मुसिकाेट थुमापार्कमा असोज २६ गतेदेखि दशैं मेला
वामीटक्सार । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ स्थित थुमा लालीगुराँस पार्क (थुमापार्क) मा आगामी असोज २६ गतेदेखि कात्तिक ८ गतेसम्म ‘मुसिकोट कृषि, औद्योगिक, पर्यटन, खेलकुद व्यापार तथा सांस्कृतिक दशैं मेला २०८३’ आयोजना हुने भएको छ।
'समृद्ध समाज निर्माणका लागि युवा सशक्तिकरण' भन्ने मूल नाराका साथ स्थापना भएको मुसिकोट युवा क्लबको आयोजनामा मेला सञ्चालन हुन लागेको हो। मेलाको मुख्य उद्देश्य स्थानीय स्तरमा उत्पादित कृषि, पशुजन्य सामग्री तथा घरेलु साना उद्योगका वस्तुहरूको प्रवर्द्धन, लोकसंस्कृतिको संरक्षण एवं पर्यटन प्रवर्द्धन गर्नु रहेको छ।
मेला अवधिभर खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, स्थानीय झाँकी प्रदर्शनी, मुसिकोट नृत्य आइडल, एक्स्ट्रा ट्यालेन्ट हन्ट, स्लो बाइक रेस, र मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता मुख्य आकर्षणका रूपमा रहने क्लबले जनाएकाे छ ।
भलिबल प्रतियोगिताका विजेताले प्रथम पुरस्कार ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछन्। यसका साथै राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति, बाल उद्यान, रक्तदान एवं निस्शुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिने आयोजकले जनाएको छ।
मेला भव्य रूपमा सम्पन्न गर्नका लागि कुल ३० लाख ३२ हजार ६ सय ४५ रुपैयाँको अनुमानित खर्च विवरण र सोही अनुसारको आय स्रोतको प्राविधिक तथा आर्थिक प्रस्ताव तयार पारिएको छ। मेलामा ६० वटा व्यावसायिक स्टलहरू रहनेछन्, जसमध्ये कृषि, घरेलु उद्योग र महिला उद्यमीका लागि विशेष स्टलहरू छुट्ट्याइएको छ।
विगत ५ वर्षदेखि सामाजिक तथा खेलकुदको क्षेत्रमा क्रियाशील मुसिकोट युवा क्लबले यो मेलाले गुल्मी लगायत छिमेकी जिल्लाहरू बागलुङका विभिन्न पालिकाहरूका बासिन्दालाई समेत समेट्ने र स्थानीय व्यापार व्यवसायको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छ।


कमल पौडेल
प्रतिकृया दिनुहोस