन र व्यवस्थित गर्दै पर्यटनको विकासमा महत्वपूर्ण योगदान पुर्याउने ध्ययका साथ मह सिकारमा लाग्नुभएको हो। एक महिना अगाडि बडिगाड महोत्सवको अवसर पारेर रणसिंहकिटेनी क्षेत्रमा मह सिकार गरिएको थियो। भने अहिले बडिगाड गाउँपालिका वडा नं. ३ को शिसाखानी टुनिखोला को तारे भिरमा मह सिकार चलिरहेको छ। ४० घार भिर मौरि रहेको सो क्षेत्रमा विहिवारको तयारी पछि शुक्रवार १६ घारवाट झण्डै ५० किलो मह शिकार गरिएको र सनिवार थप मह सिकार गरिने गाउँपालिका अध्यक्ष पाइजाले जानकारी दिनुभएको छ। असल कृषकको रुपमा परिचित पाइजा आफैले मह सिकार गर्नुहुन्छ। भिरमौरिको सिकार आफैमा जोखिम र साहसिक सिकार मध्य पर्दछ। बडिगाड गाउँपालिका भित्रका हनि हन्टिङ (महसिकार) क्षेत्रहरु पहिचान गर्न र देश विदेशमा प्रचार गरि पर्यटन प्रवद्र्धन गर्नको लागि आफैले मह सिकार गर्न सुरु गरेको पाइजाले वताउनु भयो। आगामी वर्षको लागि मह सिकार क्षेत्रहरुको पहिचान गर्ने र सहज वाटो निर्माण संगै व्यवस्थित गर्ने र महसिकार महोत्सवकै रुपमा अगाडि वढाउने योजना रहेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले जानकारी दिनुभएको छ। पाइजाले भिरमौरी सिकार क्षेत्रको रुपमा बडिगाड गाउँपालिका भित्रका विभिन्न क्षेत्रहरुलाई प्रयोग गर्न सकिने भन्दै प्रदेश सरकार तथा केन्द्र सरकार संग आवश्यक सहयोगको लागी आग्रह समेत गर्नुभएको छ। 
यसै विच पर्यटकीय क्षेत्रको विकासको लागी प्रचार गर्ने उद्धेश्यले कार्यपालिकाको वैठक समेत गराङचौर मै वसाइएको छ। बडिगाड गाउँकार्यपालिकाका सवै सदस्यहरु उपस्थितिमा वडा नं. ३ र १ को सिमानामा पर्ने गराङचौरमै कार्यपालिकाको वैठक शुक्रवार वसेको हो। वैठक संगै स्थानिय सरोकारवाला संस्था तथा बडिगाड गाउँकार्यपालिका सदस्य सहित कार्यपालिका कार्यालयमा कार्यरत सवै कर्मचारीहरुको सहभागितामा वनभोज कार्यक्रम समेत सम्पन्न भएको छ। 
मंसिर १ देखि ९ सम्म बडिगाड महोत्सव गरेको गाउँपालिकाले, गाउँपालिका भित्रकै विकट मानिने शिसाखानीमै कार्यपालीकाको वैठक तथा मह सिकारको कार्यक्रम राखेर थप एकताको सन्देश समेत दिएको छ। समग्र रुपमा कार्यक्रमले शिसाखानीको विकासमा महत्वपूर्ण सहयोग पुग्ने वडा नं. ३ का अध्यक्ष खड्क पुनले विश्वास व्यक्त गर्नुभएको छ। समुद्र सतह देखि २२ सय मिटरको उचाइमा रहेको सो गराङचौरमा पानीको व्यवस्थापन गर्न सके पिकनिक स्पोट तथा धेरै क्षेत्रको दृश्यावोलकन गर्न सकिने भएकोले पर्यटन पर्वद्धन गर्न सकिने सम्भावना रहेको छ। 
के हो त मह सिकार (हनि हन्टिङ)? 
कहालि लाग्दो भिर पहराहरुमा हुने भिर मौरीको मह सिकार अर्थात मह काढ्ने काम नै मह सिकार हो। जुन विश्वमै विरलै हुने गर्दछ। अत्यन्त सुरा मह शिकारीहरुको साहासिक काम पर्यटकका लागि नौलो र आकर्षणको विषय भएका कारण पनि यो निकै महत्वपूर्ण सिकार हो। अर्को तर्फ भिर मौरीको मह समय मिलायर काढ्न सक्ने हो भने राम्रो आम्दानीको श्रोत पनि हो। 
 
आङ नै सिरिङ हुने अग्ला भिर पहरामा निडरभई मह सिकारीहरुले मह काढ्ने काम नै मह सिकार (हनि हन्टिङ) हो। जुन जोखिमपूर्ण दृश्य स्वदेशि तथा विदेशी सबैका लागि साँच्चै अविस्मरणीय र रोचकको विषय हुने गर्दछ। अग्ला पहराहरुमा भिर मौरी पाइने स्थानमा मात्रै मह सिकार गर्न सकिन्छ। बडिगाड गाउँपालिकाको शिसाखानी, जलजला, रणसिंह किटेनी का विभिन्न भिरहरुमा प्रशस्त भिर मौरी पाइने गर्दछ र प्रशस्त मह सिकारको संभावना रहेको छ। मह सिकार गर्ने प्रचलन धेरै पुरानो रहेपनि नयाँ पुस्तामा भने यसको खासै विकास हुन सकेको छैन। 
भिर पहरामा पाइने मौरीको संरक्षणका साथै उचित तरिकाबाट मह सिकार गर्न सक्ने हो भने स्थायिवासी को आम्दानी का साथै मह सिकारले स्वदेशि तथा विदेशी पईटकको मन पनि लोभ्याउने पक्का छ। 
 
के मह स्वास्थ्य वद्र्धक छ त? 
अन्य मौरीको महभन्दा भिरमौरीको मह स्वास्थ्यका दृष्टिकोणले महत्वपूर्ण मानिन्छ भिरमौरीको महलाई शक्तिवद्र्धक तथा यौनवद्र्धक अचुक औषधिको रुपमा पनि चिनिन्छ। तर यसको सेवनमा भने ध्यान दिनु जरुरी हुन्छ। वनपाखामा विभिन्न फूलको रस समायोजना हुने भएकाले एकै पटकमा धेरै खाँदा पखाला लाग्ने टाउको दुख्ने जस्ता समस्या आउन सक्ने हुन्छ। 
प्रतिलिटर १२ सय रुपैयाँ भन्दा महंगो हुने यो भिर मौरिको मह दम, नशा, ढाडसम्बन्धि रोगको औषधिका रुपमा प्रयोग गरिन्छ। त्यस्तै पाठेघर समस्या, निमोनिया, पिनास, विष नाशक, पेट रोग, हड्डीसम्बन्धि समस्याको निदानमा पनि मह सेवन उत्तम मानिन्छ। 
भिर मौरीले विभिन्न जडीबुटिवाट मह बनाउने भएकोले महलाई औषधिका रुपमा सेवन गरिएको हो। भिर मैरीले पाखानवेद, पदमचाल, ठूलो ओखती, वृषजरा, सुगन्धवाल, चुथ्रो, कटुस, चिराइतो, मान्द्रे, बलु, हतिचुड, विभिन्न सुनाखरी प्रजातिका वनस्पति लगाएत विभिन्न जडीबुटीको फूलको रसबाट मह बनाउने मान्यता रहेको छ। 
 
त्यसो भय कसरी निकालिन्छ मह? 
डोरिको भर्याङ (जसलाई स्थानिय भाषामा पराङ भनिन्छ) मार्फत भिरमा पसेर मह निकालिन्छ। डोरीकै साहारामा बाँसको थूम्से, थाली वा डालीमा मह थापिन्छ। मह भरिएपछि डोरीकै सहायतामा भिर भन्दा माथि वा तल ठाउँअनुसार भुईमा झारिन्छ। मह निकाल्न मुख्य सिकारी वाहेक अन्य १० देखि १५ जना सहयोगी चाहिने गर्दछ। अग्लो भिरको माथि पट्टी पराङलाई अड्याएर तल भिरमा झरिन्छ मा माथि उल्लेखित कार्य गरिन्छ। वर्षमा दुई पटक मंसिर, पुस तथा बैसाख र जेठमा मह निकाल्ने चलन रहेको छ। सो समयमा मौरीले मह संकलन गर्ने भएकोले सो समय छनौट गरिएको हो। परम्परागत रुपमा मह झिकिँदै आएको छ जसको कारण चाका सवै नष्ट हुँदा मौरिका नयाँ वच्चाहरु क्षती हुने गर्दछ। 
 
Top