पुल बगेपछि बागलुङ बजारमा आउने दूध ढुवानीमा सास्ती
बागलुङ । कालीगण्डकी बाढीले मालढुंगाको मोटरेबल पुल र बागलुङको ढोडेनीदेखि पर्वतको लस्ती जोड्ने झोलुंगे पुल बगाएपछि बागलुङ बजारमा दूध र तरकारी ढुवानीमा सास्ती भएको छ। मालढुंगाको पुलमा पैदलयात्रीसमेत आउजाउ गर्ने बाटो नबन्दा स्थानीयले थप सास्ती भोगिरहेका छन्। लस्तीको पुल बगेपछि भने नयाँ पुल नबनेसम्म त्यहाँबाट ओहोरदोहोर गर्न सकिने अवस्था छैन।
बागलुङ बजारमा बिक्री हुने दूधमा लस्ती, ढोडेनीलगायतका क्षेत्रको उत्पादनको हिस्सा ठूलो छ । तर पुल बगेपछि किसानले क्यानमा बोकेर दूध बजार पुर्याउनुपरेको छ । गोठ र पशुचौपाया समेत बाढीमा परेपछि घाँसदाना खुवाउन नसक्दा उत्पादन पनि घटेको स्थानीय इन्द्रबहादुर क्षेत्रीले बताए । पहिले दैनिक ७ सय लिटर दूध बजार आउने गरेकोमा अहिले ३ सय लिटर हाराहारीमा मात्रै आउने गरेको छ ।
त्यो पनि खनियाघाट झोलुंगे पुलसम्म बोकेर ल्याएपछि अर्को क्यानमा खन्याएर बागलुङतर्फ पठाउने गरिएको छ । बागलुङस्थित दुग्ध उत्पादक सहकारी संस्थाले पठाएको गाडीमा दूध खन्याएर बजार पुर्याउने गरिएको हो। पर्याप्त दूध नआएपछि मागअनुसार आपूर्ति गर्न नसकिएको संघका अध्यक्ष दीपक गौतमले बताए । मागअनुसार दूध नपुगे पनि अत्यावश्यक सेवा बन्द नगरेको उनले बताए।
कालीगण्डकीमा बचेको खनियाघाट झोलुंगे पुलमा जथाभावी मोटरसाइकल सञ्चालन हुन थालेपछि पैदलयात्रीले समेत सास्ती खेपेका छन् । स्थानीय प्रशासनले पुलमा निगरानी बढाएको छ । दूध बोकेर ल्याउनुपर्ने र समयमा बजार पुर्याउन नसक्दा दूध फाट्ने जोखिमसमेत बढेको किसान भरत आचार्यले बताए ।
ढोडेनीको पुल नबिग्रँदा २० देखि ३० मिनेटमा बजार आइपुग्ने दूध अहिले दुईदेखि तीन घण्टासम्म लाग्ने गरेको छ। बिहान ८ बजे आइपुग्ने दूध पछिल्लो समय ११ बजेसम्म आइरहने गरेको संघका पदाधिकारीले बताए । बागलुङमा काठेखोला गाउँपालिकाबाट पनि नियमित दूध आउने गरेको छ । तर काठेखोला–६ र ८ जोड्ने भुँदीखोलामा बाढीले सडक अवरुद्ध गरेपछि लेखानी गाउँबाट दैनिक आउने दूध ठप्प भएको छ ।
किसानले दूध बेच्न पाएका छैनन् भने बजारका उपभोक्ताले पनि पर्याप्त दूध पाउन सकेका छैनन् । त्यसमाथि विद्युत् अभावले दूधका डेरीले पनि पर्याप्त दूध तथा दुग्धजन्य पदार्थ राख्न सकेका छैनन् । विद्युत् अभावका कारण दूध र दहीजन्य पदार्थ पर्याप्त नहुँदा होटल व्यवसायीलाई समेत समस्या परेको छ । सडक यातायात सहज नभएसम्म समस्या रहने गौतमले बताए ।
लस्ती, ढोडेनीलगायतका स्थानमा किसानकागोठ बगेपछि पशुचौपायालाई खेतपाखामा लगेर बाँधिएको छ । घरसमेत बगेका कारण पशुको स्याहारमा समस्या भएपछि दूध उत्पादन घटेको क्षेत्री बताउँछन् । दैनिक ५० लिटर दूध बजार पठाउने उनले अहिले ३५ लिटर मात्रै पठाउन सकेका छन् ।


प्रतिकृया दिनुहोस