• ३० फाल्गुण २०८१, शुक्रबार
  • १७:२२:२२

Now: बदलिँदो नेपाल

Next: नेपाल खवर

बुटबलका कुनै पनि अस्पतालमा मुसिकोटका पाँच वडाका नागरिकले निःशुल्क रगत पाउने

गुल्मी । जिल्लाको मुसिकोट नगरपालिका अन्तर्गत रहेका ५ वटा वडामा बसोबास गर्ने नागरिकले अब रुपन्देहीमा उपचारको क्रममा निःशुल्क रगत पाउने भएका छन् । वडा नं १, २, ४,८ र ९ नं वडाका नागरिकहरुले बुटबलका कुनै पनि अस्पतालमा उपचारको क्रममा निःशुल्क रगतको व्यवस्थापन गर्ने गरी सम्झौता भएको छ ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका अध्यक्ष रामचन्द्र उपाध्याय र सम्बन्धित वडाका वडाध्यक्षहरुबीच आईतबार भएको सम्झौता बमोजिम उक्त वडामा स्थायी बसोबास भएका नागरिकहरुले निःशुल्क रगत प्राप्त गर्नेछन् ।

सम्झौताअनुसार वडा भित्र स्थायी बसोबास भएका बिरामीले चिकित्सकको सिफारिसमा रेडक्रसबाट निःशुल्क रगत पाउने गरी सम्झौता गरिएको मुसिकोट नगरपालिका वडा नं २ का वडाध्यक्ष रविन्द्र के.सीले जानकारी दिनुभयो ।

सम्झौता अनुसार वडाबासीले प्रयोग गरेको रगतको मूल्य रेडक्रसलाई सम्बन्धित वडाले तिर्ने छन् । उक्त रगत रेडक्रस अन्तर्गत रहेको रक्त संचार सेवा बुटवल/भैरहवाले उपलब्ध गराउनेछन् ।

नागरिकहरुको उपचारका क्रममा आवश्यक पर्ने रगत तथा रगतजन्य पदार्थको सहज र निःशुल्क उपलब्धता गराउने गरी यस्तो कार्यक्रम सुरुवात गरिएको वडाध्यक्षहरुको भनाई छ । वडाहरुले रेडक्रस शाखा रुपन्देहीलाई बार्षिकरुपमा रकम भुक्तानी गर्नेछ । बिरामीलाई रगत अभाव नहोस् भनेर सबै वडाहरुको विभिन्न स्थानमा रक्तदान शिविरसमेत सञ्चालन गरिने वडा नं १ का वडाध्यक्ष आनन्द श्रेष्ठले बताउनुभयो ।

गुल्मी जिल्लाका १२ स्थानीय तह मध्ये मुसिकोट क्षेत्रका नागरिकहरुको स्वास्थ्य उपचारको प्रमुख गन्तव्य बुटबल हो । लामो दुरीबाट उपचारका लागि पुगेका आफ्‌ना नागरिकहरुलाई विभिन्न किसिमका उपचारमा रक्त अभाव हुन नदिन र रगतकै कारण हुने जोखिम न्यूनिकरणका लागि यस्तो निर्णय गरिएको वडा नं ९ का वडाध्यक्ष भुमा गुरुङले जानकारी दिनुभयो ।

उक्त सम्झौताले समय-समयमा हुने गरेको रगत अभाव जस्तो समस्याको समाधानमा मद्दत पुर्‍याउने विश्वास पनि लिईएको छ । निःशुल्क रगतको सेवा लिन सम्बन्धित वडाको बासिन्दा भएको प्रमाणित हुने कुनै किसिमको कागजात (नागरिकता, मतदाता परिचय-पत्र, बसाईसराई, सवारी चालक अनुमति पत्र, राहदानी, विवाहदर्ता, जन्मदर्ता, आदि) को प्रतिलिपि बिरामीका आफन्तले रक्तसंचार सेवामा रगत वा रक्त तत्व लिन जाँदा बुझाउनुपर्नेछ ।

सम्झौता कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाका सभापति रामचन्द्र उपाध्याय, मन्त्री टेक थापा, नेपाल स्वयंसेवि रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान, सदस्य जानकी नेपाल, सामाजिक अभियान्ता एवम् २७ पटक सम्म रक्तदान गरिसक्नुभएका सुमेन्द्र सिंह ठकुरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै