• २३ भदौ २०८१, आइतबार
  • ०६:४८:३२

Now: राष्ट्र र सँगीत

Next: सारथी हालचाल

महिनावारीको समयमा कसरी स्वास्थ रहने

आज मे २८ तारिख ‘महिनावारी स्वच्छता व्यवस्थापन दिवस’ यो दिवस सन २०१४ मा जर्मनीको ‘वास युनाइटेड’ नामक संस्थाले नामाकरण गरेको हो । महिलाहरुको महिनावारी चक्र २८ दिनको हुने भएकोले मे २८ तारिखलाई दिवसको लागि रोजिएको हो ।

महिनावारीसम्बन्धी भ्रम र अन्धविश्वास हटाई जनचेतना जगाउन सन २०१४ देखि प्रत्येक वर्ष मे महिना लाई महिनावारी सरसफाई महिना र मे २८ लाई महिनावारी सरसफाई दिवसका मनाउन थालिएको हो ।

प्रत्येक दिन विश्वभरिका करिब ८० करोड १५ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलालाई रजस्वला हुदाँ एक महिला आफ्नो जीवनकालमा झण्डै ५ सय पटक महिनावारी हुने गर्छन । महिलामा हुने इस्ट्रोजेन तथा प्रोजेस्टेरोन जस्ता रागरसहरू (हर्मेन) को प्रभावका कारण महिनावारी प्रक्रिया सुरु हुन्छ ।

महिनावारीको एक पूरा चक्र औसतमा २८ दिनको हुन्छ । तर कुनै कुनै महिलामा भने एकपटकको महिनावारीबाट अर्काे पटकको महिनावारी बिचको सयम फरक पर्न पनि सक्छ । तर महिनावारी २१ दिन वा ३५ दिनमा भए पनि त्यसलाई सामान्य नै मान्न सकिन्छ । महिनावारी सुरु हुनु करिब १२ देखि १६ दिनअघि डिम्बाशयबाट एउटा डिम्ब निस्कन्छ ।

यसलाई अंग्रे्रजीमा ओभुलेसन भनिन्छ । नियमित महिनावारी हुँदा रगत आउने औसत समय करिब ५ वा ७ दिनसम्मको हुन्छ । महिलाको रगत आउने प्रक्रिया, प्राय पहिलो र दोस्रो दिनमा बढी हुन्छ ।

किन हुन्छ ? महिनावारी अनियमित

महिलाहरूको शरीर संवेदनशील हुने हुँदा धेरै चिन्ता, तनाव वा बिरामी भए पनि महिनावारी केही हप्ता अगाडि पछाडि हुन सक्छ । धेरै महिलामा पहिलो पटक महिनावारी हुँदा, पहिलो वर्षमा महिनावारी अनियमित हुने गर्छ । 

शारीरिक परिपक्वतामा नपुगे पनि पहिलोपटक महिनावारी भएपछिको एक–डेढ वर्षसम्म महिनावारी नहुने वा अनियमित हुन सक्छ । महिनावारी ढिलो वा छिटो गराउन हर्मोनल औषधी सेवन गर्दा पनि महिनावारी अनियमित हुन सक्छ । परिवार नियोजनको रुपमा औषधी सेवन गर्नेहरुले बीचमै छाड्दा पनि महिनावारी गडबड हुन्छ ।

गर्भपतन गराउँदा, सुत्केरी हुँदा र सालबाट उत्पन्न हुने ट्युमरहरुका कारण पनि महिनावारी अनियमित हुन्छ । यौन अंगमा संक्रमण वा प्रजनन अंगमा ट्युमर पलाउँदा महिनावारी अनियमित हुन सक्छ । थाइरोइड हर्मोन बढी वा कम भएमा पनि महिनावारी अनियमित हुनसक्छ । महिनावारी बन्द हुने क्रममा (रजनोवृत्ति) पनि रजस्वला अनियमित हुने गर्छ ।

तसर्थ महिनावारी अनियमित भएमा चिकित्सकसँग जाँच गर्ने र विशेषज्ञको सल्लाहबिना कुनै हर्मोन वा औषधी सेवन गर्नुहुँदैन । हरेक महिना महिलाको डिम्बाशयबाट डिम्ब निस्केर डिम्ब पाठेघरसम्म आउँछ । उक्त समयमा डिम्बलाई शुक्रकीटले निषेचित गरे र निषेचित भएमा महिला गर्भवती हुन्छिन ।

यदि डिम्बको शुक्रकीटसँग मिलन भएन भने बच्चा हुर्काउनका लागि पाठेघरको भित्तामा बनिरहेको रगतको तह रोकिन्छ र नियमित महिनावारी प्रक्रिया सुरु हुन्छ । महिनावारीको समय पूरा भइसकेपछि पनि अनियमित रुपमा रगत बगेमा त्यसलाई महिनावारी भन्न मिल्दैन ।

यस्तो अवस्था भजाइनल एट्रोफी, एट्रोफिक इन्डोमेट्राइटिस वा पाठेघरको मुखको क्यान्सर भएको पनि हुन सक्छ । योनीमार्गको सतह पातलो भई रक्तकोषिका फुटेर रगत जानुलाई चिकित्सकीय भाषामा ‘भजाइनल एट्रोफी’ भनिन्छ । पाठेघरभित्रको सतह पातलो भएर रगत बग्नुलाई ‘एट्रोफिक इन्डोमेट्राइटिस’ भनिन्छ ।

हरेक महिना हुने महिनावारीबारे महिलाले सही समयमा नै जानकारीे भए पछि ठूलो समस्या झेल्नु पर्दैन । तसर्थ यस्ता समस्या परेमा ढिलासुस्ती नगरी चिकित्सकलाई जचाउनु उपयुक्त हुन्छ । 

आफू कुन मितिमा महिनावारी भइयो भनेर थाहा पाइ राख्न र महिनावारी किन भएन भनी चिन्तामा नबस्नलाई आफ्नो महिनावारीको मिति क्यालेन्डरमा वा डायरीमा लेखी राख्नु राम्रो हुन्छ र सोही अनुरुप आफू विद्यालय, कलेज, काम वा कहीँ कतै जाँदा पनि पूर्वतयारीका साथ हिँड्दा उपयुक्त हुन्छ । 

धेरैजस्तो महिलामा पहिलो महिनावारी १२ देखि १४ वर्षको उमेरमा हुन्छ तर आजकल खानपिनको प्रभावका कारण पनि युवतीहरूमा छिटो ९ वर्षको उमेरमा नै र कुनै कुनैमा ढिलो १६ वर्षको उमेरमा महिनावारी भएको पाइन्छ । 

यसलाई सामान्य नै मान्न सकिन्छ तर यदि महिनावारी हुनुपर्ने सामान्य वर्षभन्दा ढिला भएमा डाक्टर वा स्वास्थ्यकर्मीसँग सल्लाह सुझावसहित उपचार सेवातर्फ लाग्नुपर्छ ।  महिनावारी स्वच्छताको विषयमा नेपाली समाज अझै पनि पिछडिएको छ ।

केही सांस्कृतिक र सामाजिक मूल्य मान्यताको प्रभावले गर्दा पनि महिनावारी स्वास्थमा नकारात्मक असर परेको पाइन्छ ।

महिनावारी हुँदा कसरी गर्ने स्वास्थको ख्याल

ग्रामीण भेगमा अझै पनि महिनावारी भएको बेला गोठमा सुताउने र प्राय ३ दिनमा अथवा ४ दिनमा मात्र नुहाउने नियम छ तर महिनावारी हुँदा दिनहुँ सरसफाइमा ध्यान दिन आवश्यक हुन्छ । 

सरसफाइमा ध्यान दिन नसक्दा पछि पाठेघरमा क्यान्सर, यौनांगमा संक्रमण भई चिलाउने, नराम्रो गन्ध आउने, पिसाबसम्बन्धी संक्रमण, मूत्र पथ संक्रमण र प्रजनन अंगमा ब्याक्टेरियाको र ढुसीको संक्रमणजस्ता समस्या आउन पनि सक्छन । 

सहरी क्षेत्रमा महिलाहरूले प्राय प्याडको नै प्रयोग गर्ने गरेको पाइन्छ तर उचित तरिकाले प्रयोग गर्न नसक्दा भने प्याडबाट अनेकौं असुरक्षा हुन पनि सक्छ । पछिल्लो समयमा केही स्यानीटरी प्याडमा हानिकारक रसायनको प्रयोग भएको पनि पाइएको छ ।

तसर्थ स्यानिटरी प्याड किन्दा के के प्रयोग भएको छ, गुणस्तरको कस्तो छ, म्याद कति समयको हेरेर किन्नु पर्छ । जसको उचित जानकारी इन्टरनेटबाट पनि थाहा पाउन सकिन्छ । ग्रामीण भेगमा भने महिनावारीको समयमा प्याड भन्दा कपडा नै प्रयोग गर्ने गरेको पाइन्छ ।

कुनै भेगमा त प्रयोग गरेको कपडा धोएपछि सूर्यलाई देखाउनु हुँदैन भन्ने अन्धविश्वास वा अरुले देख्छन कि भन्दै असहज मानेर राम्रोसँग घाममा सुकाउँदैनन, यसो गर्दा कपडा मा भएको परजीवी नष्ट नहुन सक्छ र अर्को पटक प्रयोग गर्दा किटाणु संक्रमणको जोखिम रहन्छ । प्रयोग गरिने कपडा सफा, नरम र सुतीको हुनुपर्छ ।

नाइलन र पोलिस्टरको कपडा प्रयोग गर्नुहुँदैन । संक्रमणबाट बच्न स्यानिटरी प्याड, टेम्पुन वा कपडा प्रत्येक ४ घन्टामा फेर्नुपर्छ । प्याड वा टेम्पुन एकपल्ट प्रयोग गरिसकेकपछि कागजमा बेरेर सुरक्षित ठाँउमा फाल्नुपर्छ भने फेरि प्रयोग गरिने कपडा भए साबुन पानीले धोएर घाममा सुकाइ जीवाणु नाश गर्नुपर्छ ।

खुट्टा कटकटी खाने, टाउको दुख्ने, ढाड दुख्ने, स्तन भारी भएजस्तो हुने, डन्डीफोर आउने, तल्लो पेट दुख्ने, वाकवाकी लाग्ने, रिस उठिरहने, झर्को लाग्ने, पखला लाग्ने वा कब्जियत हुने, काम गर्न अल्छी लाग्नेलगायत समस्या महिनावारी हुनुभन्दा केही दिन अगाडि वा महिनावारी भएको बेला धेरैे महिलालाई हुने गर्दछ तसर्थ महिनावारीको समयमा शारीरिक र मानसिक दुबै स्वास्थको ख्याल गर्नु आवश्यक हुन्छ । 

यस्ता सबै समस्याहरु शरीरमा भएको रागरस (हर्मोन) को मात्रामा परिवर्तन आउने गर्दा हुने गर्छ । यस्ता लक्षणहरू महिनावारी हुने बेला देखिनु सामान्य नै हो त्यसैले चिन्ता गर्नु वा डराउनु पर्दैन तर महिनावारी हुँदा दुखाइ हुने पाठेघर खुम्चिने र फुक्ने भएकाले पनि हो । 

यस्ता सम्स्याहरुमा घरेलु उपचार गर्न पनि सकिन्छ । दुखेको ठाँउमा हलुका मालिस गर्ने, सेक्ने गर्नाले आराम मिल्छ । यस्ता लक्षणहरू महिनावारी हुने बेला देखिनु सामान्य नै हो त्यसैले चिन्ता गर्नु वा डराउनु पर्दैन । तर नियमित भन्दा धेरै नै रगत बगिरहने समस्या भएमा रक्तअल्पता हुन सक्ने सम्भावना भएकाले चिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ । 

महिनावारीको बेला कस्ता खानेकुरा खाने

रजस्वला हुँदा कमजोरी महसुस हुने भएकाले सामान्य अवस्थामा भन्दा बढी पौष्टिक आहार खानुपर्छ र अन्य समयभन्दा बढी आराम गर्नुपर्छ । महिनावारी हुँदा तरल पदार्थ बढी सेवन गर्ने र नियमित रुपमा आइरन, भिटामिन र जति सक्दो तातो पानी, सुपका साथै अन्य गेडागुडीको झोल, हरियो सागसब्जी खानुपर्छ जसले शरीरलाई कमजोर हुन दिँदैन ।

महिनावारीको सरसफाइ राम्रो नभएमा कस्ता जोखिम हुन्छ  

१. फोहोर महिनावारी सामाग्रीको प्रयोगले योनीदेखि पाठेघरसम्म संक्रमण हुन सक्छ । 
२. महिनावारीको सामाग्री (प्याड वा कपडा) समयमै परिवर्तन नगरेमा चिसो प्याडको कारणले किटाणुको संक्रमणलाई बढाउँछ, जसले गर्दा छालामा चिलाउने र घाउ आउनेसम्म हुन सक्छ । 
३. योनी भित्र फोहोर सामाग्री छिराएमा पाठेघरको संक्रमण हुन सक्छ । 
४. ट्याम्पनको लामो प्रयोगले टक्सिक सक सिन्ड्रोम हुन सक्छ । 
५. योनी सफा गर्दा पछाडिबाट अगाडि गरियो भने मलद्वारको जीवाणु योनीमा आएर संक्रमण गराउँन सक्छ । 
६. महिनावारीको समयमा प्रयोग भएको सामाग्री राम्रोसँग डिस्पोजल नगरिएमा र साबुन पानीले हात नधोएमा रगतबाट सर्ने रोगजस्तै हेपटाईटीस बी र एचआईभीजस्ता रोग लाग्न सक्छ । 
७. योनी भित्र पानी हालेर सफा गर्न खोज्दा पानीमा रहेको जीवाणुले संक्रमण बढाउन सक्छ । 

महिनावारी हुँदा गर्नुपर्ने कार्यहरु

१. विहान साँझ साबुनपानीले यौन अंग सफा गर्ने ।
२. सफा सामाग्री प्याड वा कपडा प्रयोग गर्ने, बायो प्याडको प्रयोग गर्दा आफूलाई साथै वातावरणलाई पनि फाइदा हुन्छ । बायोप्याड सफा गरी पटक—पटक प्रयोग गर्न सकिन्छ । आर्थिक रुपले बचत हुने र वातावरणमा कुहिने हुन्छ ।
३. योनी सफा गर्दा अगाडिबाट पछाडि सफा गर्ने, प्रत्येक ४ देखि ६ घन्टाको फरकमा वा आवश्यकताअनुसार महिनावारीको सामाग्री परिवर्तन गर्ने । 

महिनावारी हुँदा देखिने सामान्य समस्याको घरेलु व्यवस्थापन कसरी गर्ने ?

१. दुखाइ कम गर्न तातोले सेक्ने, व्यायाम गर्ने, चिल्लो पिरो क्याफिन रक्सी चुरोट सेवन नगर्ने । 
२. केरामा पोटासियमको मात्र रहने हुनाले तल्लो पेटको दुखाइ कम गर्न यसको सेवनले मद्दत गर्दछ । 
३. अदुवा र कागती पानीको सेवनले दुखाई कम गर्न र संक्रमण कम गर्न मद्दत गर्दछ । 
४. कालो वा खैरो रगत देखिनु : प्राय धेरैलाई कालो वा खैरो रगत देखिँदा डराउने चलन छ । यस्तो रगतको प्रकृति सामान्य नै हो, डराउनु पर्दैन । अमेरिकन एकेडेमी अफ अब्स्ट्रेटिसियन र गाइनेकोलोजिस्टका अनुसार महिनावारी चक्रको अवधिअनुसार रगतको रंग परिवर्तन हुन्छ भनिएको छ । पाठेघरबाट रगत बग्न समय लाग्यो वा ढिलो बग्यो भने पनि अक्सिजनसँग मिल्न गई रगत कालो वा खैरो हुन सक्छ, जुन सामान्य नै हो ।
५. महिनावारी हुनु अगाडि वा भएको समयमा दिक्क लाग्ने, खिन्नता बढ्ने आदि मानसिक समस्या भएमाः हर्मोनल परिवर्तनको कारणले यस्तो हुन गएको पनि हुन सक्छ । यस्तो अवस्थाले महिनावारी हुनुभन्दा ५ देखि ११ दिन अगाडिबाटै ‘प्रिमेन्चुरल सिन्ड्रोम’ देखिन्छ । यो बेलामा इस्ट्रोजन र प्रोजेस्टेरोनको मात्र बढ्न गइ सेरोटोनिनको मात्रामा गडबढी हुन जान्छ र यस्तो हुन्छ । यस्तो समस्याको जटिलता बढ्यो भने २/३ प्रतिशत महिलामा मानसिक समस्या पनि आउन सक्छ । जसका लागि एकान्तमा बसेर एक्लोपन महसुस गर्नु ठीक हुँदैन ।

महिनावारीको बेलामात्र होइन, महिला पुरुष दुवैले प्रजजन स्वास्थ्य राम्रो राख्न सरसफाइमा सधैं ध्यान दिनु आवश्यक छ जसले गर्दा विभिन्न प्रकारको संक्रमणबाट बच्न सकिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र युनिसेफ ज्वाइन्ट मोनिटरिङ प्रोग्राम २०१४ अनुसार महिला र किशोरीहरुले आफ्नो स्वच्छ महिनावारी व्यवस्थापनका लागि प्रयोग हुने सामाग्रीको मद्दतले रगत सोस्ने वा संकलन गर्ने र आवश्यताअनुसार परिवर्तन गर्न सक्ने, साबुन पानीको प्रयोग गरी आवश्यताअनुसार शरीर सफा गर्न सके र प्रयोग गरिएको सामाग्रीहरुको फोहोर मैला सुरक्षित किसिमले व्यवस्थापन गरिएमा त्यसलाई महिनावारी स्वच्छता व्यवस्थापन भनिन्छ । 


सुदिप रञ्जन यादव । बागलुङ बडिगाड गाँउपालिका २ खर्वाङकाे आधारभुत स्वास्थ्य सेवाकेन्द्र खर्वाङमा सेवाकेन्द् प्रमुखकाे रूपमा कार्यरत छन । 

प्रतिकृया दिनुहोस