• २३ असोज २०८३, शुक्रबार
  • ०९:३४:५५

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

निसीखोलाले बगर बन्यो झिवाखोलाको पुरानो बजार

बागलुङ । यही असोज ११ गते निसीखोलामा आएको बाढीले कानाबगर र झिवाखोलाको पुरानो बजार बगाएको छ । पुरानो बजार रहेको ठाउँ अहिले बगरमा परिणत भएको छ । निसीखोला गाउँपालिका–४ स्थित कानाबगर र झिवाखोला यहाँका स्थानीय किनमेल गर्ने मुख्य बजार हुन् । मध्यपहाडी लोकमार्गले जोडिएपछि यि दुई क्षेत्रमा ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरेर झर्नेहरु पनि धेरै छन् ।

कतिपयले गाउँको जायजेथा सबै बेचेर बजारमा घर किनेका थिए । बाढीले सबै बगाएपछि अहिले उनीहरु बेघरबार बनेका छन् । बाढीले सबैभन्दा बढी झिवाखोला बजारका घर बगाएको छ । यहाँबाट मात्रै करिब २५ घर बाढीले बगाएको हो । अहिले झिवाखोलाको पुरानो बजार कहाँ थियो भन्ने यकिन गर्न पनि गाह्रो हुन्छ । पहिले घरहरु रहेको ठाउँ अहिले बगर बनेको छ ।

ढुङ्गा, मुडा र ग्रेगानले भरिएको छ । घर बाढीले बगाएपछि सयौँ नागरिक आश्रयविहीन हुनु परेको छ । बाढी पीडित राज्यले पुन:स्थापना कहिले गर्दा भन्ने आशमा छन् । कतिपय नागरिक आफन्तको घरमा आश्रय लिएका छन् त कतिपय सार्वजनिक भवनमा र टेन्टमा रात बिताउन विवश छन् ।

पीडितहरु विहान उज्यालो हुँदा बित्तिकै आफ्नो घर भएको स्थानमा पुग्छन्, तर बगरबाहेक अरु केही भेट्याउँदैनन् । पछिल्लो एक शदाब्दीमै निसीखोलाले यस्तो क्षति पुर्‍याएको थिएन । दुई/तीन पुस्ताले यहीँ जीवन धाने यति ठूलो बाढी कहिल्यै आएन घर बगाएपछि परिवारसहित आफन्तकोमा आश्रय लिइँदै आएकी बाढी पीडित कमला पौडेलले बताइन् ।

घरमा कमाउने मान्छे कोही नभएको भन्दै अब कहाँ बस्ने भन्ने चिन्तामा उनको परिवार छ । ‘गाउँको जग्गा जमिन बचेर यहाँ घर किनेको हो, बाढीले सबै बगाइदियो, अहिले यहाँभन्दा पर छोरीको घर छ, त्यहीँ बस्न थालेका छौँ, सधै छोरीको घरमा बसेर पुग्दैन’ टिलपिल आँशु झर्दै उनले भनिन् – ‘श्रीमान बितेको १० वर्ष भयो, कमाउने मान्छे कोही छैन, छोरा पनि पढ्नका लागि विदेश गएको छ, सरकारले हाम्रो पीडा बुझिदिए हुन्थ्यो ।’

झिवाखोला बजारका अन्य धेरै स्थानीय पनि अरुको आश्रय लिन पुग्नु परेको छ । आफन्तको घरमा कति समय बिताउने भन्ने चिन्ताले उनीहरुलाई सताइरहेको छ । बाढीले भएभरको सम्पत्ति बगाइ दिएपछि पीडितको पुन:स्थापनाका लागि चुनौति बढेको छ ।

 बाढी आएको थाहा पाउँदा बित्तिकै छरछिमेकीलाई खबर गर्दा गर्दै आफ्नो घर पनि बाढीले बगाएको बाढीपीडित राजमन बुढा मगरले बताए । महत्वपूर्ण कागजातबाहेक अरु केही बचाउन नसकेको उनको भनाइ छ । आफ्नो दुई तले घरसहित शौचालय र गोठ बगाएको बुढा मगरले बताए ।

उनले भने – ‘१६/१७ वर्ष भयो घर बनाएको अहिले सबै बाढीले बगायो, दुई/तीन दिन लगातार वर्षा भएपछि म प्रहरीसँग मिलेर खोला किनारमा बस्ने छरछिमेकीहरुलाई सचेत बनाउँदै हिडेको थिएँ, निासीखोला उर्लिएर केही माथि आए पनि घरसम्म आएर बगाउला भन्ने आँकलन गरेका थिएनौँ तर, हामीले सोचेकोभन्दा बेग्लै भयो, हेर्दा हेर्दै हाम्रा घरहरु निसीखोलाले छिनभरमै बगायो ।’

निसीखोला गाउँपालिका–४ र ५ को सिमाना कालापैरा धर्मशालदेखि सुरु भएको बाढीले झिवाखोला बजारसम्म मात्रै क्षति पुर्‍याएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताए । बाढीले करिब साढे दुई किलोमिटर क्षेत्रमा मात्रै बढी क्षेत्र पुर्‍याएको उनको भनाइ छ । बाढी अस्वभाविक रुपमा आउँदा यस पटक निसीखोलावासीले ठूलो क्षति व्यहोर्नु परेको अध्यक्ष घर्ती मगरले बताए ।

अध्यक्ष घर्ती मगरले भन्नुभयो – ‘पीडितको पुन:स्थापनाका लागि प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर काम गर्छौँ, तत्कालका लागि केही राहत रुकम उपलब्ध गराएका छौँ ।’ बाढीले मध्यपहाडी लोकमार्गको एक किलोमिटर सडकसमेत कटान गरेको छ । बाढीले निसीखोला–४ झिम्पामा निर्माणाधिन १० शैयाको पालिकास्तरीय अस्पतालमा पनि सामान्य क्षति पुर्‍याएको छ ।

त्यससँगै बाढीले झिवाखोला बजारमा रहेको बोर्डिङ स्कूल र प्रहरी चौकीमासमेत क्षति पुर्‍याएको छ । प्रहरी चौकीमा क्षति पुगेपछि सेवा अन्यत्रबाट सञ्चालन गर्नुपर्ने अवस्था आएको छ । निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको नहर बगाउँदा उत्पादन बन्द भएको छ । बाढीले झिवाखोला बजार र बडाचौरगाउँ जोड्ने झोलुङ्गे पुलसमेत बताए छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑