जनैपूर्णिमाको दिन ढोरबराह जाने दशनार्थी बढ्दै
बागलुङ । ढोरपाटन नगरपालिका–९ ढोरपाटनस्थित उत्तरगंगा ढोरबराह मन्दिरमा जनैपूर्णिमाको दिन दशनार्थीको भीड लागेको छ । ढोरपाटनमा सडक पूगेपछि जनैपूर्णिमामा ढोरबराह मन्दिरमा पुग्ने श्रद्धालुको संख्या वर्षेनि बढ्दै गएको छ । ढोरबराहको पूजा गर्न जनैपूर्णिमाको अघिल्लो दिननै भक्तजनहरु ढोरपाटन उपत्यका पुगेका थिए । ढोरबराह मन्दिरमा भेँडाको बलि दिने प्रचलन छ ।
ढोरपाटन उपत्यका भएर बग्ने उत्तरगंगा नदीमा स्नान गरी प्रसिद्ध ढोरबराह भगवानको पूजाअर्चना गरे मनोकामना पुरा हुने धार्मिक मान्यता रहेको छ । मनोकांक्षा पूरा गर्न ढोरबराहको नाममा भाकल गर्ने र भेँडाको बलि दिँदा फल प्राप्ती हुने विश्वास छ । उत्तरगंगा ढोरबराह मन्दिरमा जनैपूर्णिमा र चण्डी पूर्णिमामा विशेष पूजा अर्चनाका साथै बलि दिएर उत्तरगंगा ढोरबराहको पूजा गरिन्छ ।
ऋषितर्पणी अर्थात् जनैपूर्णिमामा उत्तरगंगा ढोरबराह मन्दिरमा ठुलो मेला समेत लाग्ने गर्छ । उत्तरगंगा ढोरबराहमा मेला भर्न छिमेकी जिल्लाहरु म्याग्दी, रुकुम, रोल्पा, प्यूठान, गुल्मी, पर्वत मात्र नभई सडक सुविधाले देशभरबाट श्रद्धालुहरु आउने गरेको वडा नं. ९ का वडा अध्यक्ष खिमबहादुर घर्तिमगर बताउँछन् । मन्दिरमा भेडाको पाठाको बलि चढेको र सयौं भक्तजनले मन्दिरमा पूजा गरिरहेको घर्तिमगरले जानकारी दिए ।
उत्तरगंगा नदीको उद्गमस्थलमा ढोरबराहको थान रहेकोले ‘उत्तरगंगा ढोरबराह’ भन्ने गरिएको हो । यहाँ सातमुले, मुल, बराह मुल र अपुता मुल गरी तीन मुल छन् । सातमुले मुललाई उत्तरगंगा मुल पनि भनिन्छ । यसै मुलबाट बाइसधारा निस्केका छन् । बराह मुलमा रहेको बहरे गोरुलाई यहाँ बराह देवताको रुपमा पुज्ने गरिन्छ ।
ढोरपाटनमा ढकमक्क फूल फुलेको जनै पूर्णिमाको दिन बलि राजा प्रकट हुने भएकाले उहाँकै स्वागत गर्न उत्तरगंगा मेलामा लाग्ने गरेको लोककथन छ । यसै स्थानमा काग भुसुन्डी नाम गरेका ऋषिले कागको रुप धारण गरी बसेका थिए भन्ने धार्मिक मान्यता छ ।
उत्तरबाहिनी नदीलाई पवित्र नदी मानिन्छ । यसले छोरा नहुने पुरुषले छोराको वर माग्ने, पृतिलाई तर्पन दिने र मृतकका कपडा बगाउने गरिन्छ । छोराको वर माग्नेले बाइस धारामा नुहाएर बहेरे गोरुलाई पुज्ने र २२ जोर धजा चढाउने गर्दछन् । उत्तरगंगा बराह देवतालाई मागेको वर पुरा भएपछि, ढोरवराह मन्दिरमा भेडाको साँढको बलि दिने प्रचलन छ ।


रेडियो सारथी
प्रतिकृया दिनुहोस