बागलुङका स्वास्थ्य चौकीमा पनि फिजियोथेरापी र ल्याब सेवा
बागलुङ । उपकरण र जनशक्ति अभावमा सामान्य सेवामा सीमित बनेका दुर्गमका स्वास्थ्य चौकीले सेवा विस्तार गर्न थालेका छन् । गण्डकी प्रदेश सरकार र गैरसरकारी संस्थाले साथ दिएपछि बागलुङका दुई स्वास्थ्य चौकीले फिजियोथेरापी र ल्याब सेवा सुरु गरेका छन् ।
गाउँका स्वास्थ्य चौकीमा सेवा विस्तार भएपछि सामान्य उपचारको लागि सदरमुकामस्थित धौलागिरी प्रादेशिक अस्पतालमा धाउनुपर्ने सर्वसाधारणको बाध्यता अन्त्य भएको छ । काठेखोला गाउँपालिका–८ को लेखानी स्वास्थ्य चौकीले फिजियोथेरापी र बागलुङ नगरपालिका–११ रायडाँडा स्वास्थ्य चौकीले ल्याव सेवा सुरु गरेका हुन् ।
कठिन भूगोलका कारण बागलुङ नगरपालिकाले विशेष क्षेत्र घोषणा गरेर पूर्वाधार निर्माण र सामाजिक विकासका कार्यक्रमहरुमा प्राथमिकता दिँदै आएको रायडाँडा स्वास्थ्य चौकीमा पनि ल्याब सेवा सुरु गरिएको छ । फेयरमेड फाउन्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको सहकार्यमा सञ्चालित सम्बोधन परियोजनाले उपकरणमा साथ दिएपछि स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु गरिएको रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिए ।
‘स्वास्थ्य चौकीमा ल्याव सेवा निकै कममा हुन्छन्, दाता र नगरपालिकाको साथले दुर्गमका जनताले गाउँमै ल्याव सेवा पाउने अवस्था बन्यो’, गौतमले भने । सेवा प्रभावकारी बनाउन नगरपालिकाले जनशक्तिमा साथ दिने भएको छ । स्वास्थ्य चौकीमा ६ जनाको दरबन्दी भए पनि अहिले हेल्थ असिसटेन्ट, अहेब र अनमी गरी ३ जनामात्रै कार्यरत छन् । दरबन्दी अनुसारका कर्मचारी व्यवस्थापनका लागि पहल भइरहेको गौतमले बताए ।
दिसा, पिसाब, रगत र खकार जाँच चौकीमै हुने स्वास्थ्य चौकीका इन्चार्ज हेल्थ असिस्टेन्ट मेयरसिंह थापाले बताए । ‘बिरामीको प्रारम्भिक जाँचपछि आवश्यकताका आधारमा ल्याबमा पठाउछौं । कोलेस्ट्रोल र सुगर टेस्टको शुल्कभन्दा बढि आउजाउमा खर्च हुने पैसा पनि बचेको छ’, थापाले भने । ल्याब अभावमा लक्षणका आधारमा उपचार गर्नुपर्ने बाध्यता पनि हटेको उनको भनाइ छ ।
३७ लाख लगानीमा वडा कार्यालयले ३ कोठाको भवन बनाएर फिजियोथेरापी सेवा दिन थालेको हो । फिजियोथेरामी भवन निर्माणमा गण्डकी प्रदेश सरकारको सहयोग गरेको हो । भवनमा किशोरकिशोरीमैत्री सेवा र स्तनपान कक्षको पनि व्यवस्था गरिएको स्वास्थ्य चौकी प्रमुख लक्ष्मीप्रसाद निउरेले बताए ।
‘बसाइसराइले स्वास्थ्य संस्थामा आउने बिरामीको संख्या घटे पनि फिजियोथेरापी सेवाले हाड तथा नशासम्बन्धी बिरामी भने बढेका छन्’, निउलेले भने, ‘हरेक दिन फिजियोथेरापीको खोजी गर्दै आइपुग्ने बिरामीलाई पहिले सदरमुकाम पठाउथ्यौं, अहिले भने गाउँमै सेवा दिन सक्ने अवस्था बनेको छ ।’ मौजुदा जनशक्तिबाटै स्वास्थ्य चौकीले सेवा विस्तार गरेको हो ।
स्वास्थ्य चौकीमा इन्चार्जसहित प्रसूतिसम्बन्धी तालिम प्राप्त १ अनमी, १ अहेब र प्रयोगशालाका प्राविधिक छ । अहिले चौकीमा २ स्वास्थ्यकर्मी कम छन् । चौकीले विद्यालय तहमा पढ्ने किशोरकिशोरीमा आउने शारीरिक परिवर्तनसँगै पर्ने समस्या, यौनरोग, किशोरीका लागि आइरन चक्की खुवाउने, महिनावारीका कारण आउने समस्या जस्ता विषयमा परामर्श र औषधी वितरण गर्दै आएको छ ।
गलकोट नगर अस्पतालले पनि चन्दामार्फत फिजियोथेरापी कक्ष सञ्चालनमा ल्याएको छ । गलकोट समाज बेलायतले संकलन गरेर पठाएको १५ लाखबाट फिजियोथेरामी सेवा थालिएको अस्पतालका प्रमुख डा राजेश पौडेलले बताए । बागलुङका ६७ वटा बर्थिङ सेन्टरमध्ये २४ वटामा फेयरमेड फाउन्डेसनले डप्लर मेसिन सहयोग गरेको छ ।
बाँकी ४३ बर्थिङ सेन्टरमध्ये प्रदेश सरकारको सहयोगमा ८ र स्थानीय तहले ३६ वटा मेसिन उपलब्ध गराएका छन् । ती उपकरणले काम गर्न सहज भए पनि मर्मत गर्न कठिनाइ देखिएको छ ।-ढाेरपाटन दैनिक


रेडियो सारथी
प्रतिकृया दिनुहोस