• २ कार्तिक २०८१, शुक्रबार
  • १०:४४:२२

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

मुसिकोटकाे दलित बस्तीमा 'एक घर एक टनेल' कार्यक्रम सुरु

गुल्मी: गाउँमा हरियो तरकारी किनेर खानुको साटो आफैँ उत्पादन गरेर खाने वातावरण बनाउनका लागि गुल्मीको मुसिकोटस्थित एक दलित बस्तीमा एक घर एक टनेल कार्यक्रम सुरु गरिएको छ ।

परम्परादेखि आत्मनिर्भर रहँदै आएको तरकारी समेत किनेर खान थालेपछि हरियो तरकारी आफैँ उत्पादन गरेर खाने वातावरण बनाउनका लागि मुसिकोट नगरपालिका ३ स्थित चुदरीगाउँको दलित बस्तीका २५ घरमा एक घर एक टनेल कार्यक्रम लागू गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारको लक्षित वर्ग बिशेष आय आयआर्जन कार्यक्रम अन्तर्गतको आर्थिक सहयोग र कृषि ज्ञान केन्द्र गुल्मीको सहजीकरणमा ५ लाख रुपैयाँमा यो कार्यक्रम सुरु भएको हो । कार्यक्रम अन्तर्गत हरेक घरका लागि टनेल, विउपल र जनही १० हजार रुपैयाँ अनुदान उपलब्ध गराइएको छ ।

यो कार्यक्रमबाट किसानले कमसेकम आफूलाई आवश्यक पर्ने तरकारी आफैँ उत्पादन गरी आत्मनिर्भर बन्नेछन् भन्ने अपेक्षा रहेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । ुयसको उद्देश्य भनेको पोषण सुरक्षाका लागि हो, दलित बस्तीमा खाद्य पोषणका लागि जनचेतना पनि कम भएको, हरियो तरकारी खानुपर्छ भन्ने जानकारी पनि नभएको र उत्पादन पनि नभएकोले हामीले यो कार्यक्रम सुरु गरेका छौँ,' उनले भने, 'पहिले आफैँ उत्पादन गर्ने र त्यसपछि विस्तारै व्यवसायिक रुपमा लागेर आयआर्जन पनि गर्ने भनेर हामीले कार्यक्रम सुरु गरेका छौं, यसपछाडि व्यवसायिक रुपमा गर्न चाहने किसानलाई सहयोग गर्नेछौं ।'

दलित बस्तीमा पहिले तरकारी, मासु आफैँ उत्पादन गर्ने तर अहिले सबै किनेर खाने चलनले झन् गरिबी बढिरहेको ८० वर्षीय चन्द्रबहादुर सुनारले बताए । 'पहिला सागपात, बेसार, कोदो लगाउँथ्यौँ, खसीबोका आफैँ पाल्थिम्, सबै आफ्नै घरमा हुन्थ्यो,' उनले भने, 'अहिले आलुदेखि मासुसम्म किनेर खायो, दिनभरि मजदुरी गरेको पैसा सकिन्छ, उन्नति छैन ।' उनले यो कार्यक्रमले घरघरमा तरकारी उत्पादन गर्ने बानी पर्ने भएकोले तरकारी किन्ने पैसा बचत हुने भन्दै खुसी व्यक्त गरे ।

आफूलाई चाहिने तरकारी आफै उत्पादन गरेर खाने बानी लगाउन सरकारले घरघरमा टनेल, विउपल र नगद दिएपछि युवापुस्ता तरकारीमा आत्मानिर्भर बन्न सक्ने ७० बर्षीय ताराचन सुनारको भनाई छ । टनेल निर्माण, त्यसमा तरकारी उत्पादन गर्ने तरीका लगायतको सिकाईका लागि कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक रामबहादुर ओलीले दुई महिनादेखि स्थानीलाई सिकाएका थिए ।


 

प्रतिकृया दिनुहोस