समचार

स्वास्थ्यका यी कर्मचारी अब स्थानीय तहमा

६ असार ।  सरकारले पहिलो चरणमा निर्वाचान सकिएका स्थानीय तहमा कर्मचारीको व्यवस्थापनको काम अघि बढाएको छ। जसअन्तर्गत पहिलो चरणमा शिक्षा र स्वास्थ्यका कर्मचारीको व्यवस्थापनको काम अघि बढेको हो। 

 

जनतासँग प्रत्यक्ष सरोकार राख्ने र जनसरोकारका विषय भएको भन्दै पहिलो चरणमा स्वास्थ्य र शिक्षा मन्त्रालय मातहतका कर्मचारीको व्यवस्थापन अघि बढाइएको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ। मुख्यसचिव सोमलाल सुवेदीको अध्यक्षतामा बसेको सचिवहरुको बैठकले यो विषयमा आवश्यक निर्णय समेत गरिसकेको छ।

 

नयाँ संघीय संरचनालाई कार्यान्वयनमा ल्याउँन बैठकले स्वास्थ्य मन्त्रालय अन्तर्गतका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी तथा आयुर्वेद औषधालयमा कार्यरत कर्मचारीलाई स्थानीय तहमा नै खटाउने भएको छ। ति निकायको जिम्मेवारी स्थानिय तहलाई दिइसकेकाले हाल त्यहाँ कार्यरत कर्मचारी पनि स्थानीय मातहत खटाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

 

‘हालको नयाँ संरचना अन्तर्गत परेका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरु सबैलाई त्यहीँको स्थानीय तहमा नै खटाइएको छ,’ मूख्य सचिव सोमलाल सुवेदीले भने, ‘पहिलो चरणमा त्यही कार्यरत कर्मचारीलाई खटाइएको छ र नपुगेको खण्डमा उक्त स्थानीय तह नजिकैको माथिल्लो कार्यालयबाट पनि खटाउन सकिने छ।’

 

नयाँ संरचना अनुसार कार्यालयमा कार्यरत कर्मचारीसहित चलरअचल सम्पत्ति पनि स्थानीय तहमै समायोजन गर्न लागिएको छ। सरकारले सोही अनुसार स्थानीय तहमा स्वास्थ्यका कार्यक्रम र बजेट समेत स्थानीय तहलाई नै दिइसकेको छ। 

 

स्वास्थ्य मन्त्रालयकी निमित्त सचिव डा। किरण रेग्मीका अनुसार स्थानीय तहमा औषतमा १४ करोड हाराहारीमा बजेट समेत बिनियोजन भैसकेको छ। ‘उक्त बजेट स्थानीय तहमा हस्तान्तरण भएका कार्यक्रमहरु र कर्मचारीको तलब तथा सेवासुविधामा खर्च हुने छ’ उनले भने, ‘स्थानीय तहमा स्वास्थ्यका धेरै कार्यक्रमहरु दिइएको छ।’

 

डा। रेग्मीका अनुसार स्थानीय तहमा जिल्ला स्वास्थ्यका कार्यक्रम र बजेट स्थानीय तहमा दिइएको छ। जस अन्तर्गत मातृशशिु, पोषण, खोप, औलो रोग नियन्त्रण, अस्पतालहरुको सेवा सुदृढिकरण, दुर्गम जिल्ला टेलिमेडिसिन कार्यक्रम, परिवार स्वास्थ्य कार्यक्रम, औषधि, भ्याक्सिन, सामग्री रिप्याकिङ तथा ढुवानी बापतको खर्च रहेका छन्।

 

यस्तै, प्राथमिक स्वास्थ्य सेवाप्रदायक संस्थाहरु, स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र उपचौकीहरु तथा आयुर्वेद औषधालयहरुको सञ्चालन खर्च र तिनमा कार्यरत कर्मचारीहरुको तलबभत्ता बापतको रकम स्थानीय तहमा हस्तान्तरण गरिएको छ। 

 

जिल्ला अस्पतालहरुको कार्यक्षेत्र भने यथावत राखिएको छ। तर, जिल्ला अस्पतालको सञ्चालन खर्च तथा कर्मचारीहरुको तलबभत्ता बापतको रकम पनि स्थानीय तहमा नै दिइएको छ। नयाँ कार्यक्रम अनुसार प्राथमिक स्वास्थ्य केन्द्रहरु मार्फत कार्यान्वयन हुने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार कार्यक्रम, क्षयरोग नियन्त्रण कार्यक्रम तथा आयुर्वेद सेवा कार्यक्रमको सञ्चालन बापतको रकम कार्यक्रम सहित स्थानीय तहमा पठाइएको छ।

 

नयाँ संरचना अनुसरका स्थानीय तहमा तत्काल काम अघि बढाउन सामान्य प्रशासन र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको संयोजनमा यससम्बन्धी प्रक्रिया अघि बढाइएको स्थानीय विकास मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीले जानकारी दिए। 

प्रवीण ढकाल बाट

Top