• २१ असोज २०८३, बुधबार
  • ०२:४४:५९

Now:

Next: शुभारम्भ धुन

प्रस्तावित राजदूत बागलुङका गिरी बहादुर सुनारविरुद्ध दर्जनौँ आरोपसहित उजुरी

काठमाडौँ। साउदी अरबका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनारविरुद्ध दर्जनौँ गम्भीर प्रकृतिका आरोपसहित उजुरी परेका छन्।

सरकारले विभिन्न देशका लागि सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया चलिरहँदा सुनारविरुद्ध विभिन्न उजुरी परेका हुन् । उजुरीमा प्रस्तावित राजदूत सुनार सांसद तथा अभियन्ता खगेन्द्र सुनारको पार्टनर भएको र उनीहरु दर्जनौँ आपराधिक गतिविधिमा संलग्न रहेको दाबी गरिएको छ ।

अवैध असुली र आर्थिक हिनामिनाको म्यानेजर

उजुरीमा खगेन्द्र सुनारले दलित आन्दोलनको नाममा स्वदेश तथा विदेशबाट १० करोडभन्दा बढी रकम अवैध रुपमा असुली गरेको र उक्त कालो धनको सम्पूर्ण व्यवस्थापन प्रस्तावित राजदूत गिरी बहादुर सुनारले गर्दै आएको दाबी गरिएको छ ।

असुलिएको अवैध रकम सांसद सुनारकी श्रीमती सीता गुरुङ, भाइ सुनिल सुनार लगायत परिवारका अन्य सदस्यहरुको विभिन्न बैंक खातामा राख्ने गरिएको उजुरीमा दाबी गरिएको छ ।

सांसद र एआईजी बनाउने नाममा लाखौँ असुली

यी दुईको संलग्नता पद किनबेच र प्रहरीको उच्च तहको बढुवामा समेत देखिएको दाबी उजुरीमा गरिएको छ । खगेन्द्र सुनारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनाइदिने भन्दै चक्रमान विश्वकर्माबाट ५० लाख रुपैयाँ असुलेको आरोप छ ।

त्यस्तै, नेपाल प्रहरीका हालका एआईजी डम्बर बहादुर विकलाई डीआईजीबाट एआईजीमा बढुवा गराउन खगेन्द्र र गिरीले रकम लिएको आरोप उजुरीमा उल्खेख छ । सुरुमा ५० लाख माग गरिएकोमा पछि ३३ लाख रुपैयाँ लिएर एआईजीमा बढुवा गराइएको दाबी पनि उजुरीमा गरिएको छ ।

अदालतबाटै प्रमाण गायब !

प्रस्तावित राजदूत गिरी बहादुर सुनारले आफ्नो शक्ति र पहुँचको दुरुपयोग गर्दै अदालतबाट प्रमाण नै नष्ट गरेको उजुरीमा दाबी गरिएको छ ।

जिल्ला अदालतमा खगेन्द्र सुनारविरुद्ध चलिरहेको विद्युतीय कारोबार सम्बन्धी मुद्दामा अधिवक्ता मनिषा गौतमले पेस गरेको ३ घण्टा लामो अडियो प्रमाणलाई गिरीकै सेटिङमा गायब पारी त्यसको सट्टा ३ मिनेटको मात्र अडियो राखिएको उजुरीमा उल्लेख छ ।

जबरजस्ती करणी, प्रहरीमाथि आक्रमण र हतियार लुटपाटको आरोप

प्रस्तावित राजदूत सुनार र सांसद सुनारमाथि गम्भीर फौजदारी अपराधको समेत आरोप लगाइएको छ । खगेन्द्र सुनारले एक १८ वर्षीय बालिकालाई रोजगारीको प्रलोभनमा पारेर पटक-पटक जबरजस्ती करणी गरेको र अवैध गर्भपतन समेत गराएको उजुरीमा दाबी गरिएको छ ।

यसैगरी, बानेश्वर प्रहरी वृत्तको हिरासतमा रहँदा खगेन्द्र सुनार र केशव नेपालीले ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गरी पेस्तोल नै लुटेर भागेको विवरण पनि उजुरीमा उल्लेख छ । सो कुरा खगेन्द्रले पछि एउटा पोडकास्टमा आफैँले स्वीकार गरेको समेत उजुरीमा उल्लेख छ ।

गुण्डा नाइकेको प्रयोग र राजदूत बन्न अनुचित लबिङ

ठगी गरेको पैसा फिर्ता माग्ने वा आफूहरुविरुद्ध बोल्नेलाई उनीहरुले गुण्डा नाइके गणेश लामामार्फत तर्साउने र धम्क्याउने गरेको पीडितहरुको भनाइ छ । यस्तो गम्भीर आपराधिक पृष्ठभूमि भएका गिरी बहादुर सुनारलाई राजदूत बनाउन खगेन्द्र सुनार र ओसो तपोवन धाउने एक गुटले मन्त्रालयमै पुगेर अनुचित दबाब र लबिङ गरेको उजुरीमा खुलाइएको छ ।

साथै कुनै कूटनीतिक क्षमता नै नभएका उनलाई राजनीतिक भागबण्डाको आधारमा सिफारिस गरिएको दाबीसमेत उजुरीमा गरिएको छ । उजुरीमा आपराधिक पृष्ठभूमि, नैतिकताको अभाव र गुण्डागर्दीमा संलग्न व्यक्तिले देशको प्रतिनिधित्व गर्दा अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बिग्रिने भन्दै यी आरोपहरुको निष्पक्ष छानबिन गरी सुनारलाई राजदूत पदमा अनुमोदन नगर्न माग गरिएको छ।

ujuri

 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑