• ८ बैशाख २०८१, शनिबार
  • १७:४८:४३

Now: आफ्नै पाखा आफ्नै भाका

Next: नेपाल खवर

राष्ट्रिय सहकारी बैंकद्वारा सुदुरपश्चिम प्रदेशका दुई सहकारी पुरस्कृत

बागलुङ । राष्ट्रिय सहकारी बैंकले सदुरपश्चिम प्रदेशका २ वटा सहकारीहरुलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई बुधवार एक कार्यक्रमका बीच पुरस्कृत गरिएको हो ।     

बैंकको धनगढी शाखामा उत्कृष्ट कारोबार गर्ने मेघा बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढी कैलाली नियमित कारोबार गर्ने दिपज्योती महिला विकास कृषक सहकारी संस्था लिमिटेड महेन्द्रनगर कञ्चनपुरलाई पुरस्कृत गरिएको हो ।

मेघा साकोसका सञ्चालक कान्तुराम पनेरु र प्रमुख कार्यकारी अधिकृत सुनिल सेटी तथा दीपज्योती महिला सहकारीका अध्यक्ष जोधनी देवी चौधरी र व्यवस्थापक गुरुप्रसाद थारुलाई बैंकका सञ्चालक तथा सुदुरपश्चिम प्रदेश संयोजक शिवा थापाले सम्मानपत्र सहित पुरस्कृत गर्नु भएको थियो ।     

सहकारी बैंकले केन्द्रीय स्तर, प्रदेश स्तर र शाखा स्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरुलाई पुरस्कृत गर्दै आएको छ । १६ औ वार्षिक साधारणसभामा शाखास्तरीय पुरस्कारका लागि छनोट भएका संस्थालाई कोरोना संक्रमणका कारण ढिला पुरस्कृत गरिएको बैंकले जनाएको छ ।

सुदुरपश्चिम प्रदेशको एकमात्र शाखाका रुपमा रहेको धनगढी शाखामा ३ सय सहकारी संस्था सदस्य रहेका छन् । सदस्य संस्थाहरुको ६१ करोड निक्षेप र ५० करोड कर्जा लगानीमा रहेको शाखा प्रमुख रावलले जानकारी दिनुभयो । राष्ट्रिय सहकारी बैंकलाई नेपाल राष्ट्र बैंकले थप २४ वटा शाखा सञ्चालनका लागि अनुमति दिएको छ ।

सुदुरपश्चिम प्रदेश अन्तरगत कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा सञ्चालनका तयारी अन्तिम चरणमा पुगेको बैंकका सञ्चालक थापाले जानकारी दिनुभयो । नयाँ शाखा सञ्चालन पछि सुदुरपश्चिम प्रदेशमा बैंकका २ वटा शाखा सञ्चालन हुनेछन् ।         
 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै