• २२ असोज २०८३, बिहीबार
  • ०४:२७:०१

Now:

Next: शुभारम्भ धुन

बडिगाडकी अध्यक्ष अधिकारी सहित कांग्रेस महाधिवेसनमा बागलुङका दर्जन बढिको उमेदवारी

बागलुङ । बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेसनमा खुला महिला तर्फ उमेदवारी दिएकी छिन् । कांग्रेस जिल्ला सचिव रहेकी थापा सक्रिय पालिका अध्यक्षको रुपमा पनि चिनिन्छिन् । 

काठमाण्डौमा जारी महाधिवेसनमा अधिकारीसंगै बागलुङका १४ जनाबढी उमेदवारको रुपमा देखिएका छन् । ती मध्ये दुइ जना पदाधिकारीमा देखिएका छन् भने अन्यले केन्द्रीय सदस्य ताकेका हुन् ।

सहिद परिवार-द्वन्द्वपीडित परिवारको सदस्यको रुपमा गलकोट नगरपालिका-५ का मञ्जेष बम मल्लले केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेका छन् । उनी २००७ का सहिद थिरबम मल्लको परिवारका सदस्य हुन् । सशष्त्र द्वन्द्वको समयमा उनका पिता माधवबम मल्ललाई माओवादीले गोली हानेर हत्या गरेका थिए । उनको निधनपछि मल्ल परिवार बिस्थापित भएको थियो ।

शान्तिप्रकृयापछि मञ्जेज पुन गाउँ फर्केर ऐतिहासिक गलकोट दरवारलाई मर्मत गरेर बसेका छन् । यो दरवारलाई उनले पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्दै कांग्रेसको राजनीतिमा पनि निरन्तर सक्रिय छन् । उनका जिजुबुवा भरतबम मल्लले चौविसे राज्य अन्र्तगत गलकोट राज्यबाट राजगद्दी त्यागेर कांग्रेसमा प्रवेश गरी २०१५ को निर्वाचन जितेका थिए ।

उनकै अगुवाईमा कांग्रेसले २०१५ मा राजारजौटा हटाउने जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरेको थियो । उनको उमेदवारीलाई कंग्रेसका कार्यकर्ताले न्यायको रुपमा हेरेको बताएका छन् ।

हाल बिशेष महाधिवेसनबाट केन्द्रीय सदस्य बनेका टेकराज पौडेल र गण्डकी प्रदेशसभाका सदस्य रहेका डिल्लीराम सुवेदीले केन्द्रीय सह–महामन्त्रीमा उमेदवारी घोषणा गरेका छन् । दुवै जना बिद्यार्थी राजनीतिबाट आएका हुन् । पौडेल र सुवेदी दुवै ताहाचल क्याम्पसको सभापति भैसकेका छन् । हाल केन्द्रीय सदस्य रहेका जगदिशचन्द्र उपाध्याय खसआर्य खुला तर्फ केन्द्रीय सदस्यकै उमेदवार छन् ।

साथै बहालवाला केन्द्रीय सदस्यहरु चम्पादेवी खड्का र भीमबहादुर श्रीषले आदिवासी जनजाती समुह तर्फ केन्द्रीय सदस्यमै उमेदवारी घोषणा गरेका छन् । उपाध्याय जिल्ला र श्रीष केन्द्रीय क्यामपसको बिद्यार्थी राजनीतिका नेता थिए ।

गण्डकी प्रदेशसभाकै सदस्य रहेका द्रोणराज कु“वरले केन्द्रीय सदस्य पदको उमेदवारी घोषणा गरेका छन् । उनी कांग्रेस क्षेत्रीय सभापति भैसकेका र चौधौ महाधिवेसनमा जिल्ला सभापतिको प्रत्यासी थिए ।

जेनजी समूह भित्र रहेका सुजन सापकोटा र उशा सापकोटाले पनि केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेका छन् । सापकोटा कृषि बिषयमा स्नातकोत्तर गरी ग्रामीण क्षेत्रमा कृषि क्षेत्रकै प्रचार र बजारीकरणको काममा सक्रिय छन् । उशा २३ बर्षको उमेरकी हुन् । उनी यस अघि चौधौ महाधिवेसनमा १८ बर्षकै उमेरमा प्रतिनिधि चुनिएकी थिइन् । यो पटक उनले पनि युवा महिला तर्फ उमेदवारी घोषणा गरेको बताइन् ।

बागलुङ घर भइ हाल नेदरल्याण्ड बस्दै आएका शालीग्राम गौतमले जनसम्पर्क समितिबाट केन्द्रीय सदस्यको उमेदवारी घोषणा गरेका छन् । यस अघि नेदरल्याण्ड जनसम्पर्क समितिका महामन्त्री भैसकेका गौतम सभापति गगन थापा निकट मानिन्छन् । थापा बिदेशमा पुग्दा समेत गौतमको व्यवसायको प्रसंसा गर्दै तस्बिर पनि सार्वजनिक गरेका थिए ।

जनजाती महिला तर्फबाट प्रतिनिधिसभाकी सदस्य समेत रहेकी रेणुका काउचाले पनि उमेदवारी घोषणा गरेकी छिन् । बागलुङकै विद्यार्थी राजनीतिमा चर्चा कमाएका विष्णु पौडेल ‘दारी’ले पनी केन्द्रिय सदस्यमा उम्मेवारी घोषणा गरेका छन् ।

बागलुङकी ऋषिराम कंडेलले, सागर परियार, दिलमाया पौवी, हरिआचार्य र अर्जुन शेरचनले पनि उमेदवारी घोषणा गरेका छन् । प्यानल बन्ने संभावना नभएपछि सबै उमेदवारले स्वतन्त्र रुपमा उमेदवारी दर्ता गरेको बताए ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑