• २० असोज २०८३, मंगलबार
  • ०२:५१:३२

Now:

Next: शुभारम्भ धुन

बागलुङमा युवाले केन्द्र ताक्दा कांग्रेसको स्थानीय नेतृत्वमा पद खाली

बागलुङ । नेपाली कांग्रेस बागलुङको १५औं महाधिवेशनअन्तर्गत क्षेत्र नं. १ र २ को अधिवेशन सम्पन्न भएको छ । चारवटै प्रदेश क्षेत्रको अधिवेशन पनि टुंगो लागेको छ । निर्वाचित महाधिवेशन प्रतिनिधिहरू आइतबारदेखि सुरु भएको महाधिवेशनका लागि राजधानीमा छन् । तर महाधिवेशनले जिल्ला तथा भूगोलमा बसेर संगठनमा काम गर्ने युवाको खडेरी देखाएको छ ।

जेनजी समूहदेखि युवा समूहभित्रका अधिकांशले केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशन प्रतिनिधि ताकेपछि क्षेत्रीय र प्रदेश नेतृत्वमा भने युवाको अभाव देखिएको हो । झन्डै ३१ सदस्य रहने क्षेत्रीय समिति र २१ देखि २५ जनासम्म रहन सक्ने प्रदेश कार्यसमितिका कतिपय पदमा उम्मेदवारी नै नपरेपछि ती पद खाली भएका छन् । सभापतिमा भने दुई–दुई जना उम्मेदवार भएर निर्वाचन भएको थियो ।

महाधिवेशन प्रतिनिधितर्फ खुला, महिला, युवा, जनजाति, अल्पसंख्यक, खसआर्य र दलितलगायत पदमा निर्वाचनबाट प्रतिनिधि छनोट भएका छन् । तर क्षेत्र र प्रदेशमा उपसभापति, सहसचिव, सदस्यलगायत पद खाली भएको निर्वाचन अधिकृत शालिग्राम भट्टराईले बताए ।

दुई जना चाहिने युवा खुलातर्फ ६ जनासम्मको उम्मेदवारी परेको थियो भने चार जना चाहिने महिला खुलातर्फ सात जनासम्मले मनोनयन गरेका थिए । तर जिल्लातहको संगठनमा बसेर काम गर्न भने उनीहरू कोही तयार नभएको कांग्रेसका जिल्ला सदस्य निलप्रसाद शर्माले बताए । महाधिवेशन प्रतिनिधि निर्वाचित भएका कतिपय युवाले केन्द्रीय सदस्यको उम्मेदवारीसमेत घोषणा गरेका छन् ।

‘यहाँको समितिमा बसेर काम गरिदिने युवाको खाँचो छ, तर सबैले माथि ताकेर गए,’ शर्माले भने, ‘सबैले केन्द्र मात्रै खोज्दा यहाँको संगठन कसले गरिदिने होला ?’ उनका अनुसार विद्यार्थी, युवा, महिला जस्ता क्षेत्रमा बसेर संगठनको अनुभव नलिएकाहरूलाई पनि केन्द्र जाने बाटो खुला हुँदा यस्तो अवस्था आएको हो ।

महाधिवेशन प्रतिनिधि निर्वाचित भएका युवाले भने केन्द्रीय माहोल बुझ्न पाइने र नेताहरूसँग नजिक बन्न सकिने भएकाले प्रतिनिधि रोजेको बताएका छन् । त्रिचन्द्र क्याम्पसका नेविसंघका पूर्व नेता विष्णु पौडेल ‘दाह्री’ले पार्टीले भ्रातृसंगठनहरूको अधिवेशन समयमा नगरेको, स्थानीय संगठनको मर्म बुझाउन नसकेको र राजनीति भूगोलबाट गर्ने हो भन्ने नसिकाएको परिणाम अहिले देखिएको बताए ।

पदमा गएपछि जनप्रतिनिधिको टिकट पाइने र जनप्रतिनिधिले पनि तलब खाने पद्धतिले यो लोभ बढाएको उनको भनाइ छ । सञ्चारमाध्यमले पनि उमेर नै नपुगेकाहरू प्रतिनिधि हुँदा समाचारमार्फत चर्चामा ल्याएपछि नवयुवाले केन्द्र ताकेको अर्का एक नेताले बताए ।

पछिल्लो समय विधानले व्यवस्था गरेअनुसार हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित तीन युवा र प्रदेश क्षेत्रतर्फ एक क्षेत्रबाट तीन युवा गरी बागलुङबाट मात्रै १८ जनाभन्दा बढी युवा प्रतिनिधि चयन भएका छन् । तीमध्ये अधिकांश स्थानीय समितिमा बसेर काम गरेका छैनन् । युवाहरूले कार्यसमितिमा बसेर काम गर्न नचाहेको देखिएको नेताहरू बताउँछन् ।

धौलागिरि बहुमुखी क्याम्पसका निर्वतमान स्ववियु सभापति सुदीप सागर कँडेलले दिएको उम्मेदवारी पनि फिर्ता लिएका थिए । उनले स्थानीय रूपमा बसेर राजनीति र सेवा गर्ने योजना सुनाए । ‘सबै युवा माथि नै जाने हो भने हामीले संगठन कसरी बचाउने ?’ उनले भने, ‘संगठन बलियो भए फेरि पनि माथि जाने बाटो सुरक्षित रहन्छ ।’ उनले महाधिवेशनपछि सबै युवालाई जिल्ला आएर संगठनमा काम गर्न पनि आग्रह गरे ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑