वर्ल्ड अफ वोमनकाे नेपालका १ सय प्रभावशाली महिलाको सुचिमा बडिगाड गाउँपालिका अध्यक्ष अधिकारी पनि

गुल्मी । नेपालका १ सय प्रभावशाली महिलाको सुचिमा बागलुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी पनि पर्नुभएको छ । वर्ल्ड अफ वोमन (डब्ल्यूओडब्ल्यू)ले सार्वजनिक गरेका १ सय प्रभावशाली महिलाको सुचिमा थापा पनि पर्नुभएको हो ।
उक्त म्यागजिनले नेपालमा नेतृत्व तहमा रही परिवर्तनलाई अगाडि बढाउने महिलाहरूको सामूहिक शक्ति नामक शीर्षकमा प्रभावशाली महिलाको सुचि सार्वजनिक गरेको छ ।
उक्त सुचिमा भरतपुर महानगरपालिकाका नगरप्रमुख रेनु दाहाल, पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ, प्रतिनिधि सभाको पहिलो महिला उपसभामुख शिवमाया तुम्बाहाम्फे, महिला नेतृ बृन्दा पाण्डे लगायत छन् ।
उक्त ई–म्यागजिनले नेपालका विभिन्न क्षेत्रमा क्रियाशिल रही नेतृत्व तहमा पुगेका र आफ्नो साहस र दृष्टिकोण मार्फत अगाडी बढेका महिलाहरुको सूची सार्वजनिक गरेको छ । सरकार, राजनीति, कलाकारिता, खेलकुद, युवा नेतृत्वलगायत विधामा सय प्रभावशाली महिलाको सूची तयार पारेको हो ।
थापा जनप्रतिनिधि तर्फ प्रभावशाली महिलाको सूचीमा हुनुहुन्छ । दृढ संकल्प, नवीनता, चुनौतीपूर्ण अवस्थाहरुलाई पार गर्दै नयाँ मार्गहरू कोर्ने महिलाहरुको सुचि सार्वजनिक गरी अन्य महिलाहरुलाई पनि प्रेरित गर्ने र समावेशी संसार निर्माणमा महिलाहरूले सिर्जना गर्ने असाधारण प्रभावको बारेमा जानकारी दिने उद्धेश्यले सुचि सार्वजनिक गरिएको डब्ल्यूओडब्ल्यूले जनाएको छ ।
थापाले विशेषगरी ग्रामीण क्षेत्रमा रहेका महिलाहरुको उत्थान, महिला स्वास्थ्य र ग्रामीण पूर्वाधारको क्षेत्रमा गरेका कार्यहरु उल्लेख गर्दै प्रभावशाली महिलाको सुचिमा राखिएको छ ।
निःशुल्क स्वास्थ्य बीमा, गर्भवती महिलाहरूको लागि एक्स–रे सेवा, पोषण सहयोग सहित कल्याणकारी कार्यक्रमहरू सुरु गरेको र साना उद्योगहरूलाई प्रवद्र्धन गरेको भन्दै प्रभावशाली महिलाको सुचिमा समावेश गरिएको हो ।
त्यस्तै अधिकारीले ग्रामीण पूर्वाधार सुधार गर्न पहलहरूको नेतृत्व गर्दै सौर्य ऊर्जा परियोजनाहरू र स्थानीय महिलाहरूको लागि डिजिटल साक्षरता तालिम, स्मार्ट खेती अभ्यासहरू मार्फत कृषि दिगोपन बढाउन र कमजोर समुदायहरूको लागि जलवायु अनुकूलन कोष सुरक्षित गर्नमा पनि केन्द्रित रहेको जनाएको छ ।
थापा हालै मात्रै शी लिड्स आइकन अवार्डबाट पनि सम्मानित हुनुभएका थियो । जसले देशभर रहेका महिला जनप्रतिनिधिहरु मध्येबाट उत्कृष्ट कर्म गर्ने प्रतिनिधिहरुलाई प्रतिस्पर्धात्मक ढाँचाबाट छनोट गरेको थियो ।
एक सय प्रभावशाली महिलाको सुचीमा परेकोमा खुसी व्यक्त गर्दै थापाले आफुले चर्चाका लागि भन्दा पनि वास्तविक नागरिकका समस्यालाई नजिकबाट नियालेर कर्म गरिरहेको भन्दै यसले अझै उत्साह र प्रेरणा थपेको बताउनुभयो । उहाँले आफ्नो सिंगो प्रयासले मात्रै सम्भव नभएको भन्दै सबै क्षेत्रको सहयोग र सहकार्यले नै आफु यो स्थानसम्म आईपुगेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस