बागलुङमा सबैभन्दा कम बेरुजु गल्कोट नगरपालिकामा, बढि जैमिनीमा

बागलुङ: आर्थिक वर्ष २०८०/०८१ मा गलकोट नगरपालिका बागलुङमा सबैभन्दा कम बेरुजु देखिने पालिका बनेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गलकोट नगरपालिकाको १ करोड १८ लाख ७२ हजार रुपैयाँ ०.७१ प्रतिशत बेरुजु देखिएको हो । लेखा परीक्षण गराएको रुकमका आधारमा सबैभन्दा बढी बेरुजु जैमिनी नगरपालिकामा देखिएको छ । जैमिनीना ६ करोड ७ लाख १६ हजार रुपैयाँ अर्थात ३.५१ प्रतिशत बेरुजु देखिएको छ । कम बेरुजु पर्नेमा बरेङ गाउँपालिका पनि पर्छ । बरेङ गाउँपालिकाको ७७ लाख ७७ हजार रुपैयाँ अर्थात ०.९६ प्रतिशत बेरुजु देखिएको छ ।
प्रतिवेदन अनुसार बडिगाड गाउँपालिकाको १ करोड ७३ लाख ६३ हजार रुपैयाँ अर्थात १.०८ प्रतिशत, निसीखोला गाउँपालिकाको १ करोड ४८ लाख २६ हजार रुपैयाँ अर्थात १.३७ प्रतिशत, बागलुङ नगरपालिकाको ४ करोड ४५ लाख ७९ हजार रुपैयाँ अर्थात १.६४ प्रतिशत बेरुजु देखिएको छ । तमानखोला गाउँपालिकाको १ करोड २० लाख ९० हजार रुपैयाँ अर्थात १.८५ प्रतिशत, ढोरपाटन नगरपालिकाको ६ करोड ७ लाख १६ हजार रुपैयाँ अर्थात २।०७ प्रतिशत, काठेखोला गाउँपालिकाको ३ करोड ९७ लाख ११ हजार रुपैयाँ अर्थात २.९८ प्रतिशत र ताराखोला गाउँपालिकाको २ करोड २८ लाख ४५ हजार रुपैयाँ अर्थात ३.०८ प्रतिशत बेरुजु देखिएको छ ।
बागलुङ जिल्लाभर २५ करोड ७२ लाख रुपैयाँ बढी बेरुजु देखिएको छ । जैमिनी नगरपालिकाको रु १ अर्ब ७२ करोड ७७ लाख ६८ हजार रुपैयाँको लेखापरीक्षण गरेको थियो । गलकोट नगरपालिकाको १ अर्ब ६७ करोड २० लाख ७५ हजार रुपैयाँ, बागलुङ नगरपालिकाको २ अर्ब ७२ करोड २२ लाख ७३ हजार रुपैयाँ, ढोरपाटन नगरपालिकाको १ अर्ब २२ करोड ८२ लाख ८५ हजार रुपैयाँ, काठेखोला गाउँपालिकाको १ अर्ब ३३ करोड ५ लाख ४३ हजार रुपैयाँ, तमानखोला गाउँपालिकाको ६५ करोड २४ लाख ४६ हजार रुपैयाँ, ताराखोला गाउँपालिकाको ७४ हरोड १७ लाख २४ हजार रुपैयाँको लेखा परीक्षण भएको थियो ।
निसीखोला गाउँपालिकाको १ अर्ब ८ करोड ५१ लाख १५ हजार रुपैयाँ, बडिगाड गाउँपालिकाको १ अर्ब ६१ करोड १३ लाख ८४ हजार रुपैयाँ र बरेङ गाउँपालिकाको ८१ करोड १३ लाख ८४ हजार रुपैयाँ लेखापरीक्षण गरेको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले आनवश्यक खर्च न्यूनिकरण गरेपछि बेरुजु कम भएको बताउनुभयो । प्रशासनिक भवनको काम समयमै नसकिदा पेश्की फछ्यौट नहुँदा १ करोड १८ लाख ७२ हजार रुपैयाँ बेरुजु देखिएको उहाँको भनाइ छ ।
गलकोट नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ मा ०.०८ प्रतिशत बेरुजु थियो । जुन गण्डकी प्रदेशको सबैभन्दा कम थियो ।
प्रतिकृया दिनुहोस