• २४ असोज २०८३, शनिबार
  • १७:५९:३७

Now: आफ्नै पाखा आफ्नै भाका

Next: नेपाल दर्पण

निसिखाेलामा श्रमदानमा जलविद्युत्को नहर मर्मत

बागलुङ । लघुजलविद्युत् आयोजनाको नहर बनाउन स्थानीय श्रमदानमा जुटेका छन् । गत असोज ११ गते निसीखोलामा आएको बाढीले निसीखोला गाउँपालिका–२ मा विद्युत्गृह रहेका निसीखोला पहिलो र बायखोला लघुजलविद्युत् आयोजनाको साढे तीन मिटर नहर बगाएको थियो । बाढीले नहर तहसनहस हुँदा निसीखोला–१ र २ वडाका १५ सय घरधुरी अन्धकारमा बस्न बाध्य थिए ।

प्रत्येक २५० जनाका दरले सात दिनसम्म सेवाग्राही नहर मर्मतमा खटिएपछि अस्थायी रूपमा भए पनि घर घरमा बिजुली बल्ने आशा जागेको छ । “स्थानीयवासी नै जनश्रमदानमा जुट्न तयार भएपछि अस्थायी रूपमा भए पनि नहर मर्मत गरेर बिजुली बाल्ने प्रयास जारी छ,” बायखोला लघुजलविद्युत् आयोजनाका अध्यक्ष भरत पुनले भन्नुभयो । 

आयोजनाको नहर मर्मत गरिए पनि खोलामा पानीको बहाब घट्दै जान थालेपछि एक्साभेटर नै प्रयोग गरेर नहरमा पानी तर्काउने काम अहिले चलिरहेको छ । “नहर मर्मत गरेर एउटा आयोजनाको टर्बाइन चलाएर मोबाइलसम्म चार्ज गर्ने अवस्था बनेको थियो, खोलामा पानी घटेपछि हामी फेरि अन्धकारमै बस्न बाध्य भएका छौँ,” पुनले भन्नुभयो । 

अहिले नहरको अस्थायी संरचना बनाएर केही समयका लागि बिजुली बाल्ने प्रयास भए पनि नहर र मुहानको स्थायी संरचना बनाउन ठुलो रकम खर्चिनुपर्ने आयोजनाको अनुमान छ । हिउँद लागेपछि खोलामा पानीको तह घट्ने हुँदा अस्थायी संरचनाले काम चलाउन नसकिने अध्यक्ष पुनले बताउनुभयो । आयोजनाले संरचना मर्मत गर्न झन्डै सात लाख रुपियाँ लाग्ने अनुमान गरेको छ ।

सेवाग्राहीबाट रकम सङ्कलन गरेर खोलाको पानी नहरमा तर्काउन एक्साभेटर चलाइरहेको आयोजनाले मर्मत खर्च पनि आफैँ जोहो गर्ने योजना बनाएको छ । आयोजना मर्मतमा गुहार माग्दा स्थानीय सरकारले साना जलविद्युत् आयोजनामा लगानी गर्दा बेरुजु आउँछ भन्ने जवाफ दिएको पुनले बताउनुभयो ।

निसीखोलामा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भए पनि त्यहाँका बासिन्दा लघुजलविद्युत्मै निर्भर छन् । केन्द्रीय विद्युत् जोड्न निसीखोलावासी तयार रहे पनि त्यसको प्रत्यक्ष फाइदा सीमित नागरिकलाई मात्र हुने अध्यक्ष पुनले बताउनुभयो । 

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासिनी बजेट अभावकै कारण निसीखोलाको ग्रामीण क्षेत्र विद्युत् लाइन विस्तार गर्न नसकिएको बताउनुभयो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑