• २० बैशाख २०८१, बिहीबार
  • १८:३६:१७

Now: सालौजो र रोइला भाका

Next: सारथी हालचाल

पैसा कमाउन र चर्चाका लागि गाइने गीतमा के सन्देश हुन्छ र ? न्यौपाने

काठमाडौं । तीज एउटा धार्मिक परम्परा, सांस्कृतिक हिसाबले महत्वपूर्ण पर्व हो । तीजलाई धार्मिक हिसाबले विशेष ‘महिला दिदीबहिनीको महान पर्व’ भनेर हामीले मान्दै आएका छौँ । पढ्दै र बुझ्दै आइरहेका छौँ । 

तीजको रौनकता तीज विशेष गीतले पनि थपिन्छ । तीजमा गीतको अपरिहार्यता विशेष मानिन्थ्यो । गीत एउटा खबर आदानप्रदान र सञ्‍चारको माध्यम थियो । अहिले सुगमताले त्यो पाटोलाई केही अंगिकार गरेको देखिन्छ । सञ्‍चारमाध्यमका एक अंश तीजका गीतलाई लिइन्थ्यो । जसमा महिला दिदीबिहिनीले आफ्ना र परिवारका विषयमा चर्चा गर्ने माध्यम थियो ।  

तीजका गीतमा प्रसंग र पात्रसँग जोडेर विषय उठान हुन्थे । विषयको गाम्भीर्यता हेरिन्थ्यो । पछिल्लो समयमा भने यदि राता सारी लगाएर भिडियो छायाङ्‌कन नगर्ने हो भने यी तीज गीत हुन् कि अन्य के हुन् भन्नुपर्ने अवस्था आएको छ । यो अवस्था सच्याउन आवश्यक छ ।

विभिन्न प्रकारका पर्व विशेष, क्षेत्र विशेष, धार्मिक परम्परा बोकेका नेपाली मौलिक गीतलाई संरक्षण हुनुपर्ने देखिएको छ । त्यसमाथि तीज गीतको नाममा संस्कृति मास्ने काममा कलाकार स्वयम्‌ सक्रिय रहेका छन् । 

लामो समय नेपाली लोकदोहोरी र तीज गीतमा स्वर दिदैँ आएका वरिष्ठ गायक एवम्‌ सर्जक पुरूषोत्तम न्यौपानेले हाम्रो संस्कार र संस्कृति पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने दायित्व अहिलेको पुस्ताको रहेको बताउँछन् । संस्कृतिलाई बिगारेर होइन, राम्रो बनाएर हस्तान्तरण गर्नुपर्ने न्यौपानेको भनाइ छ ।

न्यौपानेले प्रजापति पराजुलीको शब्द संकलनमा रहेको बेदनाको पोको भाग १ बाट तीजका गीतमा स्वर भर्न थालेका हुन् । बेदनाको पोका ७ भागसम्म उनले स्वर भरे । त्यस बाहेक उनले असंख्य तीजका भाकामा स्वर दिएका छन् । उनी विगत लामो समयदेखि लोकदोहोरी, धार्मिक, सांस्कृतिक, सामाजिक तथा मौलिक गीतलाई प्रवर्द्धन र सम्वर्द्धन गर्दै आएका छन् । 

उनीसँग विगतमा गाउने तीजका गीत र अहिले सिर्जना भइरहेका गीतहरूबारे चर्चा गरेका छौँ । तीज गीत, गीतको मर्म गइरहेको स्थिति, गीतमा आएका विकृति लगायतबारे थाहाखबरकर्मी राजु पौडेलले बुझ्ने प्रयास गरेका छन् ।

अहिले निस्किएका तीज गीत सुन्दा आम दर्शक/स्रोताले नाक खुम्च्याउनुपर्ने स्थिति छ, तपाईंलाई के लाग्छ ?

अहिले निस्किएका सबै गीत सबै गलत वा खराब छन् भनेर म भन्दिनँ । हरिदेवी कोइराला, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, सिन्धु मल्ल, राधिका हमाल, देवी घर्ती र विष्णु माझीलगायत सर्जकका गीतहरू आज पनि जनमनमा छ ।

तर अफसोच ! केही कलाकारले बजारमा उत्पादन र वितरण गरेका गीतहरू सुन्न योग्य छैन्र । यदि राता सारीहरू लगाएका रहेनछन् भने यो तीजको गीत हो कि भन्ने अनुमान लगाउने हो । नत्र त्यस गीतको भित्रि विषय हेर्दा तीजको मर्मविपरीत भइरहेको छ । यसमा दुःख लाग्छ।  चिन्ता त स्वभाविक नै भइहाल्यो ।

सबैभन्दा ठुलो चिन्ता चाहिँ तीजको मौलिकता विस्तारै लोप हुने त होइन भन्ने लाग्छ । पछिल्लो पुस्ताले तीजको संस्कृतिलाई फरक तरिकाले बुझ्ने त होइन भन्ने छ । 

हिजो र भोलिको पुस्तालाई जोड्नुपर्ने नेपाली संगीत, त्यसमाथि पर्व-संस्कृतिका रूपमा रहेका गीतहरू विकृतिका कारण समयको गर्तमा भासिने जोखिम देखियो, यस्तो हुने सम्भावना कति देख्नुहुन्छ ?

बाटो बिराएका गीतहरू हावी हुने, अनि साच्चै मौलिक संस्कृति बोकेका ती गीतहरू स्वीकार नहुने, मौलिकता बिर्सेर गाइएका गीतहरूमा केही मानिसहरू उफ्रँदैमा त्यसले मौलिकताको महत्व बोकेको हुँदैन । दीर्घकालिन हुँदैन ।

जसले पैसा र चर्चाको नाममा त्यस्ता मौलिकता एवम्‌ संस्कृतिलाई प्रहार गरेर तथाकथित गीत बनाइरहेका छन्-त्यस्ता सामग्री छोटो समयमै लोप हुने निश्चित हो । उनीहरूलाई आउने पुस्ताले प्रश्न जरुर गर्नेछ । यो मेरो बुझाइ हो ।

तीज गीतमा पुरुषलाई उपस्थिति गराएको केही जिम्मेवारी मैले पनि लिनुपर्छ । तीजका गीत गाउने पुरुष आवाजमा म थिएँ । सर्जक प्रजापति पराजुलीले शब्द संकलन गर्नुभयो । मैले आवाज दिएँ । तर हामीले गलत तरिकाले गाएनौँ । पात्र बनाएर गाएका हौँ । समाजमा अपाच्य हुने हिसाबले गीत गाएनौँ ।

अहिले सिर्जना भइरहेका गीतको मूल्याङ्‌कन गर्दा आफूले गाएका तीजका गीतलाई कहाँनेर भेट्टाउनुहुन्छ ? अग्रज स्रष्टाले कोरेको बाटोमा अहिलेको पुस्ता हिँडेको छ ?

म अथवा अग्रजलाई तुलना गरेर म नै राम्रो भन्न उपयुक्त नहोला । म बाट पनि जानेर वा नजानेर कमि कमजोरी भएका होलान्‌ । ​तर, नियतवश कुनै पनि लोकदोहोरी/तीज/चिनारी गीत मैले आफ्नो विवेकले जानेसम्म संस्कृतिलाई बिगार्नेगरी गाएको छैन ।

तर, अहिले देखिएको गीतको प्रवृत्ति मैले मात्र होइन, सिंगो जगतले मूल्याङ्‌कन गरिरहेको छ । कस्ता शब्द प्रयोग छन्, कुन किसिमको भिडियो निर्माण भइरहेका छन् ।

तीजका गीतमा बजाउने वाद्यवादन के हुन् ? तीजका गीतमा लगाउने पहिरन के हुन् ? तीजको मर्म के के हो भन्नबारे सर्जकले बुझ्न जरूरी छ । के कलाकारले यसको अध्ययन गर्नुपर्दैन ? सिर्जना गर्नेले इमान्दारीता देखाएको खण्डमा न संस्कृति जोगिने हो ।

सर्जकले जे सिर्जना गरिदिन्छ ? त्यो नै दर्शकले सुन्ने हो । केही जमातले केही समयका संस्कृति मास्ने गीतलाई वाहवाही गरेपनि एउटा जमात आज पनि जीवित छ, जो संस्कार र संस्कृति बचाउन चाहन्छ । ती जमातले यस्ता खालका सर्जकलाई सम्मान गर्नेवाला छैनन्‌ । कुनै व्यक्तिलाई तोकेर गल्ती गरिरहेको छ भनेर म भन्दिनँ । यो विकृतिविरुद्ध सबैले आफूलाई प्रश्नचाहिँ जरूर गर्नुपर्नेछ ।  

रत्यौलीजस्ता गीतका शीर्षकमा तीज शब्द लेखेपछि यो तीजको गीत रहेछ भन्ने बुझ्न श्रोताहरू अभिशप्त छन् । तर, सर्जकहरू यसमा कुनै विमति राखिरहेका छैनन्, यो मौनताको कारण के हो ?

रत्यौलीजस्ता तीजका गीत छायाङ्‌कन गरेर सार्वजनिक गरिसकेपछि हामीले तीज गीत हुन् भनेर मान्नुपर्छ भन्ने होइन । ती गीतहरू मिडियाकर्मी साथीले पनि सुन्न जरूरी छ ।

मिडियाकर्मी र स्वयम्‌ सर्जक पनि यसबारे जिम्मेवार हुनुपर्छ ।  कम्तिमा संस्कृति मास्ने हिसाबले सिर्जना भएका गीत मिडियाले पनि निस्तेज गर्न जरूरी छ । मिडियाले पनि संस्कृति मास्न लागि परेका कलाकारलाई प्रोत्साहन गरेर अन्तर्वार्ता लिनु भएन ।

गलत प्रवृत्तिलाई प्रसारण मिडियाले निस्तेज गरिदिने, मेला/महोत्सव तथा देश/विदेशमा हुने कार्यक्रममा निस्तेज गरिदिने बित्तिकै स्वयम्‌ कलाकारले आफूले गरेको गल्ती महसुस गर्छ । मान्छेले ‘मेरो सिर्जनालाई पत्याउन छोडे’ भनेर ऊ आफैँ सच्चिन प्रयास गर्छ नि ! यति भन्दै गर्दा सबैभन्दा बढी चाहिँ सर्जक नै सचेत हुनुपर्छ ।

आत्ममूल्याङ्‌कन बिना गलत बाटोलाई सही ट्रयाकमा ल्याउन सकिँदैन ।

अहिले बजारमा ल्याइएका गीत हेर्दा/सुन्दा यस्ता गीतले के सन्देश दिएको पाउनुहुन्छ ?

पैसा कमाउन र चर्चाका लागि गाइने गीतमा के सन्देश हुन्छ र ?

मैले अहिलेहाल निस्किएका सबै गीतलाई यसो भनिरहेको छैन । जसले यो विकृत काम गरिरहेका छन्-उनीहरूको सन्दर्भमा मैले बोलिरहेको छु । हरेक कलाकार कालान्तरमा बस्ने भनेको यही समाजमै हो । समाजभन्दा पर गएर गाइने गीतमा सन्देश हुँदैन । केवल क्षणिक लोभमात्र हो ।

भाइरल हुने नाममा तीजको गीतको हुर्मत लिइँदै गर्दा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले हस्तक्षेपकारी भूमिका खेल्न नसकेको आरोप लागिरहेको छ, प्रतिष्ठानलाई यसबारे हस्तक्षेपकारी भूमिका खेल्न अधिकार छैन हो ?

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले विकृति/विसंगती न्यूनीकरण गर्न पहिले सर्जक विनोद बाजुरालीको संयोजकत्वमा काम थालेको थियो । पछि सर्जक शिव हमालको नेतृत्वमा यो जिम्मेवारी तोकिएको छ । हामीले गलत नगर्नुस्‌ भनेर अनुरोध गर्न सक्छौँ । गलत प्रवृत्तिलाई गलत भयो भनेर सम्झाउन सक्छौँ ।

कसैले व्यक्तिगत रूपमा लगानी गरेर मेरो सिर्जना मेरो हो, म जे पनि गर्न सक्छु भनेर भन्छ भने ‘राम ! राम !’ भन्न मात्र सक्छौँ, काँध थाप्न सक्दैनौँ । यहाँ प्रतिष्ठानलाई दोष मात्र दिएर पुग्दैन । राज्यले प्रतिष्ठानलाइ कुनै अधिकार दिएको छैन । त्यसैले प्रतिष्ठानले अनुरोध गर्नसक्छ, कसैलाई रोक्न चाहिँ सक्दैन । किनभने प्रतिष्ठानसँग कानूनी अधिकार छैन । 

कतिपय सर्जकले ‘हामीले दर्शकको रोजाइका गीत सिर्जना गर्ने हो’ भनी जिरह गरिरहेका छन्‌, संस्कृतिलाई दूषित बनाउँदाको दुष्परिणाम सर्जकले भोग्नुपर्छ कि उनीहरूले सिर्जना गर्ने मात्र हो ?

एउटा गीत पूर्ण हुनलाई स्वरमात्र एक पक्ष होइन । शब्द संकलन गर्ने, बजार व्यवस्थापन गर्ने र संगीत संयोजन गर्नेहरू लगायत सबै जिम्मेवार रहन्छन् । सबैले नै यो दुष्परिणाम भोग्नुपर्छ ।सर्जक विशुद्ध सर्जक मात्र होइन । उ सामाजिक प्राणी हो । उसले समाजको मूल्य मान्यता, आचरण र व्यवहारको अध्ययन गर्नुपर्छ । 

तीज विशुद्ध महिलाको भन्ने आम बुझाइ थियो । तर, पछिल्लो समय महिलाका तुलनामा पुरुषहरूको 'भद्दा' उपस्थिति बढेको छ । यस्तो विकृतिबारे के भन्नुहुन्छ ?

यो एकदमै विचारणीय कुरा हो । तीज महिलाको हो । जसले आफ्ना आवेग, पीडा, खुशी र समवेदना पोख्ने विषय हो । त्यसैले महिला दिदीबहिनीको महान चाड भनिएको हो ।

तर, तीज गीतमा पुरुषलाई उपस्थिति गराएको केही जिम्मेवारी मैले पनि लिनुपर्छ । तीजका गीत गाउने पुरुष आवाजमा म थिएँ । सर्जक प्रजापति पराजुलीले शब्द संकलन गर्नुभयो । मैले आवाज दिएँ । तर हामीले गलत तरिकाले गाएनौँ । पात्र बनाएर गाएका हौँ ।

समाजमा अपाच्य हुने हिसाबले गीत गाएनौँ । कथा वस्तुमा आधारित भएर पुरुषको उपस्थितिलाई सकारात्मक मान्न सकिन्छ । तर, कुनै विषय र पात्रबिनै उहाँहरूको उपस्थिति देखिन्छ-त्यो गलत छ ।

कसैले तीजमा पुरूषको उपस्थिति पुरूषोत्तम न्यौपानेले गरेको हो भनेर कहीँ कतैबाट दाग लगाउन खोज्छ भने म भागीदार हुनुपर्छ । तर, हामीले पुरुषको उपस्थिति भद्दा हुनुपर्छ भनेर भनेका छैनौँ, यो हुनुहुँदैन । 

तीज गीतमा समावेश शब्दहरूमा कर्मघरमा हुने दु:ख, माइत आउँदाका खुशी, दौतरीसँगको मित्रतालगायत अन्य विषयहरू, जसमा महिलाका दु:ख, पीडा, आवेग र खुशीहरू जोडिन्थे । अचेलका गीतमा केवल मायामोह विशेष प्राथमिकता छन् । समयसँगै महिलाका तीज विशेष अभिव्यक्ति परिवर्तनहरू हुन थालेका हुन् ?

तीज गीत त पर्व विशेषको हो । यसमा आस्था मिसिएको हुन्छ । संस्कृति जोडिएको हुन्छ । यदि तीजलाई नै केन्द्रबिन्दु बनाएर गीत निर्माण हुन्छन् भने महिलाको भावनाहरू समेट्नुपर्छ ।

माया पिरतीका गीत, रत्यौली गाउनका निम्ति त दोहोरी गीत गाए हुन्छ । भावनाविपरीत सिर्जनाको नाममा तीज को हुर्मत लिन पाइँदैन । तीज गीतको ना‍ममा अन्य गीतलाई थुपार्ने चाहिँ पाइँदैन । 

तीज गीतमा निस्किएका विकृतिमा को जिम्मेवार छ ?

सामाजिक मर्यादा र प्रतिष्ठालाई कायम राख्ने गरि बनाएका सर्जकले विकृत गीत निर्माण गर्दै गर्दैनन् । जसले गीत निर्माण गर्छ । जसले यो मेरो सम्पत्ति हो भन्छ, उ नै जिम्मेवार हो । अब गलतलाई गलत नै भन्नुपर्छ । आफूले गरेको गलत कामलाई गलत ‍भनेर आत्मस्वीकृति गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै