• १८ श्रावण २०८३, सोमबार
  • ०२:४७:४८

Now:

Next: शुभारम्भ धुन

किसानका दुःख : दिनमा बाँदर र रातमा बँदेलको सास्ती

गुल्मी । जे खेती गरे पनि हुने ऊर्वर भूमि । शीतल मौसम, बस्न पनि आनन्दको वातावरण । छाड्नै मन नलाग्ने गाउँबस्ती । गाउँमा बसेपछि खेती गर्नै पर्‍यो । तर, जंगली जनावरले एकै दिन र रातमा खेती सखाप बनाउँदा बेसुर बन्न बाध्य छन्, अहिले गुल्मीका किसान । गुल्मीको गुल्मीदरबार गाउँपालिका–३ राजा लेतुंगाका  दिलबहादुर र ज्ञानुमाया बस्नेत दम्पती यही समस्याबाट पीडित छन् ।

उनले नगरेको कुनै खेती छैन तर दिनमा बाँदर र रातमा बँदेलले सास्ती दिएपछि उठिबासकै अवस्था आएको उनीहरूले सुनाए । व्यावसायिक रूपमा ठूलो परिणाममा नभए पनि व्यवस्थित रूपमा २०४० सालदेखि खेती गरिरहेका ६१ वर्षीय दिलबहादुर र ६२ वर्षीय ज्ञानुमायाले पछिल्लो समय आधाभन्दा बढी जग्गा बाँझो राखेका छन् । १४ वर्षदेखि दिलबहादुरले सघाइरहेको कृषिकर्ममा ज्ञानुमाया भने आफ्नो आजसम्मको उमेर यसैमा बिताएको बताउँछिन् ।

गएको १० दिनदेखि बस्नेत दम्पतीको निद्रा हराएको छ । दिनमा बाँदर लखेट्न बाध्य उनीहरू रातमा बँदेल कुरेर बारीकै थर्कु अर्थात् अस्थायी छाप्रोमा बस्ने गरेका छन् । तरकारी टनेलको ओतमा आगो तापेर रात बिताइरहेको उनीहरूले सुनाए । पाँच रोपनी जग्गा बाँझो भइसकेको छ । बाँकी पाँच रोपनी जग्गामा बस्नेत दम्पतीले फलफूल खेतीसहित तरकारीजन्य खेती गरेका छन् ।

साथै भैंसी, गाई र बाख्रा पालनसमेत गरेका छन् । मकै खेतीसहित खुर्सानी, अदुवा, बेसार र काउनो खेती लगाएका छन् । सिजनमा दैनिक ५/७ जनाका दरले खेताला लगाउने दम्पतीले छुट्टै लगानी मात्रै होइन, निरन्तर पसिना पनि बगाइरहेका छन् । किसान ज्ञानुमाया दिनरात खेती कुरेर बसेको तर जोगाउन नसकेकामा चिन्तित छिन् ।

‘दिनमा बाँदर र रातमा बँदेल कुरेर बस्ने हो, समयमा खानु र सुत्नु छैन,’ उनले भनिन्, ‘सरकारले यसको समाधान नगरे हामीले के गरेर बस्ने ?’ उनले बाँदर त लेखेटेर हुने तर बँदेलले आक्रमण गरेर ज्यान जोखिममा पर्ने डर रहेको बताइन् । रातभर थर्कुमा बसेर खेती कुरे पनि बँदेल समूहमा आएर मकै खेती सखाप पारेपछि आफूहरू बेसुर बनेको उनले बताएकी छिन् ।

 ‘वर्षभरि किसानले गरेको मिहिनेत एकै दिनरातमा जंगली जनावरले सखाप पारेको छ,’ उनले थपिन्, ‘मिहिनेत गर्ने किसानका दुःख राज्यले सुन्नुपर्छ, ठोस कदम चाल्नुपर्छ ।’ उनले जंगली जनावर तर्साउने गरी हातहतियार दिने भने किसानले सुरक्षित ढंगले प्रयोग गर्ने पनि सुझाइन् । दिलबहादुरले पनि वर्षभरि गरेको मिहिनेत बाँदर र बँदेलले नष्ट गर्दा चिन्तित रहेको सुनाए ।

‘हाम्रो लगानी र मिहिनेत दुवै एकैछिनमा खेर जान्छ,’ उनले भने, ‘कुर्ने त्यसपछि लखेट्ने गरेर मात्रै सम्भव भएन, किसानको पीडा सरकारले सुन्नुपर्छ ।’ उनले गाउँमा किसानलाई टिकाइराख्न खेतीयोग्य जमिनमा आएर सास्ती दिने जंगली जनावर मार्न वा हातहतियारले तर्साउन पाइने गरी निर्णय गर्नुपर्ने उनको सुझाव छ । बस्नेत दम्पतीको बारीमा मकै खेती र काउनो खेती रहेको छ ।

फलफूलजन्यमा सुन्तला, नासपाती, अंगुर, आरुबखडा, अम्बा, केरा र कागती खेती छ । पशुपालनमा एक भैंसी, दुई गाई र सात बाख्रा छन् । तरकारीजन्यमा काउली,  बन्दा, खुर्सानी, अदुवा, बेसार, सिमी, लौका, बोडी, सोस्ता, काँक्रा, फर्सी र स्कुस लगायतका खेती छन् । बाँदर र बँदेलले सास्ती दिएपछि वैकल्पिक खेती सुरु गरे पनि सास्ती दिने र नष्ट गर्ने काम नरोकिएको दिलबहादुरले बताए ।

बँदेल निजी जग्गामा आए मार्न पाउने वा केही निर्णय सरकारले गरे पनि त्यसका लागि केही स्रोत साधन नभएको उनले बताए । दिलबहादुरले दिनमा बाँदर लेखेटेर समस्या समाधान भए पनि रातमा बँदेलले आक्रमण गर्ने त्रास रहेको गुनासो गरे । ‘किसानलाई जंगली जनावरले आजित बनाइरहेको छ,’ उनले भने, ‘दिनमा आउने बाँदर त लेखेट्छौं, रातमा आउने बँदेललाई के गर्ने ?’

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै