• २१ असोज २०८३, बुधबार
  • ०२:४६:४६

Now:

Next: शुभारम्भ धुन

गलकाेटकाे वडा कार्यालय बगेपछि...

बागलुङ । असोज ११ गते बिहानै स्थानीयले वडा अध्यक्ष त्रिलोक थापालाई फोन गरेर कार्यालयको जग खोलाले खोल्यो, जोखिम भयो भन्ने खबर पठाए । हतारहतार उनी वडा कार्यालय पुग्दा जमिन खोलिसकेको थियो । भवनदेखि झन्डै १० मिटर परको दरमखोलाको बाढी भवनमा आइसकेको थियो । खोलाले धार परिवर्तन गरेपछि यो भवनमा आइपुगेको थापा सम्झन्छन् ।

बिहानैदेखि जोखिम उठाएर अध्यक्ष थापाले भवनमा पसेर कम्प्युटर, ३ वटा टेबल र केही कागजातहरू बाहिर निकाल्न भ्याए । पानी परिरहेकोले ती कागजात जोगाउने चुनौती थियो । सुरक्षित स्थानमा राख्दाराख्दै घरको जगै चर्किएर खोलातर्फ ढल्कियो । त्यसपछि भने घरभित्र पस्ने सम्भावना भएन । धेरै समयसम्म त घर ढलेन । धेरैले सामाजिक सञ्जालमा यो तस्बिर राखेर भाइरल बनाए ।

भाइरलभन्दा यो भवन ढल्दा सयौं नागरिकका कागजात बगेका थिए । मानवीय क्षति हुन सक्ने डरले भवनमा छिर्न र सामान निकाल्न सकिएन । दिनभरिजसो भवन खोलामा खसेको थिएन, तर भित्र जान सक्ने अवस्था भएन । बचेको सामग्री सुरक्षित राखे पनि कार्यालय सञ्चालन गर्न सकिएको छैन । 

तर पनि थापाले मंगलबारै हटिया बजार पुगेर कागजात छपाइ गरेर ल्याएपछि नाबालक परिचयपत्र र अन्य सिफारिसको काम चौतारोमा बसेर दिएका छन् । त्यसो त वडा अध्यक्ष थापाको आफ्नै खेतबारी पनि बगेको छ । परिवारमा परेको पीर बिर्सेर उनी जनताकै काममा छन् । व्यक्तिगत सम्पत्तिभन्दा १० वर्षदेखिको मेहनतबाट किनेको जग्गा र भवन बगेकोमा चिन्तित छन् ।

थापा दुई कार्यकाल वडा अध्यक्ष भएका थिए । ‘मेरो व्यक्तिगत खेत बगेको भन्दा १० वर्षको मेहनत बगेकोमा दुःख लागेको छ’ थापाले भने, ‘इतिहासमै यस्तो जोखिम ...’ ८ गतेदेखि ११ गतेसम्मको वर्षापछि आएको बाढीले गलकोट नगरपालिका वडा नं. ९ को कार्यालय रहेको भवन नै बगायो ।

२०७७ सालमा स्थानीयको सहयोग तथा खरिद गरिएको ३ रोपनी जग्गामा बनेको यो भवनसहित सबै जमिन बगायो । जग्गादाता विष्णु बलामीले आफ्नो जग्गा र वडा कार्यालय बगेकोमा भवनमा आएर रोएको देखेर स्थानीयसमेत स्तब्ध भएका थिए । बलामीसहितका स्थानीयको जग्गा ३० लाख लगानीमा खरिद गरिएको थियो ।

१ करोड लगानीमा बनेको यो भवन बगेपछि वडा कार्यालय कता बनाउने भन्ने अन्योल भएको नगर प्रमुख भरत शर्मा गैरेले बताए । उनले तत्कालका लागि भाडामा घर लिएर काम चलाउने र पछि जग्गा व्यवस्थापन गर्न पहल गर्ने बताए ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑