गुल्मीको मुसिकोट–१ मा कांग्रेसका आनन्द श्रेष्ठ विजयी
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ मा नेपाली कांग्रेस विजयी भएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार आनन्द श्रेष्ठ १ हजार १ सय ८४ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका दलबहादुर थापाले ९ सय ३० मत प्राप्त गरे । वडाध्यक्षमा कांग्रेसका श्रेष्ठ २ सय ५४ मतान्तरसहित विजयी भएका हुन् ।
माओवादी केन्द्रबाट दुर्गाबहादुर विकले १ सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापाले ४४ र राष्ट्रिय पजातन्त्र पार्टीबाट ईश्वरी खाती क्षत्रीले ५ मत प्राप्त गरेका छन् । हात चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र खरेलले १ मत मात्रै प्राप्त गरे । स्वतन्त्रबाट उम्मेदवारी दिएका पोमानन्द खरेल र कुलबहादुर थापाले भने कुनै पनि मत प्राप्त गर्न सकेन्न ।
यहाँ खसेको २ हजार ३ सय ३४ कुल मत मध्ये एक हजार ४० पुरुष र एक हजार दुई सय ९४ महिलाले मतदान गरेका छन् । ५७ दशमलव ०५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । खसेको कुल मतमा २८ मत बदर भएको थियो ।
वडामा ४ हजार ९१ जना मतदाता रहेका छन् । मुसिकोट नगरपालिका १ को वडाध्यक्ष पदका लागि ५ जना विभिन्न दल र तीनजना स्वतन्त्र गरेर ८ जनाले उम्मेदवारी दिएका थिए । २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा त्यस वडामा नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि आईतवार उपनिर्वाचन भएकाे हाे ।
सामाजिक अभियान्ता श्रेष्ठ
वि.स. २०४६ साल कार्तिक १ गते मुसिकोट नगरपालिका १ पौँदीअमराई साविकको पौँदीअमराई गा.वि.स वडा नं ५ मा जन्मिएका श्रेष्ठ राजनैतिक भन्दा पनि बढी सामाजिक अभियान्ताको रुपमा सक्रिय छन ।
हाल नेपाल तरुण दल मुसिकोट नगर कार्यसमितिको सहसचिव पदमा क्रियाशिल उनी विद्यार्थीकाल पछि गाउँमै बसेर आफ्नो व्यवसायसंगै सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन । श्रेष्ठ विभिन्न सामाजिक संघसंस्थाहरुमा आबद्ध छन ।
श्रेष्ठले विभिन्न विपद तथा भैपरि र विपन्न नागरिकहरुलाई व्यक्तिगत रुपमा विभिन्न सहयोग गर्दै आएका छन ।
प्रतिकृया दिनुहोस