• १४ असोज २०८३, बुधबार
  • १७:४१:४७

Now:

Next: नेपाल दर्पन

गुल्मीमा बाढीपहिरोबाट दुई सयबढी परिवार विस्थापित

गुल्मी । अविरल वर्षासँगै आएको बाढी, पहिरोका कारण जिल्लाका २३१ घरपरिवार उच्च जोखिमका कारण विस्थापित भएका छन् । गत बिहिबारदेखि आइतरबारसम्म परेकाे वर्षाले कालीगण्डकी गाउँपालिकाका १५, सत्यवती गाउँपालिकाका ३०, रुरुक्षेत्र गाउँपालिकाका ४०, मुसीकोट नगरपालिकाका १२ र रेसुङ्गा नगरपालिकाका २५ घर उच्च जोखिममा परेका छन् । 

त्यसै गरी गुल्मीदरबार गाउँपालिकाका पाँच, चन्द्रकोटका ७०, धुर्कोटका १५, इस्माका १२ र छत्रकोटका सात घर पहिरोको जोखिममा परेका कारण सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिनुभयो ।

जोखिममा रहेका तथा विस्थापित परिवारलाई स्थानीय पालिकाहरूको समन्वयमा आफन्तको घर, गाउँका खाली घर र सुरक्षित सार्वजनिक संरचनामा व्यवस्थापन गरिएको बोगटीले बताउनुभयो । वर्षाले अवरुद्ध बनेका मुख्य राजमार्ग कालीगण्डकी कोरिडोर, मदन भण्डारी राजमार्ग र रुद्रवेणी–वामी–टक्सार सडकसहित ग्रामीण अधिकांश सडक सञ्चालनको प्रयास जारी रहेको छ ।

स्थानीय तह र कार्यालयहरूमार्फत समन्वय गरेर सडक खुलाउने काम भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो । उहाँले ठुला सवारी हिँड्न अझै जोखिम भएकाले अवस्था हेरेर सञ्चालन गर्न आग्रह गर्नुभयो ।

रुद्रवेणी–वामी सडक खण्डको सत्यवती गाउँपालिका–६, जोहाङ उल्लीखोलामा बडिगाड खोलाले ८० मिटर मुख्य सडक बगाएका कारण सवारी आवगमन बन्द भएको छ । सत्यवती गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले सडक डिभिजन कार्यालय पाल्पासंग समन्वय गरेर विभिन्न विकल्पको खोजी भइरहेको बताउनुभयो । 

तम्घास–खज्र्याङ सडकको रेसुङ्गा नगरपालिका–१०, सिमीचौरमा ५० मिटर पक्की सडक पूरै भत्किएर आवगमन बन्द भएको छ । सहरी सडक आयोजना कार्यालयबाट अनुगमन भइसकेकाले तत्काल विकल्प निकाल्ने रेसुङ्गा नगरपालिका–१०, सिमीचौरका वडाध्यक्ष रामबहादुर बस्नेतले बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकण वितरण केन्द्र गुल्मीको इन्जिनियर स्मृति ढुङ्गानाले धेरै पोल ढलेका, तीन वटा ट्रान्सफर्मर ढुवानीमा परेका कारण नियमित विद्युत् आपूर्तिमा समस्या भएको बताउनुभयो । उहाँले हाइटेन्सन लाइन सञ्चालन भइसकेकाले प्राथमिकताको आधारमा स्थानीय लाइन सञ्चालन गर्ने बताउनुभयो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑