• २१ कार्तिक २०८३, शुक्रबार
  • ०२:४१:५२

Now:

Next: शुभारम्भ धुन

गुल्मीकाे फुटबल रङ्गशाला माटो खानीमा परिणत

गुल्मी । जिल्लाको इस्मा गाउँपालिका–६, अमरपुर बुल्ममा निर्माणाधीन सहिद लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला पाँच वर्षदेखि बजेट अभावमा अलपत्र परेको छ ।  नियमित निर्माण नहुँदा रङ्गशाला क्षेत्र अहिले रातोमाटो निकाल्ने स्थानका रूपमा प्रयोग हुन थालेपछि निर्माण भएका संरचनासमेत जोखिममा परेका छन् ।

रङ्गशालाको क्षेत्रमा दैनिक ५०–६० जनाले माटो निकाल्ने गरेपछि निर्माण स्थल कुरूप बन्दै गएको स्थानीयको भनाइ छ । संरचनामा क्षति पुग्ने जोखिम बढेपछि वडा कार्यालयले सार्वजनिक सूचना जारी गरी रङ्गशाला क्षेत्रबाट माटो निकाल्न रोक लगाएको छ । २०७४ सालदेखि निर्माण सुरु भएको रङ्गशालामा हालसम्म फुटबल मैदानको प्रारम्भिक संरचना मात्रै निर्माण भएको छ ।

सुरुका तीन वर्षमा सुनकोशी अभियान जेभीले तीन करोड १० लाख रुपियाँको लागतमा १०५ मिटर लम्बाइ र ६८ मिटर चौडाइको फुटबल मैदान निर्माण गरेको थियो । राष्ट्रिय खेलकुद परिषद्को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार रङ्गशाला १५ हजार दर्शक क्षमताको बनाउने योजना छ ।

राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण शाखाका प्रमुख इन्जिनियर सविन महर्जनले प्याराफिट, पौडी पोखरी, कभर्ड हललगायतका संरचना निर्माण हुन बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार रङ्गशालाका लागि परिषद्ले हरेक वर्ष बजेट सिफारिस गर्दै आए पनि बजेट विनियोजन हुन नसक्दा निर्माण अघि बढ्न सकेको छैन ।

इस्मा गाउँपालिका–६ का वडाध्यक्ष ढालबहादुर कुँवरले निर्माण भएका संरचना जोगाउन माटो उत्खनन रोकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “रङ्गशालाको काम अघि नबढ्नु दुःखद हो तर बनेका संरचना संरक्षण गर्नु पर्छ । स्थानीय तहसँग अधिकार छैन, प्रदेश र सङ्घीय सरकारको प्राथमिकतामा नपर्दा आयोजना अलपत्र परेको हो ।” 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑