दुना–टपरी बनाउने सिप सिक्दै विद्यार्थी
गुल्मी । गाउँमा बिहे, पूजापाठ र उत्सवहरुमा जम्मा हुने आमा दिदिबहिनीहरुले रमाइलो गर्दै दुना टपरी खुट्ने चलन दुर्लभ हुँदैगयो । कामसँगै पुराना स्मृति सुनाउँदा सिप सिक्ने नयाँ पुस्तालाई थकाइको महसुस हुँदैनथ्यो । गफ–गफमै सिकेको सिप जीवनका हरेक मोडमा काम लाग्थ्यो । अहिले नयाँ पुराना पुस्तानजिक हुने धेरै अवसर छैन ।
मोवाइलमा गफिने नयाँ पुस्तालाई पुरानाको सिप र कथनको पत्तै हुँदैन । परम्परा र सिप संरक्षणमा गर्न लक्ष्मीपुर माविले विद्यार्थीलाई दुना टपरी बनाउन सिकाउँदै आएको छ ।सत्यवती गाउँपालिका –२ चेहेमीको लक्ष्मीपुर माविले पछिल्लो समय आधुनिकताको प्रभावसँगै गाउँघरमा हराउँदै गएको सामाजिक र सांस्कृतिक परम्परालाई जगेर्ना गर्न नौलो प्रयास थालेको छ ।
सत्यवती गाउँपालिकाले ‘हाम्रो सत्यवती’ स्थानीय सिप र उद्यमशीलता भन्ने विषय कार्यान्वयनमा ल्याएको छ । कक्षा ६ देखि ८ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई घरबाटै पात र सिन्का ल्याउन लगाएर दुना टपरी खुट्न सिकाएको शिक्षक मेनका थापाले बताउनुभयो ।
लक्ष्मीपुरले पुरानो सिपलाई कक्षा कोठामा प्रवेश गराएपछि बिद्यार्थीहरु पनि सिक्न पाएकोमा उत्साहित रहेको शिक्षिका थापाले बताउनुभयो । यो उमेरका बिद्यार्थीलाई सिक्न र सिकाउन कुनै समस्या नहुने भएकाले सवैलाई उर्जा मिलेको उहाँको अनुभव छ ।
कोरा किताबी ज्ञानले मात्र जीवन सफल नहुने भएकाले विद्यार्थीलाई पढाइसँगै व्यावहारिक ज्ञान दिएर आत्मनिर्भर बनाउनु अहिलेको आवश्यकता रहेको उहाँको बुझाइ छ । बिद्यालय उमेर समूहबाट आफन्तजन र अग्रजबाट टाढिँदै गएको मौलिक सिप विद्यालयमै सिक्न पाउँदा आफूहरु पनि उत्साहित भएको कक्षा –७ मा अध्ययनरत गंगा कुँवरले बताउनुभयो ।
बिद्यार्थीहरुले सिप प्राप्त गर्दै निर्माण गरेका दुना टपरी बिद्यालयका कार्यक्रम वार्षिकोत्सव सभा समारोहमा अभिभावकलाई खाजा नास्ता खुवाउन प्रयोग गरिने भएकाले बजारबाट ल्याउने प्लाष्टिकका प्लेटहरु बन्द गर्ने योजनामा रहेको बिद्यालयका सूचना अधिकारी शेरबहादुर कुवँरले बताउनुभयो ।


प्रतिकृया दिनुहोस