• ९ असोज २०८३, शुक्रबार
  • ०४:१०:०६

Now:

Next: शुभारम्भ धुन

छ वर्ष सम्मपनि गुल्मीका आधारभूत अस्पताल अधुरै

गुल्मी । जिल्लाका आधारभूत अस्पताल लामो समयदेखि अलपत्र परेका छन्। शिलान्यास भएको छ वर्ष पुग्न लाग्दासमेत अधिकांश आधारभूत अस्पताल निर्माणले गति लिन सकेका छैनन्। २०७७ साल मङ्सिर १५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका ३९६ स्थानीय तहमा एकै दिन अस्पताल शिलान्यास गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार गुल्मीमा शिलान्यास भएका अस्पतालको अवस्था अझै दयनीय छ। अस्पताल शिलान्यासका लागि तत्कालीन केन्द्रीय मन्त्री, पूर्वमन्त्री, प्रदेशस्तरका मन्त्री तथा प्रदेश सभा सदस्यहरू गाउँ–गाउँ पुगेर एकै दिन दुई–तीनवटासम्म अस्पतालको शिलान्यास गर्नुभएको थियो। तर शिलान्यास भएको झन्डै छ वर्ष पुग्न लाग्दासमेत अस्पताल निर्माणले अपेक्षित गति लिन सकेको छैन।

छत्रकोट गाउँपालिकाको १५ शय्याको अस्पताल तत्कालीन लुम्बिनी प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले शिलान्यास गर्नुभएको थियो। वडा नं. ४ श्रृङ्गामा अस्पताल शिलान्यास भएको झन्डै छ वर्ष पुग्न लाग्दासमेत अस्पताल बन्ने हो कि होइन भन्नेमै अन्योल छ।

शिलान्यास गरिएको जग्गा भवन निर्माणको मापदण्डअनुसार नभएकाले सो स्थानबाट करिब ३०० मिटर पर लामो प्रयासपछि जग्गा व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका सूचना अधिकारी हरि टण्डनका अनुसार जग्गा प्राप्तिको कार्य सम्पन्न भई डीपीआरलगायतका काम पूरा भए पनि सङ्घीय सरकारबाट अनुमति लिनुपर्ने अवस्था छ।

पछिल्लो समय बोलपत्रलगायतका कार्य नगर्न सङ्घीय सरकारबाट परिपत्र आएपछि सबै काम रोकिएको उहाँले बताउनुभयो।आधारभूत अस्पताल बन्ने निश्चित नभएपछि श्रृङ्गामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई गत महिना मात्रै पाँच शय्याको अस्पतालमा परिणत गरी सञ्चालनमा ल्याइएको छ।

मालिका गाउँपालिका–४ अर्खबाङमा पूर्वमन्त्री तथा सङ्घीय सांसद गोकर्णराज विष्टले तामझामका साथ अस्पतालको शिलान्यास गर्नुभएको थियो। शिलान्यास गरिएको जग्गा मापदण्डअनुसार नभएपछि नजिकै जग्गा व्यवस्थापन गरी अस्पताल निर्माणको काम अघि बढाइएको छ।

गाउँपालिकाका इन्जिनियर संयोग मरासिनीका अनुसार हालसम्म अस्पताल निर्माणको करिब ४५ प्रतिशत भौतिक र ४० प्रतिशत वित्तीय प्रगति भएको छ। उहाँका अनुसार अस्पताल निर्माणको काम भइरहेको छ। धुर्कोट गाउँपालिकाको धुर्कोट रजस्थलमा अस्पताल निर्माणका लागि खनिएको बेस (घडेरी) मा पहिरो आएपछि निर्माणको काम अघि बढ्न सकेको थिएन।

गाउँपालिकाको प्राविधिक शाखाका कृष्ण पहराईका अनुसार लामो प्रयासपछि मन्त्रालयबाट डीपीआर र नक्सामा केही परिवर्तन गरी गत वर्षदेखि अस्पताल निर्माणको काम सुरु गरिएको हो। अहिले अस्पताल निर्माणको भौतिक प्रगति करिब ४५ प्रतिशत पुगेको उहाँले बताउनुभयो।

इस्मा गाउँपालिकाका इन्जिनियर हरिप्रसाद पाण्डेका अनुसार वडा नं. ४ दोहलीस्थित गुरुङगाडेमा १५ शय्याको अस्पताल निर्माणको करिब ४५ प्रतिशत भौतिक र ४२ प्रतिशत वित्तीय प्रगति भएको छ। 

गाउँपालिकाका इन्जिनियर सुशील पन्थीका अनुसार रुरुक्षेत्र गाउँपालिका–१ रातामाटामा निर्माणाधीन अस्पतालको करिब ९० प्रतिशत भौतिक र ७५ प्रतिशत वित्तीय प्रगति भएको छ। उक्त अस्पतालको तत्कालीन लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले शिलान्यास गर्नुभएको थियो।

तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बाजागाजा र तामझामका साथ शिलान्यास गर्नुभएको कालीगण्डकी गाउँपालिकाको अस्पताल निर्माणको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ४५ प्रतिशत पुगेको छ।

सत्यवती गाउँपालिका–६ जोहाङमा १५ शय्याको अस्पताल निर्माणाधीन अवस्थामा छ। गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेका अनुसार अस्पताल निर्माणको करिब ८५ प्रतिशत भौतिक प्रगति भएको छ।

मदाने गाउँपालिका–६ पुर्कोटदहमा अस्पताल निर्माणको भौतिक प्रगति ६४ प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत रहेको छ। 

मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर गौतमका अनुसार मुसिकोट नगरपालिका–७ मा १५ शय्याको अस्पताल निर्माणको ९५ प्रतिशत भौतिक र ८५ प्रतिशत वित्तीय प्रगति भएको छ।

दुई अस्पताल सम्पन्न भई सञ्चालनमा
गुल्मी दरबार गाउँपालिका–३ झाँक्रीडाँडामा १५ शय्याको अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ। उक्त अस्पताल निर्माणको जिम्मा बिकोइ–अर्जुन–न्यू लिजा जेभीले १२ करोड ९४ लाख रुपियाँमा पाएको थियो।

चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा पनि अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ। कुल १३ करोड ६६ लाख ४४ हजार ७३६ रुपियाँको लागतमा तुल्सीभक्त–अर्जुन बिल्डर्स जेभीले अस्पताल निर्माण सम्पन्न गरेको हो।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑