प्रभु बैंकका बडिगाडमै ३ शाखा, आज एकैदिन ४ शाखाको उद्घाटन
उत्तरगंगा आयोजना समयमै निर्माण हुनुपर्नेमा सांसद भट्टचनको जोड

खर्वाङ : प्रतिनिधि सभाका सदस्य देवि प्रकाश भट्टचनले बहुप्रतिक्षित उत्तरगंगा जलासययुक्त आयोजनाको निर्माणले बागलुङ पश्चिमको मुहार फेरिने बताउनु भएको छ। आज प्रभु बैंकको शाखा कार्यालय खर्वाङको उद्घाटन गर्दै सांसद भट्टचनले प्रधानमन्त्रिले आयोजना अगाडि बढाउने प्रतिवद्धता गरेको भन्दै आगामी ४ वर्षमा आयोजना निर्माण प्रगति हुने विश्वास रहेको बताउनु भएको छ। प्रभु बैंकका संस्थापक अध्यक्ष समेत रहनुभएका सांसद भट्टचनले बडिगाड क्षेत्रमा बैंक स्थापनाको लागि धेरै पहिले देखि नै प्रयत्न भएको तर ढिलै भएपनि पालिका भित्र एउटै बैंकका ३ वटा शाखा सञ्चालन हुनु सुखद् रहेको बताउनु भएको छ।
बैंक उद्घाटन कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले विचारमा विविधता भएपनि विकासमा एकतावद्ध हुनुपर्नेमा जोड दिँदै बैंकको स्थायित्व र व्यवसायीकरण महत्वपूर्ण हुने बताउनु भएको छ। जाँगरिला विद्यार्थी, युवा तथा महिलाहरुलाई उद्यममा जोड्ने गरि बडिगाड गाउँपालिकाको निति तथा कार्यक्रम भएकोभन्दै अध्यक्ष अधिकारीले बैंक संगको सहकार्यबाट सार्थकता पाउने विश्वास व्यक्त गर्नुभएको छ।
कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारि अधिकृत अशोक शेरचनले उद्योग र उद्यमी लामो र निरन्तरताको मेहनतबाट बन्ने भन्दै मेहनत र इमान्दारिता संग बैंक जोडिने बताउनु भएको छ। त्यस्तै मुसिकोट नगरपालिकाका उपप्रमुख गंगा श्रेष्ठले गुल्मी तथा बागलुङको संगमस्थलमा रहेको खर्वाङमा बैंक खुल्नु थप विकासको आयाम भएको बताउनु भएको छ। वडा अध्यक्ष ढाल प्रसाद शेरचनले लामो मिहनेतबाट बैंक स्थापना भएको भन्दै खर्वाङ आसपासको विकासलाई थप योगदान पुग्ने बताउनु भएको छ।
प्रभु बैंक खर्वाङ शाखाको उद्घाटन कार्यक्रम प्रभु बैंक गण्डकी प्रदेशका प्रमुख व्यवसायीक केन्द्र अधिकृत शान्ति शेरचनको अध्यक्षता, खर्वाङ शाखाका प्रमुख दिपक शर्माको स्वागत मन्तव्य तथा गण्डकी प्रदेशका प्रमख अधिकृत राजु रानाको सञ्चालनमा सम्पन्न भएको थियो।
यसैविच आजै प्रभु बैंकको बडिगाड गाउँपालिका वडा नं। ७ को भिमगिठे, निसिखोला गाउँपालिका वडा नं. ५ को निसि तथा ढोरपाटन नगरपालिका वडा नं. ७ बोवाङमा समेत शाखा स्थापना तथा उद्घाटन भएको छ।
विश्वास लिन्छौं, विश्वास दिन्छौं भन्ने नारा सहित २०७० सालमा स्थापना भएको बैंकका देशैभर ३ सय १३ वटा शाखा, ६८ वटा एक्सटेन्सन काउन्टर र २ सय ८२ एटिएम सेवा रहेको छ।
प्रतिकृया दिनुहोस