• १४ असोज २०८३, बुधबार
  • १७:४१:३६

Now:

Next: नेपाल दर्पन

रफिना–जुगल संयुक्त निर्माण कम्पनीले शुरू गरेकाे गलकाेट र जैमिनी नगरका प्रशासनिक भवन अलपत्र

बागलुङ । ठेक्का लागेको पाँच वर्षमा गलकोट नगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति जम्मा ५० प्रतिशत भएको छ। २०८१ मंसिरमा निर्माण सम्पन्न गर्ने गरी २०७९ असारमा भवनको ठेक्का सम्झौता भएको थियो। ठेकेदारको ढिलासुस्तीबाट आजित बनेको नगरपालिकाले अन्तिमपटक तीन महिनाका लागि म्याद थप्न बाध्य भएको छ।

आफ्नै प्रशासनिक भवनबाट नागरिकलाई सेवा दिने नगरप्रमुख भरत शर्मा गैरेको चाहना थियो। तर, ठेकेदारको ढिलासुस्तीका कारण उक्त चाहना अधुरै रहनेमा उहाँ चिन्तित हुनुहुन्छ। “पहिलो कार्यकाल जग्गा खोजीमै बित्यो, दोस्रो कार्यकालमा भवन बनाएर सरौँला भनेको, ठेकेदारले झुलायो,” गैरेले भन्नुभयो, “ठेकेदारसामु जनप्रतिनिधि निरीह हुनुपर्ने अवस्था छ।”

१२ करोड ४१ लाख ५५ हजार रुपियाँ लागतमा गलकोट नगरपालिका–६, मजुवाफाँटको सात रोपनी जमिनमा भवन निर्माणाधीन छ। ठेकेदारको लापरबाही र ढिलासुस्तीले भवन समयमै सम्पन्न नहुँदा नगरपालिकाले नियमित सेवा प्रवाहमा समेत सास्ती व्यहोर्नुपरेको छ।

“आफ्नै भवनमा बसेर काम गर्ने सपना थियो। अब त कार्यकाल सकिन छ महिना मात्र बाँकी छ। ठेकेदारले भवन कहिले सक्छ, अत्तोपत्तो छैन,” गैरेले निराशा व्यक्त गर्दै भन्नुभयो, “ठेकेदार कम्पनीको लापरबाही अगाडि जनप्रतिनिधिको केही नलाग्ने रहेछ।” आफ्नै भवन नहुँदा नगरपालिकाले मासिक डेढ लाख रुपैयाँभन्दा बढी घरभाडामा खर्च गर्दै आएको छ।

पाँचतले भवनको अहिलेसम्म पाँचौँ तलाको ढलानसमेत हुन सकेको छैन। रफिना–जुगल संयुक्त निर्माण कम्पनीका प्रमुख अर्जुन श्रेष्ठले थपिएको तीन महिनाभित्र ढलान र भित्री प्लास्टरको काम तथा त्यसपछि बाहिरी काम सम्पन्न गर्ने दाबी गर्नुभयो। आर्थिक समस्या र मजदुर अभावका कारण समयमै काम गर्न नसकिएको ठेकेदार श्रेष्ठको भनाइ छ।

पुस मसान्तभित्र तोकिएअनुसार काम भए थप तीन महिना म्याद थप्ने निर्णय कार्यपालिका बैठकले गरेको नगरपालिकाका इन्जिनियर पवन ओलीले बताउनुभयो। ठेकेदारले कामको भुक्तानी नपाएको उहाँले बताउनुभयो। काम सुरु गरेमा बाँकी रकम भुक्तानी हुने ओलीको भनाइ छ।

जैमिनीको भवन पनि अलपत्र
रफिना–जुगल संयुक्त निर्माण कम्पनीले ठेक्का लिएको जैमिनी नगरपालिकाको प्रशासनिक भवन पनि छ वर्षदेखि अलपत्र छ। २०७८ फागुन २० गते तत्कालीन नगरप्रमुख इन्द्रराज पौडेलले शिलान्यास गर्नुभएको भवन वर्तमान नगरप्रमुख नरबहादुर पुनको कार्यकाल सकिन छ महिना मात्र बाँकी रहँदासमेत कहिले निर्माण सम्पन्न हुन्छ भन्ने निश्चित छैन।

सार्वजनिक खरिद ऐनको कमजोर पक्षलाई समातेर ठेकेदारहरूले काम अलपत्र पार्दै म्याद थप गरिरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा बताउनुहुन्छ। २०८३ कात्तिक १५ गतेभित्र भवन सम्पन्न गर्ने गरी चौथोपटक चार महिनाको म्याद थपिएको उहाँले जानकारी दिनुभयो। नगरपालिकाले वार्षिक १९ लाख २० हजार रुपियाँ घरभाडामा खर्च गर्दै आएको छ।

“ठेकेदारले समयमा काम नसक्दा जनताका काम सहज रूपमा नहुँदा जनप्रतिनिधिले गाली खानुपर्ने बाध्यता छ,” शर्माले भन्नुभयो, “म्याद सकिने बेला काम गरेजस्तो गर्ने र अरू समय बेपत्ता हुने ठेकेदारको प्रवृत्तिबाट जनप्रतिनिधि आजित भएका छौँ।”

ठेकेदार श्रेष्ठले जैमिनीको प्रशासनिक भवन भने आगामी पुस मसान्तभित्रै सम्पन्न गरेर हस्तान्तरण गर्ने दाबी गर्नुभयो। “धेरै काम सकिएको छ। भित्री भागमा टायल बिछ्याउने र बाहिरी भागमा प्लास्टर गर्ने काम तोकिएको समयमै सकेर भवन हस्तान्तरण गर्छौँ,” श्रेष्ठले भन्नुभयो।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑