• ९ असोज २०८३, शुक्रबार
  • ०४:०७:३५

Now:

Next: शुभारम्भ धुन

कालीगण्डकी कोरिडोरका खाेलामा पुल नहुँदा जोखिमको यात्रा

पुल नभएको बडहरेखोला पार गर्दै सवारीसाधन ।

गुल्मी । कालीगण्डकी कोरिडोर अन्तर्गत गुल्मी खण्डका विभिन्न खोलामा पुल नहुँदा यात्रु तथा सवारीचालकले वर्षायाममा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । सडक निर्माण भए पनि खोलामा पुल नहुँदा पानीको बहाब बढेका बेला आवतजावतमा समस्या हुने गरेको हो ।

कालीगण्डकी कोरिडोरको रिडी–हर्मीचौर सडकखण्ड अन्तर्गत दिहिङखोला र बडहरेखोलामा पुल नहुँदा वर्षायाममा यातायात प्रभावित हुँदै आएको छ । सामान्य अवस्थामा सवारीसाधन सञ्चालन हुने गरे पनि पानीको बहाब बढेपछि खोला तर्न जोखिम हुने गरेको यात्रुहरूको गुनासाे छ ।

कालीगण्डकी कोरिडोर, गैँडाकोट–राम्दी–मालढुङ्गा सडक आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र तेलीका अनुसार गुल्मी खण्डमा सात वटा पुल निर्माण गर्ने तयारी भएको छ । उहाँले बडहरेखोला, दिहिङखोला, बौदीखोला, होस्मादीखोला, बाडेखोला, सिउरेनीखोला र पालुङखोलामा पुल निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो ।

गुल्मीका सातसहित बागलुङ खण्डमा दुई र पाल्पा खण्डमा एक गरी कालीगण्डकी कोरिडोर अन्तर्गत १० वटा पुल निर्माण गर्ने योजना रहेको कार्यालयले जनाएको छ । यसै गरी कालीगण्डकी लोकमार्गको स्याङ्जा–पर्वत खण्डमा थप चार वटा पक्की पुल निर्माण गर्ने योजना छ ।

आगामी आर्थिक वर्षमा १४ वटा पुल निर्माण अघि बढाउने गरी बजेट माग गरिएको तेलीले बताउनुभयो । ती पुल निर्माणका लागि ८५ करोड १८ लाख ५७ हजार १३६ रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

उहाँले पुलको डिजाइन सम्पन्न गरी बहुवर्षीय ठेक्कामार्फत निर्माण अघि बढाउन बजेट व्यवस्थापनका लागि विभागमा लेखी पठाइएको भए पनि हालसम्म बजेट स्वीकृत भएर नआएको बताउनुभयो । उहाँले प्रस्तावित पुलको लम्बाइ खोलाको आवश्यकता अनुसार १५ देखि ४० मिटरसम्म हुने र सबै पुलको चौडाइ ११ मिटर रहने जानकारी दिनुभयो ।

कालीगण्डकी कोरिडोर अन्तर्गत करिब २४० किलोमिटर सडक रहेकोमा राम्दी–रानीमहल सडकखण्डको १७ किलोमिटर कालोपत्रे गर्न बाँकी छ । कार्यालयले उक्त सडकखण्डमा काम भइरहेको र चालु आवभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको जनाएको छ । कालीगण्डकी लोकमार्गको मिर्मी–सेतीवेणी–फलेवास–अर्मादी खण्डको ५३ किलोमिटर सडकमा पनि निर्माणको काम पनि भइरहेको बताइएको छ ।   

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑