• १६ श्रावण २०८३, शनिबार
  • ०२:२६:०५

Now:

Next: शुभारम्भ धुन

अफ्रिकीलाई नेपाली गीतमा नचाउने विष्णु भन्छन्– बिरानो ठाउँमा नेपाली पोसाक र कलासंस्कृति चिनाउन पाएको छु

बागलुङका विष्णु गिरी सन् २००९ देखि नाइजेरियामा छन्। कोभिड–१९ को समयमा दुई वर्ष नेपाल बसेको बाहेक उनले नाइजेरिया छाडेका छैनन्। उनी नाइजेरियामा सेफ हुन्। सेफको रूपमा परिचय त छँदै छ, त्यसबाहेक अर्को परिचय पनि बनेको छ।

उनी अफ्रिकी युवायुवतीलाई नेपाली पोसाकमा सजाएर नेपाली गीतमा नचाउँछन्। आफू पनि नाच्छन्। नृत्यको भिडिओ बनाएर टिकटकमा राख्छन्। यसरी टिकटकरका रूपमा रूपमा पनि उनको परिचय बनेको छ। उनको टिकटक निकै चल्तीमा छ। झन्डै सात लाख फलोअर्स छन्।

उनी कहिले दौरासुरूवाल र ढाकाटोपी लगाएका त कहिले नेपाली झण्डाको चित्र छापिएको टिसर्ट लगाएका नाइजेरियाली युवाहरूसँग नेपाली गीत र नृत्यमा टिकटक बनाउँछन्। सारीचोलो र कुर्तासुरूवाल लगाएका नाइजेरियाली युवतीहरूसँग पनि भिडिओ बनाउँछन्।

'अधिकांश टिकटक भिडिओ नेपाली गीतमै बनाउँछु। मिलियन भ्युज कटेका भिडिओ पनि धेरै छन्,' विष्णुले भने। उनले हरि गिरीको रचना र स्वर रहेको 'सान्नानी...' बोलको गीतमा नाइजेरियाली युवायुवतीलाई नचाएर बनाएको भिडिओ युट्युबमा राखेका छन्। यसमा २६ मिलियन भ्युज छ।

टिकटककै कारण उनको नेपालका धेरै कलाकारसँग सम्बन्ध बनेको छ। कुनै म्युजिक भिडिओ रिलिज भयो भने टिकटक बनाइदिन नेपालबाटै पनि कलाकारहरूले उनलाई आग्रह गर्छन्।

'मलाई नेपालबाट सम्पर्क गरेर टिकटक बनाइदिनू भन्ने पनि धेरै हुन्छन्। जसले भने पनि बनाइदिन्छु,' विष्णु भन्छन्, 'मध्यपूर्वमा काम गर्ने दाजुभाइले तपाईंको भिडिओ हेरेर थकाइ मर्छ भन्छन्। त्यसले मलाई ऊर्जा मिल्छ। यो बिरानो ठाउँमा नेपाली पोसाक र कलासंस्कृति चिनाउन पाएको छु।'

विष्णु टिकटकर हुनुको कारण पनि रोचक छ; उनलाई नाइजेरियामा त्यहाँको अध्यागमन विभागले नियन्त्रणमा लिएको घटनासँग जोडिन्छ।उनी १२ कक्षा उत्तीर्ण भएपछि कामका लागि भारत गएका थिए। धेरै खर्च पनि नलाग्ने र भारतको भन्दा राम्रो कमाइ हुने विश्वास भएपछि उनी सन् २००९ मा नाइजेरिया गए।

त्यसको सबै प्रबन्ध एक जना आफन्तले मिलाएका थिए। विष्णुले नाइजेरियाको लेगोसमा एउटा भारतीय रेस्टुरेन्टमा काम गरे। काम राम्रै चलेको थियो। आम्दानी पनि सन्तोषजनक थियो तर सन् २०१५ मा भिसाको म्याद सकियो। उनको बसाइ गैरकानुनी भयो। काम पनि स्थिर भएन। पारिश्रमिकको पनि टुंगो भएन; कतै पाए, कतै पाएनन्।

अस्थिरताकै बीच सन् २०१८ मा कामका लागि एउटा स्विमिङ पुलको लाउन्जमा पुगे। त्यहीँ अध्यागमन विभागको नियन्त्रणमा परे। 'स्विमिङ पुलको लाउन्जमा काम र कमाइ दुवै सन्तोषजनक थियो,' उनले भने, 'एक वर्ष काम गरेपछि अध्यागमनले समायो। कसैले कुरा लगाइदियो होला।' अध्यागमनले नेपाल फर्काइदियो।

नेपाल आएपछि कोभिड सुरू भयो। उनी फुर्सदको त्यो समय कटाउन टिकटक बनाउन थाले। दुई वर्षपछि फेरि नाइजेरिया जाने मेसो मिल्यो, सन् २०२१ को अन्त्यतिर गए। केही नेपाली पोसाक र नेपाली झण्डाको चित्र छापिएका भएका टिसर्ट पनि लगे। नाइजेरिया पुगेपछि पनि टिकटक बनाउन छाडेनन्।

हाल उनी नाइजेरियाको एक कम्पनीमा मुख्य सेफ छन्। भन्छन्, 'हाम्रो कम्पनीले विभिन्न खालका कार्यक्रम गर्छ। म प्रमुख सेफ हुँ। मेरो कमाइ राम्रो छ। टिकटक पनि राम्रै तरिकाले चलेको छ।' अहिले त उनलाई नाइजेरिया पनि आफ्नै ठाउँजस्तो लाग्न थालेको छ। त्यहाँको भाषा र रहनसहनमा अभ्यस्त भएका छन्।

आफ्नो संगतका नाइजेरियालीलाई नेपाली भाषा र गीत सिकाउँछन्। 'मलाई नाइजेरियाको समाज राम्रो लाग्छ। हामीलाई पनि सम्मान गर्छन्,' उनले भने, 'हामी बस्ने लेगोसमा सुरक्षाको खासै चिन्ता छैन। उत्तरी भेगमा बोको हरामका कारण अलि असुरक्षा छ।'

विष्णुका अनुसार उनले नाइजेरियालीको मनोविज्ञान बुझ्न सकेका कारण नेपाली गीतमा नचाउन र टिकटक बनाउन सम्भव भएको हो। 'अफ्रिकी मुलुकमा त्यहाँका रैथानेलाई नेपाली भाषा सिकाउन र नेपाली गीतमा नचाउन पाउँदा सन्तोष लागेको छ,' विष्णुले भने।-सेताेपाटी

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै