• २४ श्रावण २०८३, आइतबार
  • १४:५०:०४

Now: संगित सरगम

Next: नेपाल खवर

बागलुङमा डेंगु सङ्क्रमितको संख्या २ सय ४१

बागलुङ । तीव्र गतिमा डेंगु फैलिएको बागलुङमा सङ्क्रमितको संख्या २ सय ४१ पुगेको छ । बागलुङ नगरपालिका डेंगु सङ्क्रमणको हटस्पट बनेको छ । यहाँ डेंगु सङ्क्रमितको संख्या १ सय ८२ जना पुगेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार, साउन महिना यताको १९ दिनमा डेंगु सङ्क्रमण २ सय ४१ पुगेको छ ।

डेंगु सङ्क्रमण फैलिएपछि धालागिरी प्रादेशिक अस्पताल, बुर्तिवाङ र गलकोट अस्पतालमा उपचार गराउनेको संख्या बढेको प्रदेश जनस्वास्थ्यका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए । प्रयोगशालामा जाँच गर्दा धौलागिरी अस्पतालमा २ सय २६, गलकोटमा १२ र बुर्तिवाङमा ३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यो तथ्यांक सरकारी स्वास्थ्य संस्थामा जाँच गराएकाहरुको मात्र हो ।

निजी संस्था र मेडिकलमा पनि डेंगु परीक्षण भइरहेकाले सङ्क्रमितको संख्या धेरै भएको अनुमान छ’’ घिमिरेले भने । छोटो अवधिमै धेरै जनामा डेंगु सङ्क्रमण देखिनु जनस्वास्थ्यको दृष्टिले जोखिमपूर्ण मानिन्छ । डेंगु तीव्र गतिमा फैलिएपछि जनस्वास्थ्य कार्यालयले ‘खोज र नष्ट गर’ अभियान संचालन गरिएको घिमिरेले जानकारी दिए । ‘‘डेंगुको जोखिम बढेपछि सचेतना फैलाउने र सरसफाइ अभियान शुरु गरेका छौं’’ घिमिरेले भने ।

घिमिरेका अनुसार, गलकोटका ११, जैमिनीका ८, ढोरपाटन नगरपालिका ३, बडिगाड र बरेङका १÷१, काठेखोला गाउँपालिकाका ११ र अन्य जिल्लाका १७ जनामा डेंगु सङ्क्रमण देखिएको छ । ‘‘डेंगुका सामान्य बिरामीलाई औषधि दिएर पठाएका छौं, केही जटिल समस्या देखिएका बिरामीलाई भर्ना गरेर उपचार गरिरहेका छौं’’ गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले भने ।

लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्ने, लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन निरन्तर सरसफाइको लागि समुदायमा जनचेतना फैलाउने योजना बनेको घिमिरेले बताए ।

‘‘दैनिक २–४ जना नयाँ बिरामी उपचारका लागि आइरहनुभएको छ, फोन तथा सामाजिक सञ्जालमार्फत पनि परामर्शको माग बढ्दो छ, जसले समुदायस्तरमा संक्रमण फैलिँदै गएको स्पष्ट संकेत गर्छ’’ धौलागिरि प्रादेशिक अस्पतालका मेडिकल अधिकृत डा. सन्दिप केसीले भने, ‘‘डेंगु भाइरल रोग हो, जसको इन्क्युबेसन अवधि ४ देखि ७ दिनको हुन्छ, लक्षण देखिएमा घरमै अनुमान गरेर औषधि सेवन नगरी स्वास्थ्य संस्थामा गई चिकित्सकको परामर्श लिनु अत्यन्त आवश्यक छ ।’’

ज्वरो घटेको २४ देखि ४८ घण्टाभित्र गम्भीर अवस्था देखिन सक्ने भएकोले लगातार बान्ता हुने, पेटमा अत्यधिक दुखाइ, नाक, गिजा वा दिसापिसाबबाट रगत आउने, कमजोरी, चक्कर लाग्ने, सास फेर्न गाह्रो हुने, हातखुट्टा चिसो हुने र पिसाबको मात्रा कम हुने लक्षण देखिएमा तुरुन्त अस्पताल पुग्नुपर्ने डा. केसीको सुझाव छ ।

डेंगु पुष्टि भएमा प्रशस्त झोल पदार्थ, नरिवलको पानी, इच्क्, सूप र कम चिनी भएका पेय पदार्थको सेवन गर्ने, पर्याप्त आराम गर्नुपर्ने केसीको भनाई छ । ‘‘ज्वरो तथा दुखाइ कम गर्न प्यारासिटामोल मात्र प्रयोग गर्नुपर्छ, तर इबुप्रोफेन, डाइक्लोफेनाक, एस्पिरिनजस्ता औषधि चिकित्सकको सल्लाहबिना सेवन गर्दा रक्तश्रावको जोखिम बढाउँछन्’’ डा. केसीले भने ।

डेंगु एडिज जातको लामखुट्टेको टोकाइबाट सर्छ । डेंगुबाट बच्न पानी छोपेर राख्ने, शरीर ढाकिने गरी कपडा लगाउने, घरभित्र, कुनाकाप्चामा लामखुट्टे आउन नदिने, लामखुट्टेविरुद्व औषधी छर्कन चिकित्सकको सल्लाह छ ।-ढाेरपाटन दैनिक

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै