• २० बैशाख २०८१, बिहीबार
  • १४:०५:४०

Now: संगित सरगम

Next: नेपाल खवर

गितकै कारण जुरेको बागलुङ कालिका र पञ्चकोटको यात्रा 

वैदेशिक रोजगारीको कारण प्रदेशी जीवन जिउन बाध्य युबाहरु आफ्नो करार अबधी सकिएपछि अथवा छुट्टिमा घर फर्किदा खुशिको सिमा नै हुदैन । परिबारिक माया नै जीवन जिउने सुन्दर आधार रहेछ ।

खासगरी थोरै दिन बिदाको अबसरमा आफ्नो परिवारका सदस्यहरु सहित धार्मिक यात्रा गर्ने सुबणर् अबसर मिल्यो भने झनै धेरै खुशी मिल्दो रहेछ ।  निरन्तर रूपमा बि.स.२०७८/७९ ले मलाइ त्यो अबसर दियो ।

२०७८ सालको फाल्गुन ६ गते ढोरपाटन नगरपालिका वडा न.९ मा अबस्थित ऐतिहासिक महत्व, धार्मिक आस्थाको धरोहर र स्वर्गको एक टुक्रा उत्तरगङ्गा ढोर बराही मन्दिर दर्शन गरेका थियौ ।

भने ठ्याक्कै एक बर्ष पछि २०७९ को बिदाई र नयाँ बर्ष आगमनको पुर्बसन्ध्यामा परिवारका सदस्यहरुको उल्लेख्य सहभागितामा बाग्लुङ जिल्लामा अबस्थित पबित्र धार्मिक स्थलहरु “बाग्लुङ कालिका” र “बाग्लुङ पन्चकोट” आन्तरिक पर्यटकको  रूपमा यात्रा गर्ने बाताबरण बन्यो ।

यात्राको परिकल्पना गर्ने लक्ष्मी गिरिको संयोजकत्वमा पुज्यनिय आमा खुमा गिरि, मनरुपा गिरि आदरणीय दाजु-भाउजु बिक्रम गिरि/नरि गिरि, सीता गिरि, भद्रा पुरी गिरि, गोपाल गिरि, सागर/सनम गिरि, अस्मिता गिरि, कोपिला गिरि, दिपलभ गिरि,  संजोक गिरि र लोभिशा गिरि सहितको टोलि चैत्र २९ गते धार्मिक यात्रा गर्ने सहमति अनुसार बिहान ४ बजेको समय निर्धारण गरिएको थियो ।

यात्रा सहज र आरामदायी बनाउनको लागि चालक बिस्णु जिसि र उहाँकै गाडीको ब्यबस्था गरियो । परिवारका सबै सदस्यहरु यात्राको लागि उत्साहित थियौ । त्यसैले सबैले आ-आफ्नै तरिकाबाट तयारीमा थियौ ।

साच्चिकै प्रतीक्षाको घडी लामो हुदोरहेछ । त्यसैले होला २९ गते बिहान २ः३० बजे लक्ष्मी गिरि उठिसकेकी थिइन । आफ्नो जिम्मेवारी अनुसार सबैलाई फोन सम्पर्क गर्दै थिइन ।त्यतिबेला सम्म म पनि उठन बाध्य भए । ३ बजेदेखि चहलपहल सुरु भयो ।

सबै जना उठेर निर्त्यकर्म संगै पशु चौपायको दानापानीको ब्यबस्था मिलाइ ताला-चाबी लगाएर बिक्रम दाजुको घरमा भेला हुन थाल्यौ । चालक संग फोन सम्पर्क भयो । केही समय पछि ड्राइभर साहेब हर्न बजाउदै गाडी लिएर आउनु भयो । 

बसाईको ब्याबस्थापन पछि झण्डै पौने ५ बजे मुसिकोट नगरपालिका १,पौदी अरेवा भुसालचौर देखि गाडी छुट्यो । गाडिले बिस्तारै गति लिदै बिसौना हुँदै  क्षेत्रेको मोटोरेबल पुल पार गरि बडिगाड गाँउपालिकाको खर्बाङ्ग बजार, मनेवा पाटा, गल्कोट हटिया, मौरिया, झाक्रीस्थान, चौराह हुँदै भ्युटावर पुगियो ।

भ्युटावर साच्चिकै सुन्दर, शान्त र रमणीय थियो । बिहानिपखको सुर्योदय सङ्गै हातमुख सफा गरि होटेल माउन्टेन भ्यु एन्ड रेस्टुरेन्टमा चियापान गर्यौ । २/४ थान प्रतिबिम्ब खिच्न/सेल्फी हान्न र टिकटक बनाउन सम्म भ्याइयो ।

त्यसपछि क्रमिक रुपमा काठेखोला गाउपालिका अन्तर्गतका घोडाबाधे, रिजाल चोक, शिबालय चोक, बिहु, बिहुपोखरा, अक्षेतेखोला हुँदै बिहान करिब १० बजे पश्चिम नेपालको सुन्दर शहर बाग्लुङ बजार क्षेत्रमा प्रवेश गरियो ।

बाग्लुङ्ग बजारको किनारमा दिनहु सयौं/हजारौं भक्तजनहरुको भिड लाग्ने कालिका मन्दिरको प्रवेशद्वारमा हामी एक दुई जना बाहेक अन्य सबै पहिलो पटक पाइला टेक्दै थियौ । प्रवेशद्वार भित्र घना जङ्गल, शौचालय, स्नानगृह र पिउने पानीको सुबिधा सहित बाघको सालिक लगाएत विभिन्न कलात्मक मठ मन्दिरहरुको सुन्दर, शान्त र सफा दृश्यले दर्शानार्थिहरुको मन लोभ्याउथ्यो ।

मन्दिर ब्यबस्थापन समितीको निगरानीमा मन्दिर परिसर भित्र र प्रवेशद्वार वरिपरि हात थाप्नेहरु अथवा मागी खानेहरु देख्न पाइदैनथ्यो । यो सकारात्मक पक्षको लागि धन्यवाद दिन कन्जुस्याइँ गर्नु हुदैन । कालिका मन्दिरमा बिधिबत रुपमा पूजा प्रार्थना र आ-आफ्ना माग भगवान संग पेश गर्दै भजनकिर्तनमा नाचगान गरि मन्दिर देखि बाहिर निस्कियौ । 

मन्दिरको प्रवेशद्वार नजिकै रहेको होटेलमा शुद्ध शाहकारी भोजन ग्रहण गर्यौ । भोजन पश्चात् बागलुङ र पर्बत दुई जिल्ला जोडने ५६७ मिटर लम्बाईमा रहेको झोलुङ्गे पुल (गण्डकी गोल्डेन ब्रीज)को अबलोकन गर्यौ ।

धेरै झोलुंगे पुल भएको जिल्लाको रुपमा परिचीत हुदाहुदै पनि बाग्लुङ/पर्बत जिल्लामा निर्मित “गोल्डेन ब्रीज” साच्चिकै आन्तरिक पर्यटनको लागि आकर्षणको केन्द्र भएको छ । पुलको अबलोकन पछि हाम्रो टोलि बाग्लुङ पञ्चकोटको लागि रवाना भयो ।

गोल्डेन ब्रीजदेखी पञ्चकोट पुग्न झण्डै एक घन्टा लाग्यो । बाटो साघुरो र चढाउ थियो । केही बाटो पिच गरिएको थियो भने केही कच्ची थियो । कच्ची बाटो अत्यन्तै चढाउ भएका कारण गाडिले तान्न नसक्दा २/३ पटक हामी गाडिबाट झर्न बाध्य भयौ । त्यसैगरी अत्यधिक धुलोको कारण मन्दिर सम्म पुग्दा हाम्रो शारीरिक अबस्था पिडादायी थियो ।

जब हामी पञ्चकोटको धुरिमा गाडी पार्किङ्ग गरि मन्दिर परिसर भित्र प्रबेश गर्यौ सबै ब्यथा बेदना, पिर मर्का बिर्सिएर आनन्दित भयौ । अत्यन्तै ठूलो आकारमा हनुमान को मुर्ति/गरुडको मुर्ती/सर्बसिध्दी गुफा/गणेश मन्दिर/सिंह गुफा/गरुडशिला/शिशमहल(राधा/कृष्ण)/मुक्तिनाथ बाबा विश्राम स्थल/गण्डकी गोपाल गौशाला/रेलिङ्ग गरिएको मन्दिर परिसर/निर्माणाधीन मन्दिरका भवन/५,५५५ केजिको माहाघन्ट र प्रशासनिक भबन आदि इत्यादिले पन्चकोट शोभनीय बढाएको छ ।

शुद्ध पिउने पानी र शौचालयको ब्यबस्थापन सहितका सेवा सुबिधा गम्भिरतापुर्बक अबलोकन गर्यौ । साथसाथै ब्यबस्थापन पक्षलाई धन्यवाद दियौ । यसैगरी सबै नेपालीहरुले धार्मिक आस्थाको धरोहर पबित्र स्थलहरुको संरक्षण र प्रबर्द्धन गर्न सक्यौ भने आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिन्छ ।

“आहा क्या राम्रो बाग्लुङ पञ्चकोट”भन्ने लोक गितका सर्जक तथा गाएकलाई सम्झिएर उच्च संमान गर्यौ । सोही गित संगीतको कारण त्यहाँ सम्म पुग्ने बाताबरण बन्यो । अन्यथा पन्चकोटको बारेमा हामी अनभिज्ञ थियौ ।

पन्चकोट मन्दिरको दर्शन र परिसरको बस्तुस्थिति अबलोकन पछि फर्किने क्रममा अक्षेतेको पुल तरेर दाहिनेतर्फ किम्बोट, इनारपानी, बिहु पोखरा, बिहुको उकालो हुदै रिजालचोक निस्कनुपर्नेमा बैकल्पिक बाटोको खोजी र ड्राइभरको भुलभुलैयाका कारण देब्रे मोड हुदै काठेखोला गाउँपालिका अन्तर्गतको लेखानी गाउँ घुम्न बाध्य भयौ । 

त्यो बाटो निकै साघुरो, ढुङ्गा सोलिङ्ग गरिएको र चढाउ भएको कारण यात्रा कठिन थियो । गाडी ब्याक गर्न नसकिने र धेरै शाखा बाटाहरु भएको कारण ड्राइभरलाई थप अन्योलता थियो । लामो समयसम्म चिया नास्ताको लागि होटेल रेस्टुराँको अभावमा महिला तथा बालबच्चाहरु निराश हुनु स्वभाबिक थियो । 

लेखानी हुँदै चौराह सम्म आउन झन्डै २ घन्टा लागेको थियो । चौराहा निस्किएपछी मात्र सबैको चेहरा उज्यालो देखिन्थ्यो । त्यसपछि गल्कोट हटियामा चियापान गर्यौ । चिया नास्ता र क्षणिक विश्राम पछि हटिया बजार छोडी खर्बाङ्ग बजार आयौ । बजारमा केही सरसमान खरिद गरि करिब ८ः०० बजे घरमा आइपुग्यौ । चालक लाइ बिदाइ गरि हामी सबै आ-आफ्नो घरतर्फ लाग्यौ । 

अर्को दिन बिहान परिवारका सबै सदस्यहरु गोपाल/लक्ष्मी को घरमा भेला भएर प्रेमको भोजन सहित यात्राको समिक्षा गर्यौ । यात्राको क्रममा कैद गरिएका प्रतिबिम्ब, भिडियो आदि इत्यादि साटासाट गर्दै आगामी दिनहरुमा पनि धार्मिक यात्रा गर्ने प्रतिबद्धता सहित अत्यन्तै सौहार्दपुणर् बाताबरणमा  यो पटकको धार्मिक कार्यक्रम समापन गरियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै