• ६ जेठ २०८२, सोमबार
  • १३:५२:२७

Now: Music Express

Next: थाहा अपडेट

सोखको कामबाटै मनग्गे दाम कमाइरहेका नरबहादुर र प्रदीप

गुल्मी । जिल्लाकाे सदरमुकाम तम्घासका भित्तामा ४४ वर्षीय नरबहादुर विके र ३८ वर्षीय प्रदीप थारूले कोरेका चित्रले धेरैलाई लट्ठ बनाएको छ । उहाँहरूले दुई पटक गरेर करिब एक महिना तम्घासमा चित्र कोरिरहनुभएको छ ।

चित्र कोर्ने दुवै जनाको सोख हो । जिल्ला प्रशासन कार्यालय गुल्मीको भित्तामा रेसुङ्गामा रहेका विभिन्न धार्मिक आस्थासँग जोडिएका आकर्षक तस्बिर बनाइरहनुभएको छ । सरावल गाउँपालिका–३ का विकेले मूर्तिकलामा स्नातकोत्तर गर्नुभएको छ । सुनवल नगरपालिका–९, स्वाँठीका थारूले कक्षा ८ उत्तीर्ण गरेर घरायसी अवस्थाले पढ्न पाउनुभएन ।

विकेले चित्र र मूर्तिको व्यावसायिक काम गर्न थालेको २५ वर्ष भयो भने थारूले दुई दशकदेखि चित्र कोरिरहनुभएको छ । धेरै युवाले काम नपाएर परदेश रोजे पनि यी दुईले भने स्वदेशमै मासिक रूपमा करिब एक लाख आम्दानी गरिरहनुभएको छ । रेसुङ्गाको भित्तामा धार्मिक पहिचान झल्काउने चित्रहरू यतिबेला ब्रगेल्ती देख्न पाइन्छ ।

भगवान् रामले वाण हानेर पानी निकालेको, सागर मन्थनबाट जटायुले अमृत लिएर हिँड्दा एक थोपा रेसुङ्गामा खसालेको, रेसुङ्गा मन्दिरलगायतका चित्रले नगरपालिकाका बासिन्दालाई मात्र होइन, यहाँ आउने पर्यटकलाई पनि लोभ्याउने खालका छन् ।

प्रतिस्क्वायर फिट ३७५ रुपियाँमा नगरको काम गरिरहेको विके आर्ट ग्यालरीका सञ्चालकसमेत रहनुभएका विके सानैमा मूर्ति बनाउन थालेपछि चित्रकलामा रमाउन थाल्नुभएको हो । एसएलसी दिनेबित्तिकै बुटवलको साइनबोर्ड पसलमा काम गर्न पुग्नुभएका विके चलचित्रका पोस्टर देखेर काठमाडौँ पुग्नुभयो ।

पशुपतितिर घुम्दा दोस्रो दिन नै पोस्टर बनाउने ठाउँ भेटिएपछि उहाँले ललितकलामा स्नातकोत्तर पढ्ने रहरसमेत पूरा गर्नुभयो । उहाँले कोर्ने क्यान्भासमा हिमाल, नदी र मन्दिरलगायत पर्यटकीय क्षेत्र पर्यटकको आकर्षणमा पर्ने गरेका छन् । विकेले सामान्य पाँच सयदेखि साढे दुई लाखसम्मका तस्बिर बिक्री गरेको बताउनुभयो ।

विके जस्तै थारू पनि चित्रकलामा अब्बल हुनुहुन्छ । थारू १५ वर्षको हुँदा नै बुवा बितेपछि पाँच जनाको परिवार पाल्ने जिम्मा थारूको काँधमा आएपछि उहाँले केही समय विदेशको अनुभव पनि सँगाल्नुभयो । हाल चित्रकलालाई नै मुख्य पेसा बनाउनुभएका थारूले मासिक रूपमा कम्तीमा एक लाख कमाइ गर्ने उहाँले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै