• २४ श्रावण २०८३, आइतबार
  • १४:४८:४५

Now: संगित सरगम

Next: नेपाल खवर

गुल्मीकाे लुम्पेकमा महिलाहरूले होमस्टे चलाउन थाले

गुल्मी । ठुलो लुम्पेकको सत्यवति क्षेत्रलाई सरकारले घुम्नै पर्ने १०० गन्तव्यको सूचीमा राखेको छ । कालिगण्डकी करिडोर छोडेपछि करिव डेढ घण्टामा सत्यवति गाउँपालिका –३ ठुलोलुम्पेक पुगिन्छ । हचिङ्गकोट क्षेत्र र सत्यवति क्षेत्रको बिचमा ठुलोलुम्पेकको बस्ती छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रहरु भएकाले ठुलोलुम्पेकमा स्वदेशी तथा विदेशी नागरिक बर्सेनी घुम्न आउँछन् ।

उनीहरुको बसाइँ, खानपान र घुमघामलाई व्यवस्थित बनाउँदै अर्थोपार्जन गर्ने उद्देश्यले लुम्पेकी महिला व्यावसायिक रुपमा होमस्टे सञ्चालनमा कस्सिएका छन् । ठुलोलुम्पके सामुदायिक होमस्टे सञ्चालन समिति सचिव ज्ञानीमाया रानाले गतबर्ष पालिकामा होमस्टे सञ्चालन गरेर अहिलेबाट सञ्चालन गरिएको बताउनुभयो ।

उहाँका अनुसार होमस्टेमा स्थानीय बाँकाको गुन्द्रुक र अचार, मकैभट्ट, फापरको रोटी, लोकल कुखुरा तथा मदिरासहितका रैथाने खानाहरु खुवाउने व्यवस्था छ । त्यस्तै सालैजो, झाम्रे, ठाडो भाकासहितका मगर कला र संस्कृति देखाउने र पेरिफेरीका धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गराउने गरेर होमस्टे सञ्चालन गरिएको रानाले बताउनुभयो ।

अहिलेलाई १५ घर परिवारका महिला आवद्ध भएर होमस्टे सञ्चालन गरिएको छ । होमस्टेबाट आर्थिक सृमद्धिको सम्भावनासँगै चुनौती पनि छन् ।  तत्काल आफूहरुलाई सामुदायिक भवन र केही सांस्कृतिक पक्षको व्यवस्थापनमा खर्चको आवश्यकता रहेको ठुलोलोलुम्पके सामुदायिक होमस्टे सञ्चालन समिति अध्यक्ष मोतिमाया सिञ्जापतिले बताउनुभयो ।

सिञ्जापतिका अनुसार अहिले व्यक्ति–व्यक्तिले जोहो गरेर पाहुनाहरुको व्यवस्थापनको काम भइरहेको छ ।  पछिल्लो सयम सरकारले शनिबार र आइतबार सार्वजनिक विदा दिएपछि पर्यटकीय क्षेत्रहरुमा धुम्न निस्कनेहरुको सङ्ख्या बृद्धि भइरहेको छ । सत्यवति गाउँपालिका –३ का वडाध्यक्ष जितबहादुर तरामुले होमस्टेलाई व्यावसायिक बनाउन योजनावद्ध कामहरु भइरहेको बताउनुभयो ।

उहाँले पाहुनाहरुलाई स्थानीय स्वागतसत्कार, खानपान, साँस्कृति मनोरञ्जनसहित हचिङ्गकोट, बुढिसत्यवति, हिले सिद्धलेक, सेती नाग घुमाउने गरेर काम अगाडि बढिरहेको बताउनुभयो । ठुलोलुम्पकको सत्यवति क्षेत्रमा बर्सेनी आठ–दश देशका विदेशी पाहुनाहरु घुम्न र खान बस्न आउनेगरेको वडाध्यक्ष तरामुले बताउनुभयो ।

सत्यवति गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले महिलाको जिविकोपार्जनसहित समग्र आर्थिक समृद्धिका लागि पशुपालन, कृषि, होमस्टेसहित सीप विकास तालिमहरु गाउँपालिकाबाट सञ्चालन भइरहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै