सँगै सुत्ने व्यक्तिको घुराइले तपाईंको स्वास्थ्यमा कस्तो असर गर्छ ?
के तपाईं कहिल्यै घुर्ने साथीको छेउमा सुतेर भोलिपल्ट उठ्दा तनाव महसुस गर्नुभएको छ? ध्यान केन्द्रित गर्न गाह्रो हुने र कुराहरू बिर्सिरहेको जस्तो महसुस भएको छ? सुत्दा घुर्नु एक सामान्य समस्या हो। त्यसैले यसलाई सामान्य झन्झट मात्र मानेर प्रायः बेवास्ता गर्ने गरिन्छ। तर विशेषज्ञहरूका अनुसार घुर्ने व्यक्तिको छेउमा सुत्दा तपाईंको स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ।
डा. क्लेयर साइमनका अनुसार सुत्ने बेला हाम्रो माथिल्लो श्वासप्रश्वास नलीका नरम तन्तुहरूमा कम्पन हुँदा मानिसले घुर्छ। दन्त चिकित्सा विशेषज्ञ डा. साइमन स्लीप मेडिसिनमा विशेष रुचि राख्छिन्। ब्रिटिश स्नोरिङ एन्ड स्लीप एप्निया एसोसिएसन (बीएसएसएए) का अनुसार बेलायतको लगभग ४० प्रतिशत वयस्क जनसङ्ख्या घुर्छ र महिलाको तुलनामा पुरुषहरू यस समस्याबाट बढी प्रभावित छन्।
अमेरिकाको स्लीप फाउन्डेसनको एउटा सर्वेक्षण अनुसार घुर्ने साथीसँग बस्ने ७५ प्रतिशत मानिसले आफ्नो निद्रा प्रभावित भएको बताएका छन्। घुराइको असर साथीमा के हुन्छ र यसको समाधानका लागि तपाईं के गर्न सक्नुहुन्छ, आउनुहोस् यसबारे जानौं।
स्मरणशक्ति र एकाग्रता
एयरोक्स हेल्थका सल्लाहकार अर्थोडन्टिस्ट तथा निद्रा विशेषज्ञ प्रोफेसर अमा जोहलका अनुसार घुर्ने व्यक्तिका पार्टनर यति धेरै प्रभावित हुन सक्छन्, उठेर अर्को कोठामा सुत्न जानु उनीहरूका लागि अन्तिम विकल्प बन्न पुग्छ, आखिर उनीहरूले पनि सुत्नु त पर्छ। उनी भन्छन्, ‘हामी मानिस हौँ, निद्रा पूरा नगरी हाम्रो शरीरले काम नै गर्न सक्दैन।’
रातिको समयमा, सामान्यतया हरेक ९० मिनेटमा हामी निद्राका विभिन्न चरणहरूको दोहोरिने प्रक्रियाबाट गुज्रिन्छौं। शारीरिक थकान हटाउन र राम्रो स्वास्थ्यको लागि यस चक्रको गहिरो चरण अर्थात् डीप स्लीप साइकल धेरै महत्त्वपूर्ण हुन्छ।
बिएसएसएएका अनुसार यदि तपाईंको निद्रा बारम्बार टुटिरहेको छ भने निद्राको यस रेस्टोरेटिभ (पुनर्स्थापना) चरणमा तपाईंको शरीरले कम समय बिताउन सक्छ र ओछ्यानमा धेरै घण्टा पल्टिरहँदा पनि तपाईंले थकान महसुस गर्न सक्नुहुन्छ।
निद्राको समयमा नै हाम्रो मस्तिष्कले दिनभरि जम्मा गरिएका जानकारीहरूलाई प्रशोधन र सञ्चय गर्छ। यदि तपाईंको साथी घुर्छन् र तपाईं बारम्बार ब्युँझनुपर्छ भने तपाईं गहिरो निद्रामा जान सक्नुहुन्न। अवरोधयुक्त निद्राका कारण यस प्रक्रियामा पनि बाधा पुग्न सक्छ र यसको असर तपाईंको स्मरणशक्ति र एकाग्रतामा पर्न सक्छ।
खराब निद्राको असर हर्मोनमा पनि पर्न सक्छ र यसले तपाईंको शारीरिक ऊर्जा प्रभावित हुन्छ अनि तपाईं मानसिक रूपमा थकान महसुस गर्न सक्नुहुन्छ। हाम्रो मस्तिष्कको जुन भागले तनाव र भावनात्मक प्रतिक्रियालाई नियन्त्रण गर्छ, निद्राले त्यससँग जोडिएको प्रणालीलाई नियन्त्रण गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्छ।
निद्रामा अवरोध आउँदा यी प्रणालीहरू असन्तुलित हुन सक्छन्। यसले तपाईंलाई चिडचिडा बनाउन सक्छ र तपाईं तनावको सामना गर्न कम सक्षम भएको महसुस गर्न सक्नुहुन्छ।२९ वर्षीया मेग वारेनले पनि यस्तै केही अनुभव गरेकी थिइन्। उनका पूर्व पार्टनर घुर्थे र यसले उनको निद्रामा अवरोध पुर्याउँथ्यो।
मेग भन्छिन्, ‘घुराइको कारण निद्रा टुटेपछि म हरेक पटक अविश्वसनीय रूपमा सतर्क महसुस गर्थें।’ एउटा परोपकारी संस्थामा मिडिया अधिकारी रहेकी मेग आफू रातभरि आफ्ना पार्टनरलाई उत्तानो परेर सुत्न उक्साइरहने बताउँछिन्। मेगका अनुसार जब उनी बिहान उठ्थिन्, तब उनलाई निद्रा नपुगेको र बेहोसी जस्तो महसुस हुन्थ्यो। उनी भन्छिन्, ‘कहिलेकाहीँ यो यति धेरै हुन्थ्यो, ह्याङओभर नै भए जस्तो लाग्थ्यो।’
घुराइ उनीहरूको सम्बन्धमा एउटा परीक्षा बन्यो। मेग भन्छिन्, ‘मैले सधैं भन्दै आएकी थिएँ, यदि हामी सँगै बस्छौं भने असहनीय घुराइ हुने रातहरूको लागि हामीले एउटा अतिरिक्त सुत्ने कोठा राख्नुपर्छ।’ पार्टनरको घुराइका कारण निद्रा बिथोलिँदा चिडचिडापन आउन सक्ने र यसले झगडा पनि निम्त्याउन सक्ने साइमन बताउँछिन्।
घुराइकै कारण पार्टनरहरू छुट्टाछुट्टै कोठामा सुत्ने निर्णय गर्छन् भने यसले घनिष्ठतामा पनि कमी ल्याउन सक्ने उनी बताउँछिन्। घुराइको कारणले आफू कहिलेकाहीँ साथीभन्दा छुट्टै अर्को कोठामा सुत्ने गरेको ५२ वर्षीया पत्रकार एना लुइस डियरडन बताउँछिन्।
घुराइ धेरै नै खराब भएको अवस्थामा छुट्टै कोठामा सुत्दा आफ्नो शरीरको आरामलाई प्राथमिकता दिन मद्दत मिल्ने एनाको मान्यता छ। एना लुइस भन्छिन्, ‘यदि तपाईं बिहान उठ्नुहुन्छ र तपाईंको रातको निद्रा खराब भएको छ भने तपाईं धेरै खानुहुन्छ र धेरै चिडचिडापन महसुस गर्नुहुन्छ।’
एना प्रायः आफ्ना पार्टनरको घुराइको कारण राति ब्युँझिने गर्थिन्। यद्यपि इयर प्लग लगाउनु उनको लागि धेरै मद्दतगार साबित भयो। आफ्ना पार्टनरसँग एउटै ओछ्यानमा सुत्दा इयर प्लगले उनलाई घुराइको आवाजबाट बचाउने उनी बताउँछिन्।
मद्दत कहिले लिने?
साइमन र जोहल दुवै जना केही उपायहरू अपनाउन सकिने बताउँछन्। तर सबैभन्दा पहिले, तपाईंको साथीले मात्र घुरिरहेका छन् वा उनलाई स्लीप एप्निया छ भन्ने पत्ता लगाउनु जरुरी हुन्छ। स्लीप एप्निया एउटा यस्तो रोग हो जसको कारण सुतेको समयमा व्यक्तिको श्वासप्रश्वास बारम्बार रोकिने र सुरु हुने गर्छ।
यसका लक्षणहरूमा श्वास फेर्न गाह्रो हुनु, राति निसास्सिएजस्तो हुनु, बारम्बार ब्युँझनु र बिहान टाउको दुख्नु आदि समावेश छन्। यदि तपाईं यस समस्यासँग जुधिरहनुभएको छ भने तपाईंलाई कन्टिन्युअस पोजिटिभ एयरवे प्रेसर (सीपीएपी) मेसिन वा केही मामिलाहरूमा शल्यक्रिया उपचारको पनि सल्लाह दिन सकिने साइमन बताउँछिन्।
सामान्य घुराइको अवस्थामा जीवनशैलीमा परिवर्तन गर्दा फरक पर्न सक्ने साइमन बताउँछिन्। उदाहरणका लागि तौल घटाउने, धुम्रपान छोड्ने, सुत्नुअघि मदिरा सेवन कम गर्ने वा सुत्ने आसन परिवर्तन गर्ने जस्तै उत्तानो परेर सुत्नुको सट्टा कोल्टे परेर सुत्ने। तपाईं आफ्नो साथीलाई डाक्टरकहाँ जाने सुझाव पनि दिन सक्नुहुन्छ, जसले तपाईंलाई अवस्था अनुसार विशेषज्ञकहाँ रिफर गर्न सक्छन्।
यदि घुर्नुको कारण नाकको अवरोध वा एलर्जी हो भने विशेषज्ञले यसको उपचारको सुझाव दिन सक्छन्। केही परिस्थितिहरूमा तल्लो बङ्गारालाई बिस्तारै अगाडि धकेल्न र वायुमार्ग खुला राख्न एउटा विशेष माउथगार्ड लगाउने सल्लाह पनि दिन सकिन्छ।
धेरै जोडीहरूले घुराइलाई ‘धेरै लामो समयसम्म’ सहन गर्ने र यसले उनीहरूको सम्बन्ध र स्वास्थ्य दुवैमा असर पर्ने जोहल बताउँछन्। उनी भन्छन्, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा, मद्दत उपलब्ध छ, मात्र त्यसको लाभ उठाउनु जरुरी छ।’
बीबीसीका लागि कलेक्टिभ न्युजरुमद्वारा प्रकाशित।


प्रतिकृया दिनुहोस