१७ औं शताब्दी देखि पौंदेलीले मनाउदै आएको न्वागी
खर्वाङ । बागलुङ पश्चिमको पौंदी क्षेत्रका खेतमा धान झुलेसंगै न्वागीको रौनक शुरु हुन्छ । मंसिर महिनामा यहाँ पौंदेलीहरुले न्वागी खाने चलन छ । धान पाक्ने र काट्ने समय मंसिर महिनामा स्थानिय जर्डन प्रजातीको धानलाई दहीमा भिजाइ, केरा, सिलाम, चिनी आदि राखी स्वादिष्ट न्वागी बनाई खाने गरिन्छ ।
यस क्षेत्रमा न्वागी खाने चलन भने विसं. १७३४ सालमा भएको पुर्खाको योगदान, सहयोगि भवना र स्थानियको खुसीसंग जोडिएको छ । १२ औं शताब्दीमा स्थापित खस राज्य मल्लकालीन समय अर्थात १५ औं शताब्दीतिर टुक्रिन पुग्यो । जसबाट बनेका बाइसी र चौवीसी राज्य मध्ये इस्मा र मुसिकोट राज्यको भुभागको रुपमा बागलुङका दगातुम्डाँडा, जलजला, पाण्डवखानीका केहि भाग गुल्मीको इजरा क्षेत्रमा प्र¥यो । साथै दगाको केहि क्षेत्र मुसिकोटको मौजा समेत रहेको ईतिहास छ ।
सोहि ईतिहाससंग जोडिएको पौंदी क्षेत्रको आफ्नो छुट्टै ईतिहास रहेको छ । बागलुङको साविक जलजला, ग्वालिचौर र गुल्मीको पौंदीअमराई गाविसलाई पौंदी क्षेत्र भनिन्छ । यस क्षेत्रमा मगरहरुको उल्लेख्य बस्ती रहेको र उनिहरुकै खाम भाषामा पोम भनेको हिमालय शिखर वा उच्च टाकुरा र डि भनेको पानी भन्ने हुन्छ । अर्थात उच्च टाकुराबाट बग्ने नदि भन्ने अर्थमा सो क्षेत्रलाई पौडि भनिएको हो जुन शब्दपछि अपभ्रंश भएर पौंदी बन्न गएको बडिगाड ५ का स्थानिय कृष्ण बहादुर घिमिरेले बताए । æरुद्रतालबाट बगेको बडिगाड खोला र मदाने लेकबाट बगेको निस्ती खोलाको तटिय क्षेत्रलाई नै पौंदी क्षेत्र मानिएको ईतिहास गुल्मी दरबारको लिपिमा समेत रहेको छ घिमिरेले भने ।
सोहि पौंदीबासीले विसं. १७३४ सालदेखि न्वागी पर्व मनाउदै आएका छन । खेत भएकाहरुले खेत नभएकाहरुलाई र आफ्ना आफन्त, इष्टमित्रलाई पनि बोलाई न्वागी खुवाउने प्रचलन यस क्षेत्रमा अझैपनि छ । यसवर्षको न्वागी खाने दिन भने मंसिर ६ गते परेको थियो ।
मध्यकालिन नेपालको ईतिहासमा जुम्ला राज्यको विस्तारको क्रम्ममा एक समय ईस्मा राज्यको सिमाना साविकको ग्वालिचौर गाविसको दारेगौंडा सम्म आईपुगेको थियो । तर उक्त राज्य विस्तारको योजना गलकोट र पर्वत राज्यको सहयोगमा इस्मा राज्यले जुम्लाको विस्तार अभियानलाई रोकेको हुनाले पौंदी मौजा राजनैतिक महत्वको रहकोे र यसै खुसियालिमा न्वागी पर्व मनाउन थालिएको अर्का स्थानिय गुणानिधि घिमिरेले सुनाए ।
बागलुङको ग्वालिचौर, गुल्मीको अरेवा, अमराई लगाएत पौंदीबासीको खेतमा धान पाकेपछि कार्तिको पहिलो हप्ता मुसिकोटको छत्रकोटका पुजारी, स्थानिय र जनप्रतिनिधिको रोहबरमा मुठि लिने (धान काट्ने) र न्वागि खाने मिति हेराईने चलन रहको छ । उनले भने । यस वर्षको मुठिलिने (धान काट्ने) दिन भने गत कार्तिक ११ गते परेको थियो । तर कुन दिशा फर्कर कुन समयमा न्वागी खाने भनेर भने मंसिर महिना लागेपछि मात्र तोक्ने चलन रहेको समेत घिमिरेले सुनाए ।
न्वागिलाई घर घरमा होमन गरेपछि थानपति, छत्रभुमि, सिद्धका नाममा देवतालाई चढाई मंसिरको पहिलो हप्ताभित्र खाने चलन छ । उनले भने । विसं. २००७ साल भन्दा पुर्व ८० कुरिया पौंदी क्षेत्र भनेर चिनिने ग्वाचिलौर, अरेवा, अमराई, थाम आदि क्षेत्र र उक्त समयकालमै पाल्पा हुँदै नेवार समुदायले ग्वालिचौरको खारबजारमा व्यापार गर्न थालेको पनि क्षेत्रको ईतिहास रहेको छ ।
यस पटक पनि पौंदेलीले शुभ साईतमै मंसिर ६ गते ९: ३२ को समय न्वागी खाएका थिए । उनिहरुले विगतमा न्वागी खाने दिन सोरठी भैलो तथा स्थानिय उत्पादनको बस्तु विनिमय गरेर पर्व मनाउन शुरु गरेका थिए । अहिले त्यो पर्वले बागलुङ तथा गण्डकी प्रदेशकै ठुलो मेलाको रुपमा आफ्नो छुट्टै पहिचान बनाएको छ ।
मंसिर ६ बाट न्वागी मेला न्वागी पर्वको अबसरमा जिल्लाको बडिगाड गाउँपालिकाको खार बजारमा हुँदै आएको न्वागी मेला यस पटक मंसिर ६ गतेदेखि शुरु भएको छ । विगतमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर मनाईदै आएको न्वागी मेला ६०को दशकदेखि देखि न्वागी मेलाको आयोजना पौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिले गर्दै आएको छ ।
मंसिर १२ गते सम्म संचालन हुने मेलाको सोमबार उद्घाटन गर्दै बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले वौचारीक र स्वस्थ प्रतिस्पर्धा गरि गाउँको विकास गर्नु नै अहिलेको मुख्य आवश्यक्ता भएको बताईन् । मेला पर्वले स्थनिय पर्यटन विकासमा पनि सहयोग पुग्ने बताउदै अधिकारीले सभ्य समाज बनाउन सबैको दायित्व रहने बताईन् ।
यस्तै जिल्ला खेलकुद विकास समिति बागलुङका पुर्व अध्यक्ष शुनिल शेरचनले आधुनिक्ताले मेला पर्व मंहगिदै गएकाले मौलिक मेला पर्वको संरक्षणमा सबैले सहकार्य गर्न आवश्यक रहेकोमा जोड दिए ।
न्वागी मेलामा यस वर्ष भलिवल प्रतियोगितालाई मुख्य आर्कषणका रुपमा राखिएको छ । देशकै सर्वाधिक राशिको खुल्ला वडा स्तरीय पुरुष भलिवल प्रतियोगितामा विजेताले २ लाख १ हजार १११ कप मेडल र प्रमाण पत्र उपविजेताले १ लाख १ हजार १११ मेडल र प्रमाण पत्र पाउने भलिवल खेल संयोजक काजिमान गौचनले बताए ।
यस्तै प्रतियोगितामा तितृय हुने समुहले ५१ हजार १११ कप मेडल र प्रमाणपत्र पाउने छन । मेलाकै अबसरमा संस्कृति संरक्षणको लागि लोक भजन, सोरठी भैलो, सराय नाच संगै विभिन्न अन्य प्रतियोगिता समेत राखिएको समितिका सचिव विष्णु प्रसाद आचार्यले बताए ।
बृहत कृर्षि प्रर्दशनी र ख्याती प्राप्त राष्ट्रिय कलाकारको समेत प्रस्तुती रहने मेला अबधीभर रमाईलो मेलाको साथमा बाल उधानपनि रहने सह सचिव बुद्ध परियारले जानकारी दिए ।


अनिष पाठक
प्रतिकृया दिनुहोस