कृत्रिम गर्भाधानमा बागलुङका पशुपालक किसानको आकर्षण
गलकोट । बागलुङमा कृत्रिम गर्भाधान गराउने पशुको सङ्ख्यामा वर्षेनी बढ्दै गएको छ । पशुको नश्ल सुधारसँगै दूध उत्पादन बढ्न थालेपछि जिल्लाका पशुपालक किसान कृत्रिम गर्भाधानतर्फ आकर्षित भएका हुन् ।
आर्थिक वर्ष २०८१/८२ मा दुई हजार ५४३ पशुमा कृत्रिम गर्भाधान गरिएकोमा आर्थिक वर्ष २०८२/८३ मा यो संख्या बढेर तीन हजार ८७६ पुगेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा एक हजार ३३३ गाई तथा भैसीमा कृत्रिम गर्भाधान गरिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाका अनुसार कृत्रिम गर्भाधानबाट गाई तथा भैँसीको नश्ल सुधार हुनुका साथै दूध उत्पादनमा समेत वृद्धि हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका छन् । गत आर्थिक वर्षमा अस्पतालमा रहेको कृत्रिम गर्भाधान केन्द्रबाट एक हजार १६ पशुमा सेवा प्रदान गरिएको थियो । तीमध्ये ५११ गाई र ५०५ भैँसी रहेका छन् ।
त्यस्तै, पशु फार्म तथा स्थानीय तहमा पुगेर दुई हजार ८६० पशुमा कृत्रिम गर्भाधान गरिएको केन्द्रले जनाएको छ । त्यसमा एक हजार ४१४ गाई, एक हजार ४४४ भैँसी र एउटा बाख्रा रहेका छन् । जिल्लामा हाल छ वटा कृत्रिम गर्भाधान केन्द्रमार्फत १८ जना गर्भाधानकर्ता परिचालन गरिएको छ । आर्थिक वर्ष २०७६/७७ मा एक हजार ६०० गाई तथा भैँसीमा कृत्रिम गर्भाधान गरिएको थियो ।
त्यसयता कृत्रिम गर्भाधान गराउने पशुको संख्या क्रमशः बढ्दै गएको छ । कृत्रिम गर्भाधानका कारण पशुको नश्ल सुधार, दूध तथा मासु उत्पादनमा वृद्धि, रोग नियन्त्रण, समय र खर्च बचतलगायतका फाइदा हुने किसानको अनुभव छ । कृत्रिम गर्भाधानका लागि आवश्यक वीर्य किसानले खरिद गर्ने र ढुवानी तथा प्राविधिक सेवा भने पशु विज्ञ केन्द्रले उपलब्ध गराउँदै आएको छ ।
बागलुङ नगरपालिका—५ का पशुपालक किसान बलाराम सापकोटाले कृत्रिम गर्भाधानबाट उन्नत जातका गाईभैँसी उत्पादन गर्न सहज भएको बताउनुभयो । उहाँले आफ्ना गाईभैँसीबाट दैनिक करिब १५० लिटर दूध उत्पादन गरी बजारीकरण गर्दै आउनभएको छ । कृत्रिम गर्भाधान सेवा विस्तारले बागलुङ जिल्लालाई दूधमा आत्मनिर्भर समेत गराएको छ ।


प्रतिकृया दिनुहोस