महिलालाई आत्मनिर्भर बनाउन बडिगाडमा होजियारी सीप विकास तालिम सम्पन्न

बडिगाड । महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले बागलुङको बडिगाड गाउँपालिकामा सञ्चालन गरिएको २ महिने होजियारी सीप विकास तालिम सम्पन्न भएको छ ।
गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत गाउँपालिकाको झण्डै १० लाख बजेटबाट वडा नं ६ स्थित कृषि महिला समुहमा आबद्ध महिलाहरुका लागि उक्त तालिम प्रदान गरिएको हो ।
छिसफाँटमा सञ्चालन गरिएको तालिमबाट सहभागीहरुले स्वेटर, गलबन्दी, टोपी, मोजा, पञ्जालगायतका सामग्री बुन्न सिकेको तालिमका प्रशिक्षक मदन अधिकारीले जानकारी दिनुभयो ।
तालिममा त्यस क्षेत्रका १८ जना महिलाहरुको सहभागीता रहेको थियो । यत्तिकै घरमा बसेर समय खेर फलिरहेका महिलाहरु तालिमबाट स्वरोजगार बन्न सक्ने गरी तालिम पाएपछि खुसी भएका छन् ।
वडा नं ६ नयागाउँकी मिना बि.कले तालिमले बेरोजगार भएर बसेका आफु जस्ता महिलाहरुका लागि आत्मनिर्भर बन्ने बाटो बनाएको भन्दै खुसी व्यक्त गर्नुभयो । तालिमै सहभागी स्थानीय कल्पना वि.कले तालिमबाट सिकेको सीपलाई सदुपयोग गर्ने भन्दै तालिम दिने गाउँपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो ।
गाउँपालिकाले सुरुवातमा १ महिने तालिमको रुपमा सुरुवात गरेपनि प्रयाप्त रुपमा सीप विकास गर्नका लागि १ महिना थप गरेर २ महिनासम्म सञ्चालन गरेको हो । गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले तालिमबाट सिकेको सीपको सदुपयोग गर्दै उद्यमसंग जोडिएर आत्मनिर्भर बन्न आग्रह गर्नुभयो ।
तालिममा सहभागी महिलाहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको छ । तालिमबाट सिकेको सीपलाई सदुपयोग गरी उद्योग दर्ता र सञ्चालन गर्ने गरी योजना बनेको छ । गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनले बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।
तालिम समापन समारोहमा वडा नं ६ का वडाध्यक्ष विर बहादुर खत्री, गाउँपालिकाका प्रशाशकीय अधिकृत चण्डीराज पौडेल, उद्यम विकास सहजकर्ता सिमा काउचा लगायतको उपस्थिति रहेको थियो ।
बडिगाड गाउँपालिकाले विभिन्न समयमा महिलाहरुका लागि विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आईरहेको छ । निरन्तर रुपमा अचार बनाउने तालिम, सिलाई कटाई तालिम, हस्तकलाका सामाग्री निर्माण तालिम लगायतका विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आईरहेको छ ।
प्रतिकृया दिनुहोस