• १७ श्रावण २०८३, आइतबार
  • ०२:१८:१०

Now:

Next: शुभारम्भ धुन

ढोरपाटन मध्यवर्ती क्षेत्र घोषणा नहुँदा राजस्वजति सबै केन्द्रमा

बागलुङ । ढोरपाटन सिकार आरक्षमा मध्यवर्ती क्षेत्र घोषणाको काम अगाडि बढ्न नसक्दा स्थानीय सरकार र स्थानीय समुदायलाई असर परेको स्थानीयले गुनासो गरेका छन् । स्थापना भएको ४३ वर्ष बितिसक्दा पनि राजनीतिक अगुवा र आरक्षको पटक–पटकको जुहारीले मध्यवर्ती क्षेत्र घोषणा हुन नसक्दा स्थानीयले त्यसको लाभ लिन सकेका छैनन् ।मध्यवर्ती क्षेत्र बन्न नसक्दा ढोरपाटनमा चोरी सिकार बढेको आरक्षको दाबी छ ।

स्थानीयले भने चरिचरन मासिएको, थातथलोमा परम्परादेखि गरिएका काम गर्न रोक लगाइएको आरोप लगाउने गरेका छन् । मध्यवर्ती बनाउन आरक्षले स्थानीय पालिका, जनप्रतिनिधि, आरक्ष आसपासका स्थानीयबासीसँग चरणबद्ध छलफल गरे पनि निष्कर्ष कहिल्यै पनि नआएको हो । मध्यवर्ती क्षेत्र घोषणामा ढिलाइ हुँदा बर्सेनि आउने करोडौं बजेट स्थानीयको हितमा खर्च हुन सकेको छैन ।

आरक्षको तथ्यांक अनुसार विभिन्न स्रोतबाट यहाँ बर्सेनि ७ करोडसम्म राजस्व संकलन हुने गरेको छ । मध्यवर्ती बनेको खण्डमा ५० प्रतिशतसम्म स्थानीय विकासमा खर्चन पाउने प्रावधान छ । मध्यवर्ती क्षेत्र घोषणाका लागि बागलुङको ढोरपाटन नगरपालिका, तमानखोला र निसीखोला गाउँपालिका तथा रुकुमको पुथा उत्तरगंगा र म्याग्दीको धौलागिरि गाउँपालिकाको कार्यपालिकाले निर्णय गर्नुपर्छ ।

यो बजेटले ढोरपाटन क्षेत्रमा सडक, पुल र पदमार्ग निर्माण तथा सामुदायिक सीप विकासका काममा खर्चन पाउँछन् । आरक्षमा आउने सिकारीले तिर्ने राजस्व, उत्तरगंगा लगायतका खोला तथा नदीजन्य बस्तुको उत्खनन, काठपात बिक्री र दण्ड–जरिवानाबाट संकलित रकमसमेत स्थानीयले उपभोग गर्न नपाएका हुन् । ती पालिकाका प्रमुख, उपप्रमुखसहितको पटक–पटकको बसाइ भए पनि निष्कर्ष ननिस्केको हो ।

चोरी सिकारीबाट असुल्ने दण्ड–जरिवानासमेत अहिले केन्द्रीय सरकारको राजस्वमा जाने गरेको छ । ‘आरक्षको फाइदा आमनागरिकले पाउनु पर्छ भनेर बेलाबेला छलफल त भइरहन्छ तर निष्कर्ष आएको छैन,’ आरक्षका रेन्जर सागर सुवेदीले भने, ‘यसको प्रक्रियामा कोही पनि जान खोजेको देखिएन ।’ मध्यवर्तीबाट पाउने फाइदाबारे बुझाउन नसक्दा ढिलाइ भएको उनले बताए । 

जथाभावी संरचना बनाउन आरक्षले रोक लगाउने गर्दा स्थानीयले भने आफ्नो थातथलोमा काम गर्न नपाएको टिप्पणी गर्छन् । बागलुङको निसेलढोर, रुकुमको तकसेरा, गाडिखोला छेन्टुङ हुँदै म्याग्दीको गुर्जातर्फका सडकसमेत सोही कारण देखाएर स्तरीय बनेका छैनन् । उत्तरगंगाको बालुवा उत्खनन गर्न पनि नपाएपछि कतिपय विकास निर्माणको काम गर्न नसकेको स्थानीयले गुनासो गरेका छन् ।

मध्यवर्ती क्षेत्र घोषण भएमा हाल आरक्षले बेच्दै आएको निर्माण सामग्रीको पनि स्थानीयले उपयोग गर्न पाउने आरक्षका कर्मचारी बताउँछन् । तर आवश्यक सहकार्य अभाव भएको र बुझाइमा समस्या भएको उनीहरूको टिप्पणी छ । हाल ढोरपाटनमा वर्षमा ३० हजार पर्यटक पुग्छन् । 

मध्यवर्ती क्षेत्र बनाएमा आरक्ष आसपासमा होमस्टे, होटल तथा रेष्टुरेन्ट संचालन गर्ने, पर्यटन प्रवर्द्धनका अन्य गतिविधि संचालन तथा पदमार्ग निर्माण गरेर पर्यटक भित्र्याउने कामसमेत स्थानीयले गर्न सक्ने छन् । केही वर्षअघि स्थानीय पूर्णबहादुर घर्तीको संयोजकत्वमा ढोरपाटन सिकार आरक्ष पीडित संघर्ष समिति बनाएर मध्यवर्तीको विरोध भएपछि अहिलेसम्म स्थानीयहरू एकमत भएर आउन नसकेपछि आरक्षले पनि संवाद गर्न नसकेको हो ।

उनीहरूले सेना ल्याउन नदिने, मध्यबर्ती क्षेत्र घोषणा गर्न नदिने भन्दै आन्दोलन गरेका थिए । स्थानीयले अन्तर्राष्ट्रिय श्रम संगठन ‘आईएलओ महासन्धि १६९’ विरुद्ध भएको भन्दै विरोध गरेका थिए । सरकारले २०३९ चैतमा सिकार आरक्षको स्थापना गरी १ हजार ३ सय २५ वर्ग किमि क्षेत्रफललाई संरक्षित क्षेत्र तोकेको थियो ।

प्रतिकृया दिनुहोस